Saturday, October 05, 2024

-->

चाडपर्व नजिकिएसँगै धरानको कृषिउपज बजारमा बढ्यो चहलपहल

चाडपर्व नजिकिएसँगै धरानको खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको छ। यहाँबाट मुलुकका ठूला शहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको छ।

चाडपर्व नजिकिएसँगै धरानको कृषिउपज बजारमा बढ्यो चहलपहल

धरान– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ। साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन्।

धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन्। “धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु। बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए,” लिम्बूले भने, “खसीबोका पाँच हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री गरिरहेको छु।” 

लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहबी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गरेका छन्। “व्यापारको टुंगो हुँदैन कहिले घाटा लाग्छ कहिले नाफा हुन्छ, तर यही व्यवसायबाट घरपरिवारका लागि खर्च भने मज्जाले पुग्छ,” उनले भने। 

पाँचथरकी किसान रीता राईले धरानस्थित कृषि बजारमा खसीबोका बिक्री गर्न सधैँ आउने गरेको सुनाइन्। खसीबोका गाडीबाट लिएर बिक्रीका लागि बुधबार नै धरान झरेको उनको भनाइ छ। राईले मासिक पाँच लाखभन्दा बढीको खसीबोका बिक्री गर्ने गरेको बताइन्। प्रत्येक हप्ता धरानमा ३० देखि ३५ वटासम्म खसीबोका बिक्रीका लागि ल्याउने गरेकी छन्। खेती किसानीभन्दा खसीबोका व्यवसाय राम्रो रहेको उल्लेख गर्दै राईले घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि नाफा नै हुने गरेको सुनाइन्। 

धरान उपमहानगरपालिका–१७ का व्यापारी पर्शुराम बस्नेत प्रत्येक साता कृषि बजारमा खसीबोका किन्न आउँछन्। १५ वर्षको उमेरदेखि यो व्यवसाय शुरू गरेको उनले बताए। प्रत्येक साता १०० देखि १५० सम्म खसीबोका खरीद गरी दैनिक ५० वटासम्म बिक्री गर्ने गरेको बस्नेतले बताए।

“धरान कृषि बजारमा खरिद गरिएका खसीबोका राख्न राम्रो सुविधा छ, अरू ठाउँमा यस्तो सुविधा छैन। खरिद गरिएको खसीबोका राख्न यहाँ राम्रो खोरको व्यवस्था छ,” बस्नेतले भने। यहाँबाट किनेका खसीबोका बिक्रीका लागि अन्य जिल्ला लैजाने गरेको उनको भनाइ छ। काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवालगायत ठाउँमा खसीबोका बिक्री गर्ने गरेको उनले बताए। सबै खर्च कटाएर मासिक एक लाखदेखि एक लाख ५० हजारसम्म नाफा हुने गरेको भनाइ छ।

चाडपर्व नजिकिएसँगै बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सातामा करिब पाँच हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिए। उनका अनुसार धरान कृषिउपज बजारबाट प्रत्येक वर्ष दुई अर्बको खसीबोकाको कारोबार हुने गरेको छ। वार्षिक एक लाख ६० हजार वटा खसीबोका बिक्री हुने गरेको छ।

धनकुटा, भोजपुर, संखुवावासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट किसान तथा व्यापारी खसीबोका किनबेचका लागि आउने गरेका छन्। यहाँबाट मुलुकका ठूला शहरका साथै भारतमा समेत खसी बोका बिक्री गर्न लैजाने गरिएको छ।


सम्बन्धित सामग्री