Saturday, October 05, 2024

-->

किन भ्वाङ परिरहेछन् काठमाडौँका सडक?

काठमाडौँको कमलादीस्थित सडकमा शुक्रबार वारपार भ्वाङ परेपछि आवागमन ठप्प छ। डेढ महिनाअघि सोह्रखुट्टेमा, अलि पहिले बानेश्वरमा पनि यस्तै भएको थियो।

किन भ्वाङ परिरहेछन् काठमाडौँका सडक 
तस्वीर : किसन पाण्डे/उकालो

काठमाडौँ– दरबारमार्गबाट कमलादी हुँदै कमलपोखरी जाने सडकमा शुक्रबार ठूलो भ्वाङ पर्‍यो। काठमाडौँ महानगरपालिकाको कार्यालय नजिकै, टुकुचा खोलामाथिको सडक भ्वाङ परेपछि बिहानैदेखि सवारी आवागमन बन्द छ। त्यो भ्वाङ करिब ५ मिटर गहिरो छ। सडक डिभिजन कार्यालय काठमाडौँका अनुसार टुकुचा खोलामाथि रहेको कल्भर्ट जीर्ण भएर भत्किएपछि त्यसका सामग्रीसमेत खोलामा बगेका छन्। 

यसअघि पनि त्यो क्षेत्रमा सानो आकारमा खाडल परेको थियो। सडक डिभिजनले नै त्यो खाडल पुरेको थियो। तर एक महिना नबित्दै फेरि ठूलो भ्वाङ परेको छ। लगातारको वर्षा र सवारी चापका कारण सडक भासिएको हुनसक्ने डिभिजन कार्यालयको अनुमान छ।

सडक डिभिजन कार्यालयका सबइन्जिनियर गणेश बोहराले सडकमुनिको भाग पुरानो र कमजोर भएकाले थेग्न नसक्दा खाडल बनेको बताए। योसँगै खोलाको वालसमेत चर्किएको छ। “यसअघि पनि डिभिजनले केही मात्रामा मर्मत गरेको थियो, तर त्यो पर्याप्त भएन। अहिले ठुलो खाडल बनेकाले अब नयाँ बनाउने योजना छ,” उनले भने।

सडक डिभिजन कार्यालयले यसको मर्मतबारे माथिल्ला निकायसँग छलफल गरिसकेको बताएको छ। मौखिक रूपमा पुनर्निर्माणका लागि बजेट लगायत आवश्यक योजना बनिसकेको र केही दिनमा काम अघि बढाउने डिभिजनका सूचना अधिकारी महानन्द जोशीले बताए। 

त्यसक्रममा करिब एक महिना यो सडक बन्द गरिने उनले बताए। डिभिजनका अनुसार यसको निर्माणका लागि झन्डै ४५ लाख बजेट लाग्ने (इस्टिमेट) अनुमान छ।

सोह्रखुट्टेमा परेको भ्वाङ र बानेश्वरमा भासिएको बस
काठमाडौँ उपत्यकामा सडक भासिएको यो पहिलो पटक होइन। डेढ महिनाअघि सोह्रखुट्टेमा पनि सडकमा ठूलो भ्वाङ परेको थियो। सोह्रखुट्टे–बालाजु सडकमा सडक भासिएर पानी निस्किएको ठाउँमा थाहा नपाउँदा मोटरसाइकलसहित दुई जना यात्रु डुबेका थिए। दुर्घटनापछि मोटरसाइकलमा सवार दुई जना सकुशल बाहिर निस्किए पनि डुबेको मोटरसाइकल क्रेनको सहायतामा निकालिएको थियो।

त्यो खाडल करिब ३ मिटर गहिरो रहेको सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ। खानेपानीको पाइप जोड्ने ठाउँमा वासर निस्किएपछि पानी लिकेज भएको, त्यसैमाथि सवारीको चापका कारण भासिन पुगेको डिभिजनको निष्कर्ष छ। अहिले त्यो ठाउँमा मर्मत गरेर सडक सञ्चालन भइसकेको छ।

