उत्तरी अमेरिकामा चमेराको संख्यामा तीव्र गिरावट आएपछि किसानले बालीहरूलाई कीराबाट जोगाउन कीटनाशकको प्रयोग बढाएका छन्। जसले गर्दा नवजात शिशुको मृत्युदर बढेको छ। गत बिहीबार प्रकाशित एक वैज्ञानिक अध्ययनमा यस्तो खुलासा भएको हो।
यो अध्ययन ‘साइन्स’ जर्नलमा प्रकाशित भएको छ, जसमा विश्वव्यापी जैविक विविधतामा आएको ह्रासले मानवतामा गम्भीर असर पार्ने बताइएको छ। शिकागो विश्वविद्यालयका अनुसन्धानकर्ता इयल फ्रान्क भन्छन्– “हामीले तीव्र गतिमा प्रजातिहरू गुमाउँदैछौँ र यसले मानवतामा गम्भीर असर पार्न सक्छ।”
फ्रान्कले आफ्नो अध्ययनको लागि ‘प्राकृतिक प्रयोग’ गरेका छन्। अमेरिकामा फैलिएको एक घातक रोगले अचानक चमेरोहरूको संख्या घटायो। यसले गर्दा खेतीपातीमा कीट नियन्त्रणमा उनीहरूको योगदान घट्यो।
चमेरा जाडोयाममा ‘हाइबरनेसन’मा बस्छन्। हाइबरनेसन भन्नाले नखाएर, नडुलेर आफ्नै बासस्थानमा बसिरहनु भन्ने हुन्छ। तर सन् २००६ मा न्युयोर्कमा शुरू भएको ‘ह्वाइट नोज सिन्ड्रोम’ भनिने फंगल रोगले चमेराहरूलाई ‘हाइबरनेसन’मा बस्न दिएन। उक्त सिन्ड्रोम अमेरिकाभर फैलियो। विशेषगरी उत्तरी क्षेत्रमा धेरै असर गर्यो।
हाइबरनेसनमा बस्न नसकेपछि चमेराले खानेकुराको आवश्यकता पर्न थाल्यो तर जाडोमा कीराहरू कम हुन्छन् र चमेरोले खाने किराहरू नभेट्दा तिनीहरूको ऊर्जा समाप्त भयो र ठूलो संख्यामा चमेराहरू मरे।
फ्रान्कले पूर्वी संयुक्त राज्य अमेरिकामा सिन्ड्रोमको फैलावटको अध्ययन गरे र प्रभावित र अप्रभावित क्षेत्रहरूमा कीटनाशक प्रयोगको तुलना गरे। उनीहरूले चमेराको संख्या घटेका क्षेत्रमा कीटनाशकको प्रयोग ३१ प्रतिशतले बढेको पाए।
कीटनाशक र खराब स्वास्थ्य नतिजाहरू बीचको सम्बन्ध स्थापित भएपछि, फ्रान्कले पनि कीटनाशक प्रयोग बढ्दा शिशु मृत्युदर बढेको छ कि छैन भनेर जाँच गरे। उनीहरूले विषादीको बढ्दो प्रयोगले शिशु मृत्युदरमा करिब ८ प्रतिशतले वृद्धि गरेको पाए। जुन १ हजार ३ सय ३४ थप शिशु मृत्यु बराबर हो।
यो चमेरा रोगबाट प्रभावित क्षेत्रहरूमा मात्र देखियो। कीटनाशक रसायनहरू दूषित पानी र हावाबाट मानव शरीरमा प्रवेश गरेको हुनसक्ने विज्ञहरूले जनाएका छन्।
फ्रान्कले भने– “अध्ययनले चमेराको सुरक्षाको महत्त्वलाई पनि प्रकाश पारेको छ। सिन्ड्रोम विरुद्ध खोपहरू विकास भइरहेका छन्, तर चमेराहरू बासस्थानको क्षति तथा जलवायु परिवर्तनको खतरामा छन्।”