सर्लाही– जिल्ला कृषि ज्ञान केन्द्रको सिंगो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ। कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिंगो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए।
जिल्ला सदरमुकाम मलंगवामा रहेको साबिक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान केन्द्रमा रूपान्तरण भएको थियो। पुराना भवन प्रयोगको अवस्थामा नरहेपछि कार्यालय एउटा कोठामा खुम्चिएको हो। “पहिलो बनेको भवन अत्यन्त जीर्ण अवस्थामा छ,” उनले भने, “भवनको भित्ता सबै उप्किएको छ । छतबाट वर्षातमा पानी सबैभित्र पस्छ ।”
भवन निर्माणका यस कार्यालयले चार वर्षपहिले पाँच लाख रुपैयाँमा परियोजना विस्तृत विवरण (डीपीआर) तयार गरी प्रदेश मन्त्रालयमा बुझाएको छ। डीपीआर स्वीकृत नभएकाले भवन निर्माणका लागि विनियोजित बजेट बर्सेनि फिर्ता भइरहेको कार्यालय प्रमुख यादवले बताए। उनका अनुसार गत तीन वर्षदेखि यस कार्यालय निर्माणका लागि बजेट तीन करोड ८५ लाख रुपैयाँ फ्रिज भइसकेको छ।
कार्यालय भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा ५० लाख रुपैयाँ २०७८/७९ मा दुई करोड र २०७९/८० मा एक करोड ३५ लाख बजेट डीपीआर स्वीकृत नभएकै कारण फिर्ता भएको छ। “हामी पटक–पटक प्रदेशस्थित मन्त्रालयमा पुग्यौँ,” उनले भने, “डीपीआर स्वीकृत गरिपाऊँ भनेर अनुरोध गरेका छौँ। तर काम भएको छैन,” उनले भने।
कार्यालय व्यवस्थापन हुन नसक्दा कृषि कार्यक्रमका लागि आएका अधिकांश बजेट यसै फ्रिज हुने गरेको उनले बताए। कार्यालयमा नौ जना प्राविधिकसहित १५ जनाको दरबन्दी भए पनि हाल प्रमुखसहित तीन जना प्राविधिक, सहयोगी, ड्राइभर, कम्प्युटर अपरेटर गरी सात जना कर्मचारी छन्।
गत आर्थिक वर्ष कृषि सिँचाइका लागि विनियोजित चार करोड १० लाख रुपैयाँ बजेट आधा मात्रै खर्च भएको कृषि अधिकृत सीताराम यादवले बताए। कृषि बजार तथा कृषि सडक निर्माणका लागि विनियोजित बजेट फिर्ता गएको उनको भनाइ छ।