गत माघमा नयाँ बानेश्वरको सडकमा गुडिरहेको बस एकाएक भासियो। यात्रु बोकेर रत्नपार्कतर्फ जाँदै गरेको बस गुडिरहेकै अवस्थामा सर्भिस लेनतर्फको सडकमा भासिएको थियो। बसको पछाडिको पांग्रा खाडलमा पर्दा बस नै कोल्टे परे पनि अरू क्षति भने भएन। सडक डिभिजन कार्यालय काठमाडौँका अनुसार त्यो सडकमा ढलको पाइप फुटेपछि सडक भासिन पुगेको थियो। त्यहाँ झन्डै एक मिटर गहिरो खाल्डो बनेको थियो। 

काठमाडौँ उपत्यकाभित्र नियमितजसो रूपमै यस्ता घटना हुन थालेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा उपत्यकाका १७ ठाउँका सडकमा भ्वाङ पर्ने, खाल्डो पर्ने र भासिने घटना भएका छन्। यो क्रम बढ्दै जाँदा सवारी चालकले जोखिम महसुस गर्न थालेका छन्। 

एउटा घटनाको चर्चा नसेलाउँदै अर्को ठाउँमा यस्तो घटना हुनथालेपछि सवारी चलाउनसमेत असुरक्षित महसुस हुनथालेको सवारीचालक मदन ओझा बताउँछन्। “सडक बनाउँदा कस्तो र कुन मापदण्डअनुसार बनाउने भन्ने कुराको अध्ययन नभएर हो या गुणस्तरीय सडक बनाउन नसकेर हो? अध्ययन गरेर बनाएको सडकको बीचमै यस्तो भ्वाङ कसरी बन्छ?” उनको प्रश्न छ। 

समस्याको कारण
काठमाडौँ उपत्यकाभित्र यस्ता घटना प्रायः संघीय सरकार अर्थात् सडक विभागको कार्यक्षेत्रमा पर्ने सडकमा भएको देखिन्छ। सडक विभागले भने आफूले निर्माण गरेका सडकको मापदण्ड र गुणस्तरीयतामा शंका नभएको दाबी गरेको छ। सडक विभागका प्रवक्ता, इन्जिनियर उमेशविन्दु श्रेष्ठले विभागले अध्ययन गरेर मापदण्डअनुसार सडक निर्माण गर्दै आएको, अहिले भ्वाङ पर्नुमा विभागको कमजोरी नभएको बताए।

श्रेष्ठका अनुसार सडकमा आएका अधिकांश समस्या पुराना ढलका पाइप, खानेपानीका पाइप, विद्युतीय तार भूमिगत गर्नेक्रममा गरिने कामका कारण भइरहेको छ। “हाम्रा सडकमुनि ढल, खानेपानी, विद्युत् लगायतका कामहरू हुन्छन्। ढल, पानीका वर्षाैं पुराना पाइपहरू पनि त्यहीँ हुन्छन्। सबै कुरा सडकमुनि हुँदा कहिले न कहिले समस्या त आइहाल्छ,” उनले भने। 

भूमिगत निर्माणका कामहरू सडक क्षेत्रभन्दा बाहिर गरेमा यो समस्या स्थायी रूपमा समाधान हुने उनको तर्क छ।  

वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदी यस्ता समस्या धेरैजसो भूमिगत गरिएको खानेपानी तथा ढलको पाइपले गर्दा हुने गरेको बताउँछन्। त्यसकारण वर्षायाममा प्रायः यस्ता घटनाहरू हुने गरेको उनको अनुभव छ।

यस्तो हुनुमा धेरै कारण भए पनि ढल निकासको कारण धेरै रहेको उल्लेख गर्दै उनले भने, “उपत्यकाको सन्दर्भमा पुराना ढलका पाइप भएकाले अहिलेको बहावलाई निकासा दिने क्षमता छैन। वर्षायाममा ठुलो मात्रामा पानी आउने, तर ढलको पाइपले थेग्न नसक्ने भयो भने लिकेज हुने नै हो। त्यही पानीको चापले जमिनको माटो खोतलेर खोक्रो बनाउँछ। त्यसपछि चाप पर्नेबित्तिकै प्वाल पर्न जान्छ।” 

उनले समयसापेक्ष आवश्यकताअनुसार पूर्वाधारमा सुधार वा फेरबदल गर्दै जाने हो भने यस प्रकारका जोखिम पनि कम भएर जाने बताए।

भिडियो :


सम्बन्धित सामग्री