मोहम्मद अबु अल–कुमसान आफ्ना तीन दिनका जुम्ल्याहा सन्तानको जन्मदर्ता प्रमाणपत्र बनाएर घरतर्फ फर्किँदै थिए। त्यहीबेला उनले गाजामा आफू बस्ने अपार्टमेन्टमा बम विष्फोट भएको खबर सुने। उक्त आक्रमणमा श्रीमतीसँगै नवजात जुम्ल्याह सन्तानको मृत्युको खबरले उनी छाँगाबाट खसेझैँ भए।
हातमा जुम्ल्याह सन्तान (छोराछोरी)को जन्मदर्ता प्रमाणपत्र समातेर रोइरहेको उनको तस्वीर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा छाएको छ।
३१ वर्षीय अल–कुमसानले आफ्नी श्रीमती, नवजात शिशु र उनकी सासूलाई मध्य गाजापट्टीको देइर अलबालाहमा अवस्थित अपार्टमेन्टको पाँचौँ तलाको फ्ल्याटमा छोडेका थिए। जुन गत मंगलबार इजरायली सेनाको आक्रमणमा ध्वस्त भयो।
“इजरायली सेनाले घरलाई निशाना बनाउँदा म अस्पतालमा थिएँ,” स्थानीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले भने, “जन्म प्रमाणपत्र छापिएपछि फोन आयो। हामी बस्ने अपार्टमेन्टमै बम आक्रमण भएको रहेछ।”
त्यतिबेला उनी अलअक्सा शहीद अस्पतालमा आफ्ना नवजात शिशुहरूको जन्मदर्ता प्रमाणपत्र बनाएर आफू बस्ने अपार्टमेन्टतर्फ फर्किँदै थिए। अस्पतालको गेटमै पुगेका बेला आएको फोनपछि उनका पाइला टक्क अडिए। त्यतिन्जेल उक्त आक्रमणमा ज्यान गुमाएका सबैलाई त्यही अस्पतालमा ल्याइसकेको थियो। त्यसपछि उनी रुँदै अस्पतालको शवगृहतर्फ लागे।
बिहान आफ्नो श्रीमती, सासूसहित नवजात जुम्ल्याह छोराछोरी गुमाएका कुमसान राति बस्न नजिकैको शिविरमा गए। त्यहाँ उनले छोराछोरीको लागि किनेर ल्याएका पँहेलो र गुलाबी रंगका लुगा ओर्काइफर्काइ हेरे।
उनले आफ्नी श्रीमतीलाई उनीहरूका बच्चाहरूको कानूनी नाम राखेको प्रमाण देखाउने मौका नै पाएनन्। प्रमाणपत्रमा छोराको नाम असेर र छोरीको नाम आइसल राखिएको थियो।
“मैले मेरो छोराछोरीको जन्म प्रमाणपत्र प्राप्त गरेकै दिन, उनीहरू र श्रीमती, सासूको पनि मृत्यु प्रमाणपत्र बनाउनु पर्यो,” उनले टिलपिल आँसु खसाल्दै भने, “मैले छोराछोरी जन्मेको उत्सव मनाउने मौका पाइनँ।”
उनीहरूलाई किनिदिएका लुगा देखाउँदै उनले भने, “तिनीहरूले यो लुगा लगाएकै थिएनन्।”
इजरायल हमास युद्धले गाजामा मानवीय संकट निम्त्याएको संयुक्त राष्ट्रसंघले जनाएको छ। प्यालेस्टिनी लडाकु समूह हमासले गत वर्ष अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेपछि जवाफमा इजरायलले गरेको कारबाहीमा मृत्यु हुनेको संख्या ४० हजार पुगेको छ।
गाजाको स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले घाइतेको संख्या ९२ हजारभन्दा बढी रहेको जनाएको छ।
अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको र २५० जनालाई बन्धक बनाइएको इजरायली सेनाका अधिकारीहरूको दाबी छ। उक्त आक्रमणमा १० जना नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो। एक जना कञ्चनपुरका विपिन जोशी अझैसम्म सम्पर्कमा छैनन्। उनी हमासको नियन्त्रणमा भएको हुनसक्ने अनुमान गरिएको छ।