दैनिक दुई हजारभन्दा बढी नेपालीले देश छाड्ने गरेका छन्। विश्वभरि छरिए पनि नेपालीको वैदेशिक गन्तव्य मूलतः खाडी मुलुक, अस्ट्रेलिया, अमेरिका र युरोपेली देश हुन्। विदेश जाने विभिन्न बाध्यता र कारण छन्, जस्तो– रोजगारी, व्यापार/व्यवसाय, शिक्षा, तालिम, विवाह आदि। यसरी जानेहरू कतिपय फर्किन्छन्, कतिपय उतैको नागरिक बनिसकेका छन्। उकालोले नियमित रूपमा उनीहरूबारे लेखिरहेको छ। यो दायरा थप फराकिलो बनाउन विभिन्न देश पुगेका नेपालीको कथा शृंखलाबद्ध रूपमा प्रकाशित गरिरहेका छौँ।
काठमाडौँ– प्रख्यात बेलायती फुटबल क्लब ‘लेस्टर सिटी’ले केही दिनअघि डिफेन्डरको भूमिकामा एक २२ वर्षीया खेलाडी भित्र्यायो। उनको नाम हो– अस्मिता आले।
उनलाई सिटीले तीन वर्षका निम्ति अनुबन्धित गरेको हो। अब उनी १२ नम्बरको जर्सी लगाएर मैदानमा उत्रनेछिन्। २०२३–२४ को ‘बार्क्लेज वुमन्स सुपर लिग’मा उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई टोटनहम हट्सपरबाट सिटीमा ल्याइएको क्लबले आफ्नो वेबसाइटमा लेखेको छ। सिटीमा आबद्ध हुनु आफ्ना लागि अत्यन्त खुशीको क्षण भएको बताउने अस्मिताले उकालोसँग भनिन्, “यहाँ उत्कृष्ट प्रदर्शन गर्न सक्छु भन्ने आशा छ। मैले सकेको मेहिनेत गर्छु। किनकि योसँग मेरो करिअर पनि जोडिएको छ।”
अस्मिताको पुर्ख्यौली घर नेपाल हो। बेलायती सेनामा लामो समय बिताएका उनका बुवा अमृत आलेले आफ्नो परिवारलाई उतै बस्ने बन्दोबस्त मिलाए। २००३ मा ‘रिटायर्ड’ भएपछि उनी केही समय नेपाल आएका थिए। तर छोराछोरीको भविष्यका लागि नेपालभन्दा बेलायत बसाइ उपयुक्त हुने देखेपछि उनी पुनः उतै फर्किए।
आमाबाबुले बेलायत रोजेपछि घरकी एक्ली छोरी अस्मिताको बसाइ नेपालमा यसै पनि भएन। बेलायतमा उनको बाल्यकाल ठीकठाक थियो। हाँसखेल, पढाइ, चकचक, घुमफिरजस्ता बालापनका सारा मज्जा लिइन्।
फुटबल खेल्न भनेपछि उनी हुरुक्क हुन्थिन्। उनलाई फुटबलको लत लगाइदिएको उनका एक मात्र दाइ असीमले हो। घर छेउछाउमा खेल्ने चउर थिएन। छोराछोरी बालखै भएकाले बाबुआमाले उनीहरूलाई टाढा जान दिँदैनथे, दाजुबहिनी नजिकैको सडकमा खेल्थे। पछिपछि उनका छिमेकी बालसखाहरू पनि मिसिन थाले।
त्यस्ता बालसखाहरुमध्ये एक–दुई जना नेपाली थिए, धेरै चाहिँ बेलायती। दुई वटा टिम बनाएर हरेक दिन घण्टौँ फुटबल खेलेको उनलाई अहिले पनि सम्झना छ। त्यो उमेर आफैमा रोमाञ्चकारी थियो। “हामी खुब खेल्थ्यौँ। बच्चा बेलाको धेरै कुरा सम्झना छैन, तर जति सम्झिन्छु त्यो एकदम रमाइलो थियो,” उनले भनिन्, “५–६ वर्षदेखि मैले फुटबल खेल्न थालेँ, त्यसपछि अहिलेसम्म नियमित छ।”
आफ्नो छोरीले फुटबल खेलेको देखेर अमृत दंग पर्थे। सानी छोरीले यताउता बल खेलाएको, आकाशमा उडाएको, अरूलाई छल्दै गोल हानेको उनलाई खुब मन पर्थ्यो।
उनकी आमा वसन्तीको सोच अलि फरक थियो, छोरीले केटाहरूले खेल्ने खेल खेलेर समय बर्बाद नगरिदिए हुन्थ्यो भन्ने चाहान्थिन् उनी। एक–दुई पटक उनले ‘फुटबल–सुटबल खेल्नुपर्दैन’ भन्दै गाली पनि गरेकी थिइन्। तर अस्मितालाई त्यस्तो गालीले किन छुन्थ्यो! उनलाई बाबुले दह्रोसँग साथ दिएका थिए। आमाले गाली गर्दा उनी जवाफ फर्काइदिन्थे, “ठीक छ, ठीक छ। छोरीले फुटबल तगडा खेलेकी छ। उसलाई खेल्न दिनुपर्छ। बरु क्लबमा राखिदिनुपर्छ, ट्रेनिङ दिनुपर्छ।”
