Friday, September 13, 2024

-->

ढोरपाटनमा ६ युवाको सामूहिक स्याउखेती

ढोरपाटन नगरपालिका–९ मसगाउँमा ६ युवा मिलेर गत वर्ष स्याउका एक हजार ३०० बिरुवा लगाएका थिए। उक्त बिरुवामध्ये ७५ प्रतिशतले फल दिन थालेका छन्।

ढोरपाटनमा ६ युवाको सामूहिक स्याउखेती

गलकोट– स्याउखेतीको उच्च सम्भावना रहेको बागलुङको ढोरपाटन क्षेत्रमा ६ युवाले सामूहिक स्याउखेती थालेका छन्। ढोरपाटन नगरपालिका–९ मसगाउँमा उनीहरूले एक वर्षअघि स्याउखेती शुरू गरेका हुन्।

इटलीबाट ल्याएका स्याउका एक हजार ३०० बिरुवा गत असारमा लगाइएको थियो। उक्त बिरुवामध्ये ७५ प्रतिशतले यसै वर्षदेखि फल दिन थालेपछि उत्साहित भएको चिरनकुमार घर्तीले बताए। ढोरपाटन नगरपालिका–८ शेराबाङका ४० वर्षीय चिरनकुमार २०६० सालमा रोजगारीका लागि कतार गएका थिए। सात वर्ष कतार बसेर फर्किए। नेपालमै केही गर्ने सोच पलाएपछि २०६८ सालमा काठमाडौँमा कृषि फार्म खोले। त्यसमा घाटा बेहोरेपछि ढोरपाटन आए। 

गाउँमा आएर कृषि पेसालाई निरन्तरता दिएँ। उनीसँग स्थानीय हुमलाल भुसाल पनि जोडिए। अब भने कृषिमा खाएको हन्डरले बिस्तारै सफल बनाउन थालेको छ। दुवै मिलेर २०७६ सालमा ‘उत्तरगंगा अग्र्यानिक एग्रो प्रालि’ दर्ता गरेर आलुको बजारीकरण गर्न थाले। अन्य युवालाई पनि समेट्दै गए। गत वर्षदेखि आलुखेतीसँगै स्याउखेती पनि गर्न थालेका हुन्।  

मसगाउँमा विभिन्न उन्नत जातका आलुको परीक्षण सफल भएपछि उत्साहित बनेका दुई युवाले थप चार युवालाई साथमा लिएर १०० रोपनी जग्गामा उन्नत जातका स्याउ लगाउने निधो गरे। चिरन र हुमलालले रुद्र घर्ती, चकेन्द्र घर्ती, कमानसिंह बुढा र झिरमती घर्तीसँग मिलेर १०० रोपनीमा स्याउ बगैँचा तयार गरेका छन्। पहिलो चरणमा एक हजार ३०० बिरुवा लगाएकामा ९०० बिरुवामा स्याउ फल्न थालेको छ। 

“एकदेखि दुई किलोका दरले स्याउ फल्न थालेको छ, इटालीबाट झिकाएका स्याउका बोट साना–साना हुन्छन्। पाँच वर्षपछि मात्रै प्रतिबोटमा २५ किलोसम्म स्याउ फल्छ,” चिरनकुमारले भने, “ढोरपाटनमा स्याउको अत्यन्तै सम्भावना छ, मसगाउँमा एक हजार स्याउका पुराना बोट छन्। तर उत्पादन कम छ, उन्नत जातको स्याउबाट छोटो समयमा धेरै लाभ लिन सकिन्छ।” 

६ जनामध्ये हुमलालबाहेक सबै विदेशमा दुःख पाएर फर्केका युवा भएकाले स्याउखेतीमा मिहेनत गरिरहेका छन्। इटलीबाट ल्याएको गाला, फुजी, गोल्डेन र रेड जातको स्याउका बिरुवा लगाइएको छ। चक्लाबन्दीअन्तर्गत स्याउ बगैँचा निर्माण गरेर तारबार गर्दा शुरूको लागत बढी भएको चिरनकुमारको भनाइ छ।

पहिलो चरणमा २५ लाख रुपैयाँ लगानी गरेको उनीहरू बताउँछन्। गण्डकी प्रदेश कृषि निर्देशनालयले ७५ प्रतिशत र कृषि ज्ञान केन्द्रले स्याउलाई थाक्रो र तारबार ५० प्रतिशत अनुदानमा दिएको छ।


सम्बन्धित सामग्री