काठमाडौँ– जनकपुरधामस्थित मिल्स एरियामा तीन फिट चौडाइ र सात फिट लम्बाइ भएको पसलमा प्रमोद मण्डल एकसुरले पानमा चुना लगाइरहेका थिए। 'स्ट्यान्ड' फ्यानको तेज हावाले उनको कपाल फरफराइरहेको थियो। तीन वटा 'थ्री जिरो' (हिरामोती) र दुई वटा तुलसी (तीनसय पाँचसय) र एउटा मिठा पान तयार हुँदै थियो। अचानक बिजुली काटियो। घुमिरहेको स्ट्यान्ड फ्यान रोकियो। दुई मिनेट नबित्दै प्रमोदको अनुहारमा पसिना देखिए। केही मिनेटमा उनको शरीरको गन्जी पसिनाले निथ्रुक्क भयो।
एक घन्टाको अन्तरालमा स्ट्यान्ड फ्यान ११ पटक रोकियो। प्रमोद असिनपसिन भइरहे। पानको दोकान चलाउने प्रमोद जनकपुरको गर्मीमा छिनछिनमा गइरहने बिजुलीबाट आजित छन्। उनका अनुसार घन्टामा १५ पटकसम्म बिजुली जाने-आउने हुन्छ। “कुनै बेला बिजुली काटिएपछि तुरून्तै आउँछ। कुनै बेला ठेगान हुँदैन। तर बारम्बार काटिएर हैरान छौँ,” उनी भन्छन्, “बिजुली के कारणले काटिन्छ भन्ने जानकारी छैन।”
जनकपुरका रोशन पण्डित पनि पटकपटक बिजुली जाने समस्याले आजित छन्। उनका अनुसार बिजुली काटिदा औसत र निम्न आर्थिक स्थिति भएका परिवार पीडित छन्। इन्भर्टरहरूमा चार्ज नपुग्दा मध्यम आय भएका घरहरूमा पनि समस्या भएको उनको भनाइ छ।
“बिजुली नहुँदा मन पिरोलिनु एउटा समस्या हो, भएको बेला पनि भोल्टेज नहुनु महासमस्या हो,” उनी भन्छन्, “कसलाई भन्ने, को जिम्मेवार हो? विद्युत प्राधिकरणमा फोन गर्दा त्यहाँका कर्मचारी पावर नै यत्ति भएको बताउँछन्।”
धनुषास्थित विनहीका विनोद कामत 'मेडिकल रिप्रिजेन्टेटिभ' हुन्। गत सातादेखि नै बिजुली नहुँदा फोन चार्ज गर्न नपाएको उनी बताउँछन्। बत्ती गएर आफ्नो ओछ्यानमा सुत्न पनि नपाएको उनको गुनासो छ। “पंखाबिना निन्द्रै आउँदैन। बत्ती नभएपछि मच्छरले टोके पनि छतमा गएर सुतेँ। बिहानसम्म लाइन आउला भन्ने लागेको थियो तर आएन,” उनी भन्छन्, “यो एक दिनको मात्र समस्या होइन। कहिले पटकपटक काटिए पनि तुरुन्तै आइहाल्छ। कहिले त ठेगानै हुँदैन। अघोषित लोडसेडिङ जस्तै छ।”
मधेशभरि नै बिजुलीको अनियमित कटौती
बिजुली पटकपटक काटिने समस्या जनकपुरधाममा मात्रै नभएर मधेश प्रदेशभरि नै छ। धनुषाका छिमेकी जिल्ला सिरहा र महोत्तरीमा पनि बिजुली काटिने समस्याले स्थानीय हैरान छन्। सर्लाहीस्थित मलंगवाको कैमुन हुसैनका अनुसार मलंगवामा एक घन्टामा १० पटकसम्म बिजुली आउनेजाने गर्छ।
अनावश्यक रूपमा बिजुली काटेको भन्दै गत साता महोत्तरीको बर्दिबासका स्थानीयले एक घन्टा राजमार्ग अवरूद्ध गरेका थिए। पछि प्रहरी प्रशासनले प्राधिकरणसँग समन्वयकारी भूमिका खेलेर उपरान्त बिजुली नकाट्न निर्देशन दिने सहमतिपछि बाटो खुलाइएको थियो।