बाबुको जवाफ सुनेर अस्मिता मख्ख पर्थिन्। छोरीलाई मरिहत्ते गरेर ‘फुटबल प्लेयर’ बनाउन चाहेका अमृत आफैले कहिल्यै फुटबल खेलेनन्। बरु उनी ‘स्क्वास’का राम्रा खेलाडी थिए। अस्मिताका अनुसार उनका बुवालाई फुटबलका बारेमा धेरै जानकारी पनि छैन। उनी भन्छिन्, “बुवाकै कारण म व्यावसायिक फुटबल खेल्ने अवस्थामा आइपुगेँ तर उहाँ आफू खास फुटबल हेर्नुहुन्न। अरू टिमका खेलप्रति उहाँलाई चासो छैन, मैले खेलेका खेल चाहिँ हेर्नुहुन्छ।”
छोरीले सानो छँदा फुटबल खेलेको पटक्कै मन नपराउने उनकी आमा हिजोआज छोरीको खेल आयो कि अरू काम छाडेर टीभी अगाडि बसिहाल्छिन्। “अहिले उहाँ मेरो फ्यान हुनुभएको छ। मैले व्यावसायिक तरिकाले खेल्न थालेपछि उहाँलाई फुटबल मन पर्न थालेको छ,” अस्मिता भन्छिन्, “हिजोआज उहाँ मेरो मात्र हैन, अरू फुटबल लिगहरू पनि चासोका साथ हेर्नुहुन्छ।”
शुरू शुरूमा अस्मिता स्थानीय ब्वाइज टिमबाट खेल्थिन्। आठ वर्ष पुगेपछि उनले ‘एस्टन भिल्ला’बाट औपचारिकरूपमा फुटबल खेल शुरू गरिन्। आफूले त्यहाँ रहँदा सकेसम्म राम्रो खेलेको र उत्कृष्ट खेलाडीको सूचीमा आफ्नो नाम पनि आउने गरेको उनको भनाइ छ। त्यसैकारण उनलाई हरेकजसो खेलमा समावेश गरिन्थ्यो। उनको प्रदर्शन प्रायः अब्बल हुन्थ्यो।
१६ वर्षको हुँदा एस्टन भिल्लाबाट उनले वुमन्स सुपर लिगमा खेल्न थालिन्। आफूले त्यहाँ रहँदा यु–१५, १६, १७, १८, १९ लगायत खेलेको उनको भनाइ छ। १८ वर्ष पुगेपछि क्लबले आफूसँग व्यावसायिक सम्झौता गरेको बताउँछिन् उनी।
सन् २०२१ मा उनी भिल्ला छाडेर टोटनहाम हटस्पर गइन्। त्यतिबेला उनी १९ वर्षकी मात्र थिइन्। त्यहाँ उनको दुई वर्षको सम्झौता थियो। उनलाई १३ नम्बरको जर्सीमा डिफेन्डरको भूमिका दिइएको थियो। त्यहाँ उनले २०२१–२२, ०२२–२३ र ०२३–२४ मा वुमन्स सुपरलिग खेलेकी थिइन्। त्यो समयको सम्झना गर्दै भन्छिन्, “म डिफेन्समा खेल्ने भए पनि केही गोल गरेको छु। गोल गर्दा असाध्यै खुशी लागेको थियो।”
टोटनहाममा सम्झौता सकिएपछि केही दिनअघि मात्र उनी लेस्टर सिटी प्रवेश गरेकी हुन्।
उनी खेल्ने मात्र हैन, समय हुँदा बेलाबेला विभिन्न देश वा क्लबका फुटबल पनि हेर्छिन्। उनलाई मनपर्ने खेलाडी हुन्, रोनाल्डो। पोर्चुगलका यी स्टारका खेल–कौशलले उनलाई लोभ्याउँछ। “उनको भाइब्स नै क्या दाम्मी लाग्छ। सँधैभरि हाँसिरहेको देख्छु, उनी ‘कुल’ खेलाडी हुन्। हत्तपत्त रिसाउँदैनन्,” उनी भन्छिन्।
अस्मितालाई पनि मैदानमा हत्तपत्त रिसाएको देखिँदैन। उनलाई अरू खेलाडीहरू रिसाएर झगडा गरेको पनि मनपर्दैन, कहिलेकाहीँ उनी आफ्ना साथीलाई सम्झाईबुझाई पनि गर्छिन्। “रिसाउनु मानवीय स्वभाव हो, तर खेलमा रिसाएर बस्ने कुरा पनि त भएन। म अलि शान्त स्वभावकै छु रे,” उनले हाँस्दै भनिन्।
