Saturday, October 05, 2024

-->

ठेकेदारको लापरबाहीले हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अलपत्र

९६ करोड ४५ लाख रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालमा निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो। 

ठेकेदारको लापरबाहीले हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अलपत्र

खोटाङ– सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार ८९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घर–घरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि शुरू भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ। 

९६ करोड ४५ लाख रुपैयाँ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण थालिएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो। 

आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नं ८ सल्लेको महादेवबेँसीबाट वडा नं ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नं १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्ने योजना थियो। जसका लागि दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ साल मंसिरमा सक्नेगरी २०७४ असार २१ मा सम्झौता गरेको थियो। दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटक–पटक म्याद थपिए पनि काम नगरेपछि अलपत्र परेको हो। 

ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण योजना अधुरो रहेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताए। “ठेकेदार कम्पनीले चारपटक म्याद थप गराइसकेको छ। ठेकेदारको हेलचेक्र्याइँका कारण दुई महिनादेखि काम ठप्प छ,” उनले भने, “ यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ।”

महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपलाइनको काम पनि अलपत्र छ। यसमध्ये एक नम्बर ‘प्याकेज’को ‘मेनलाइन’को कामअन्तर्गत पानी तान्ने ६ वटा पम्पमध्ये दुईवटा मात्र जडान गरिएको र अन्य चारवटा जडान गर्न बाँकी रहेको पाइएको छ। आयोजनाअन्तर्गत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी छ। उक्त आयोजनाअन्तर्गत करिब १०० परिवारलाई पानी वितरण गरिसकेको र ३०० परिवारलाई पानी वितरण गर्न बाँकी छ। 

दुवै ‘प्याकेज’को काममा ८५ प्रतिशत आर्थिक प्रगति भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ। शाखा लाइन विस्तारको  ठेक्का पाएका निर्माण कम्पनीले पनि काम पूरा गरेका छैनन्। 

लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नं १, २, ३ का दुई हजार ४०९ घरपरिवारलाई वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो। उक्त कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन। भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नं २ डिकुवाका उपभोक्ता सुदीप अधिकारीले बताए। 

लामा कन्स्ट्रक्सनले ३७ करोड ९३ लाखको लागतमा  २०७७ साल साउन १ गते आयोजना पूरा गर्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो। निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीनवटा ट्यांकी, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँचवटा ट्यांकी र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने सम्झौतामा भएको थियो।

यस्तै, महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं ५, ६ र ७ का दुई हजार ४८८ घर परिवारलाई वितरण गर्ने कामको ठेक्का रमण–सगरमाथाले लिएको थियो। २६ करोड ७५ लाखमा २०७७ साल साउनमा सक्नेगरी २०७५ साल साउनमा सम्झौता गरेको थियो। आयोजनासँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्यांकी, डीसी/डीपीटी ७३ वटा निर्माण गर्नुपर्ने थियो।  निर्माण कम्पनीले अहिले आयोजना अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन्। पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माणस्थलबाट हिँडेपछि स्थानीय उपभोक्ता निराश भएका छन्। 

आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिए।


सम्बन्धित सामग्री