काठमाडाैँ– नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अस्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजबिन गर्न आग्रह गरिएको छ। २७ वर्षीय सुभाष बोलखे सिड्नी शहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन्।
पाँचखालका नगरप्रमुख महेश खरेलले सुभाषका बुवासहित परिवारका सदस्य लिएर राजदूतसँग आज औपचारिक भेट गरी खोजबिनका लागि आग्रह गरेका हुन्। सुभाषको पछिल्लो अवस्थाबारे जानकारी लिई खोजतलास गर्न राजदूतसँग विशेष आग्रह गरिएको नगरप्रमुख खरेलले बताए। “राजदूतले तत्काल जनशक्ति परिचालन गरी खोजबिन गर्न लगाउने आश्वासन दिनुभएको छ, हामी आशावादी भएका छौँ,” उनले भने।
बुवा सुदर्शन बोलखेकानुसार अध्ययनका लागि अस्ट्रेलिया गएका कान्छा छोरा सुभाष सिड्नी शहरमा नौ महिनादेखि एक्लै बस्दै आएकामा १८ दिनदेखि सम्पर्कविहीन छन्। राजदूतसँगको भेटपछि केही आशा पलाएको उनले बताए।
नगरप्रमुख खरेलले राजदूतलाई सुभाषको कागजातसहित निवेदन दिएका थिए। बोलखे परिवारले पनि सुभाषको खोजबिनमा सहयोग गर्न सिड्नीस्थित नेपाली तथा त्यहाँका निकायसँग आग्रह गर्दै आएको छ।