“छिनछिनमा बत्ती जाने समस्याले हामी पीडित छौँ। यति गर्मी छ। एक घन्टामै १० देखि १५ पटक बत्ती गएपछि हामीले बाध्य भएर आन्दोलन गरेका थियौँ,” स्थानीय निरज अधिकारी भन्छन्, “एक-दुई दिनदेखि यहाँ ठिक छ। पहिलाजस्तो बत्ती काटिएको छैन।
सिरहामा पनि पटकपटक बिजुली जाने गर्दा मोटरले पानी तानेर खेतमा लगाउन नपाएको लहानका किसान राजेश महतो बताउँछन्। “प्राधिकरणमा पनि कति फोन गर्ने? फोन उठ्दै उठ्दैन। उठे पनि केही न केही बहाना बताइदिन्छन्,” उनी भन्छन्, “कहिलेकाहीँ यो कस्तो देशमा जन्मेको जस्ता लाग्छ।”
मधेशको पूर्वी जिल्ला सप्तरीका सलमान अन्सारी पनि बिजुली कटौतीबारे राज्य गम्भीर नहुँदा समस्या भोग्नु परिरहेको बताउँछन्। आफ्नै देशमा समस्या भए पनि बेलाबखत नेपालले भारतलाई बिजुली बेचिरहेको खबर सुन्दा आफूलाई ताजुब लाग्ने उनको भनाइ छ।
“हामीलाई बिजुली पुगिसकेको हो र? हो भने किन दिनकै बिजुली काटेर दु:ख दिइरहेको छ?” अन्सारी भन्छन्, “यसरी हामीलाई गर्मीमा राखेर अर्को देशलाई बिजुली बेचेको सुन्दा यो देशको नागरिक नै होइनौँ जस्तो महसुस हुन्छ।”
नेपालले भारतलाई यो वर्ष जेठ १४ गते रातिदेखि बिजुली निर्यात गर्न शुरू गरेको हो। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यो सिजन दैनिक १२ सय मेगावाटसम्म बिजुली बेच्ने लक्ष्य रहेको बताए पनि हाल दिउँसो २०० र राति ४०० गरी ६०० मेगावाट निर्यात भइरहेको छ। नेपाल र भारती कम्पनी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) बीच प्रतियुनिट ५.४५ भारु (८.७२ रुपैयाँ) मा विद्युत बिक्री गर्ने सम्झौता भएको छ।
बिजुली कटौतीको समस्या मधेशका पश्चिमी जिल्ला बारा, पर्सा र रौतहटमा पनि उस्तै छ।
किन भइरहेको छ कटौती?
विद्युत प्राधिकरण जनकपुर वितरण प्रमुख सुनिल महतोका अनुसार हावाहुरीका कारण पोल र तारमा समस्या आउँदा बिजुली कटौती भइरहेको छ। बिजुलीको पोलहरूमा अनधिकृत लोड पर्दा र रूखहरू ढल्दा पनि बिजुली जाने समस्या भएको उनी बताउँछन्।
“त्यतिधेरै बिजुली जाने गरेको जस्तो त लाग्दैन मलाई। यस्ता समस्या हामीले गरेर भएको होइन नि, कसैले जानीजानी पनि गरेको होइन,” महतो भन्छन्, “समस्याको दिगो समाधानका लागि हामीसँग केही पनि छैन। न त्यो अनुसारको लगानी छ, न संरचना नै।”
उता प्राधिकरणको बर्दिबास वितरण शाखा प्रमखु भरत साह बर्दिबासको आफ्नै वितरण केन्द्र नभएर विद्युत कटौती भइरहेको बताउँछन्। बर्दिबासका लागि ढल्केबरबाट विद्युत आपूर्ति हुँदा यहाँका जनताले सास्ती खेप्नु परेको उनको भनाइ छ। “हाम्रो आफ्नै वित्तरण केन्द्र भइदिएको भए समस्या नै आउँदैन्थ्यो तर ढल्केबरबाट आउँदा उताको समस्याले यहाँको बत्ती पनि काटिन्छ,” उनी भन्छन्, “आज (मंगलबार) पनि पानी परेर बिजुलीको पोलमा रूख ढल्दा बिहान ९ बजेदेखि बत्ती छैन। अब साँझ ४-५ बजेसम्म पनि आउँछ कि आउँदैन भन्न सकिँदैन।”
