काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले संसद्को सार्वजनिक लेखा समितिले माग गरेअनुसार डेडिकेटेड र ट्रंक लाइनको सबै विवरण समेटिएको तथ्यांक बुझाएको छ।
समितिले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका उद्योग प्रतिष्ठानको टाइम अफ डे (टीओडी) मिटरको सबै विवरण पेश गर्न प्राधिकरणलाई गत शुक्रबार नै निर्देशन दिएको थियो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोही निर्देशनका आधारमा बिहीबार समितिलाई सबै विवरण उपलब्ध गराइएको जानकारी दिए।
‘टीओडी लोड प्रोफाइल’, टीओडी डाउनलोड, लगसिट, एमपावरको बिल, छुट बिल, विभिन्न तहका अदालतले गरेको फैसलालगायतका सबै विवरण लेखा समितिलाई बुझाएको प्राधिकरणको भनाइ छ।