उनलाई मनपर्ने अर्की खेलाडी हुन्, लुसी ब्रन्ज। चेल्सीकी यी फुटबलर अहिलेसम्म लिभरपुल, म्यान्चेस्टर सिटी, बार्सिलोना लगायतका फुटबल क्लबबाट खेलिसकेकी छन्। बीबीसीले २०१८ र २०२० मा उनलाई ‘बीबीसी वुमन्स फुटबलर अफ द इयर’ घोषणा गरेको थियो। त्यस्तै, २०२० मा वर्षको उत्कृष्ट ‘फिफा वुमन्स प्लेयर’मा उनको नाम समावेश थियो। अस्मिता र लुसी दुवै डिफेन्डर हुन्। दुवैले बेलायतको प्रतिनिधित्व गर्छन्।
फुटबलमा करिअर बनाउन बेलायतमा महिलालाई विगतको तुलनामा सहज रहेको बताउँछिन् अस्मिता। “अहिले महिलाहरूले स्कुल टिममा पनि खेल्न सक्छन्, महिला फुटबल टोली पनि हुन्छ। प्राथमिक स्कुलमा हुँदा महिला टोली थियो, म त्यहाँ फुटबल खेल्थेँ,” उनले थपिन्, “म माध्यमिक तह पढ्दै गर्दा त्यहाँ ब्वाइज टिम मात्र थियो। केटाहरू मात्र आपसमा खेल्थे। अहिले त धेरै स्कुलहरूले केटा र केटीहरूको टिमलाई सँगै राखेर समेत फुटबल खेलाउँछन्। यसले महिलाका लागि धेरै फराकिलो अवसरको ढोका खोलिदिएको छ।’
नयाँ क्लबमा गएपछि उनको व्यस्तता बढेको छ। उनी एक दिनको ‘रुटिन’ सुनाउँछिन्, “बिहानै उठ्ने, नुहाइधुवाइ गर्ने, ब्रेकफास्ट खाने, मिटिङ गर्ने, अभ्यास गर्ने, जिम जाने आदि–आदि। यसबाहेक पनि कामहरू धेरै हुन्छन्। शारीरिक र मानसिकरूपमा पनि अत्यधिक थकाइ लाग्छ।”
फुर्सदको समय उनी कहिलेकाहीँ सुतेर बिताइदिन्छिन्। कहिले नेटफ्लिक्स हेर्छिन्, कुनै दिन सपिङ जान्छिन्। यदाकदा बाहिरफेर खान जान्छिन्। तर बाहिरका खानेकुरा आमाले पकाएको जस्तो मीठो लाग्दैन उनलाई। आमाले समय–समयमा पकाउने सेलरोटी र आलुपराठाको स्वाद उनको मुखमै झुण्डिएको छ। भन्छिन्, “मेरो आमाको त हातमा पनि के छ कुन्नि, असाध्यै मीठो खाना पकाउनुहुन्छ, जिब्रोमै झुण्डिने खालको। खाना पनि अनेक परिकारको बनाउनुहुन्छ। त्यो असाध्यै पोषिलो हुन्छ, स्वास्थ्यबर्द्धक पनि।”
हिजोआज खेलको व्यस्तताका कारण उनले बुवाआमासँग भेटघाट गर्न पनि पाएकी छैनन्। उनका बुवाआमा मिडल्यान्डमा बस्छन्। उनको बसाइ लेस्टरमा छ। आमाले फोन गर्दा कहिलेकाहीँ फुटबलका बारेमा सोध्छिन्। त्यसमा उनलाई असाध्यै खुशी लाग्छ।
“मेरो करिअरमा बुवाआमाको ठूलो योगदान छ। जब म हुर्किँदै थिएँ, त्यसबेला स्कुलबाट फर्किंदा ममीले खाना तयार पारिरहेको हुनुहुन्थ्यो। मेरो बुवाले मलाई ट्रेनिङ सेन्टरमा लैजानुहुन्थ्यो,” उनले भनिन्, “उहाँहरूले मलाई सधैं घच्घच्याइरहनुभयो, मलाई आफ्नो ‘कम्फर्ट जोन’बाट बाहिर निकाल्न उहाँहरूले गरेको मेहिनेतले आज म यहाँसम्म आइपुगेकी हुँ।”
छोरीको प्रगतिबाट उनका आमाबाबु पनि खुशी छन्। २२ वर्षीय अस्मिताको सपना छ– बेलायतको राष्ट्रिय टोलीबाट खेल्ने र देशका लागि ‘कप’ जित्ने। उनी भन्छिन्, “मेहनत गरेको छु, अवसर पनि पाएको छु।”
केही समयको बिदा मिलाएर उनी छिट्टै नेपाल आउन चाहन्छिन्। उनलाई परिवारसँग नेपाल घुम्ने ठूलो रहर छ। अन्तिमपटक ११ वर्ष अघि नेपाल आएकी थिइन्। त्यतिबेला थुप्रै गाउँहरू पुगिन्। बेलायतको लेस्टरबाट ह्वाट्स्एपमार्फत् उकालोसँग जोडिएकी अस्मिताले भनिन्, “मलाई नेपालका हरेक चिजले लोभ्याउँछ। त्यहाँका गाउँहरू घुम्न साह्रै मन छ।”