यीबाहेक मधेशका अन्य जिल्लाका वितरण प्रमखुहरूको उत्तर पनि बर्दिबास र जनकपुरभन्दा फरक छैन। मधेशमा गर्मीयाममा हावाहुरीको समस्या र एसी, पंखा र कुलरहरूको संख्या धेरै हुँदा लोड थाम्न मुस्किल परिरहेको उनीहरूको भनाइ छ।
प्राधिकरणको प्रदेश कार्यालयका एक कर्मचारीका अनुसार जिल्ला सदरमुकामभन्दा बाहिर बत्तीको समस्या धेरै छ। सदरमुकाममा मर्मत केही छिटो भए पनि देहाततिर नाजुक अवस्था भएको उनी बताउँछन्।
“सदरमुकाममा त मान्छेहरू फोनका फोन गरेर हैरान पार्छन्। कति त नेताहरू नै फोन गरेर छिटो बत्ती दिन धम्की दिन्छन् तर सदरमुकाम बाहिरबाट त्यति फोन आउँदैन,” ती कर्मचारी भन्छन्, “त्यसैले शहरतिर गाउँको बत्ती सप्लाइ गरिरहेका हुन्छन् साथीहरू। समग्रमा समस्या त प्राधिकरणमै छ। बेलाबेला एकदुई जना ताते पनि आफै पंखा र एसीमा बसिरहेका हुनाले त्यति गम्भीर ढंगले हेरिदैन।”
संरचना र संयन्त्रका कारण सास्ती
वीरगन्जस्थित दुर्गा टोलका विनोद महतो बारम्बार ट्रान्सफर्मर पड्कने र आसपासको क्षेत्रमा घन्टौँसम्म अन्धकार हुने गरेको बताउँछन्। “राति बलास्ट भएछ भने रातभरि बत्ती आउने सम्भावना नै हुँदैन। एकैपटक बिहान आएर मर्मत गर्छन्,” उनी भन्छन्, “प्राधिकरणका मान्छेलाई थाहा छ ट्रान्सफर्मर मर्मत होइन क्षमता चाहिएको छ, त्यही पनि नजरअन्दाज गरेर मर्मत मात्रै गरिदिन्छन्। त्यसैले त तीन पुस्तासम्मले बिजुली कटौतीको तमासा देखिरहेको छ।”
संरचना र संयन्त्रको अभावले समग्र मधेश बिजुलीको अभावबाट गुज्रिरहेको निजगढ वितरण केन्द्रका एक कर्मचारी बताउँछन्। चाहिने जति गुणस्तरको संरचना र संयन्त्र कतै नहुँदा जाडोमा भन्दा पनि गर्मीमा मधेशबासीलाई थप कष्ट हुने उनको भनाइ छ।
“ठूलाबडालाई के छ, एसी र इन्भर्टर भइहाल्छ। तर गरिबहरू काम छाडेर रूखमुनि बसेर ज्यान बचाउनु परेको छ,” ती कर्मचारी भन्छन्, “फेरि राति बत्ती गएर बिहान निन्द्रा नपुग्दै चर्को घामको सामना गर्नुपरेको छ। प्राधिकरणले लगानी गरेर गुणस्तरयुक्त र बढि क्षमता भएका संयन्त्र प्रयोगमा नल्याएसम्म समस्या जस्ताको त्यस्तै रहिरहन्छ।”
प्राधिकरणका पूर्वकर्मचारी समेत रहेका ट्रान्स्फर्मर सप्लायर्स प्राधिकरणको व्यवस्थापन पक्षले संरचना र संयन्त्रतिर ध्यानै नदिएको बताउँछन्। “लोड ब्यालेन्समाथि कसैको ध्यानै छैन। पावर स्टेसनका ट्रान्सफर्मरहरू समयानुसर अपग्रेड हुनुपर्छ। तर यहाँ पुराना ट्रान्सफर्मरहरू चलिरहेका छन्,” उनी भन्छन्, “वितरण केन्द्रभन्दा पनि ब्रिड विभागको दोष हो, वितरण केन्द्रलाई बिजुली सप्लाई हुने भनेको त्यहीँबाट हो। तर त्यहीँको ट्रान्सफर्मरहरू आउटडेटेड छन्।”