Tuesday, December 03, 2024

-->

नेपालमा भन्दा भारतीय बजारमा सुन सस्तो, सीमावर्ती क्षेत्रको मुद्रा सटहीमा भारु बलियो बन्दै

भारतीय बजारमा सुन सस्तिएपछि नेपालतर्फ तस्करी बढ्ने उच्च जोखिम देखिएको व्यवसायीहरूले बताएका छन्। सीमावर्ती क्षेत्रमा भने यसको असर देखिन थालिसकेको छ।

नेपालमा भन्दा भारतीय बजारमा सुन सस्तो सीमावर्ती क्षेत्रको मुद्रा सटहीमा भारु बलियो बन्दै

काठमाडौँ– भारतमा संघीय सरकारको बजेटपछिको कर नीतिले सुनचाँदी सस्तो भएपछि त्यसको असर नेपालतर्फ पनि देखिन थालेको छ। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले गत साउन ८ गते सार्वजनिक  गरेको आर्थिक वर्ष २०२४/२५ को बजेटमा सुन र चाँदीको भन्सार शुल्क घटाइएको छ। मुख्य रूपमा भारतीय कर नीतिले सुनको मूल्यमा आएको अन्तरको असर नेपालमा पर्न थालेको देखिएको हो। 

भारतीय बजेटमार्फत सुनचाँदी आयातको भन्सारशुल्क १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारिएको छ। यता नेपालमा भने गत जेठ १५ को बजेटले सुनमा लाग्दै आएको भन्सार महसुल १५ बाट बढाएर २० प्रतिशत पुर्‍याइएपछि सुनको भाउ अझ बढेको थियो। चालु आर्थिक वर्षमा चाँदीको भन्सार महसुल भने पछिल्लो वर्षकै निरन्तरता रहेको भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले बताए। चाँदीमा लाग्ने भन्सार महसुल सार्क मुलुकबाट ल्याउँदा ९.५ प्रतिशत र अन्य मुलुकबाट आयात गर्दा ३० प्रतिशत रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव किरणभाइ बज्राचार्यका अनुसार भारतको पछिल्लो कर नीतिका कारण त्यहाँ सुनको भाउ नेपालमा भन्दा प्रतितोला १५ देखि १६ हजार रुपैयाँसम्मले सस्तो छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सरकारले बजेटमार्फत सुनको भन्सारदर ५ प्रतिशत बढाएकै कारण मूल्यमा प्रतितोला ६ हजार रुपैयाँसम्म बढेको छ। १० ग्राम सुनमा २३ हजार ५५० रुपैयाँ भन्सार तिर्नुपर्छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार पुगेको छ। 

मूल्यमा अन्तर देखिन शुरू भएलगत्तै नेपालीहरूले भारतीय बजारमा सुनचाँदी किन्न थालेपछि सीमावर्ती क्षेत्रमा नेपाली मुद्राको प्रवाह बढ्न थाल्यो। यही कारण भारतीय मुद्रा सटहीको माग बढेको सीमावर्ती क्षेत्रका व्यवसायीहरू बताउँछन्। भारतीय बजारमा किनिएको सुन नेपालमा बिनाभन्सार अनौपचारिकरूपमा भित्रिन्छ।

नेपाल राष्ट्र बैंकले तोकेको स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० बराबर नेपाली रुपैयाँ १६० तोकिएको छ। तर भारतीय बजेट आउनुअघि विराटनगरको जोगबनी क्षेत्रस्थित खुला बजारमा अनौपचारिक रूपमा १५५ देखि १५८ नेपाली रुपैयाँसम्ममा १०० भारु सटही हुन्थ्यो। तर अहिले १०० भारुका नेपाली रुपैयाँ १६२ सम्म तिर्नुपरेको विराटनगरका व्यवसायी विकास बेगवानी बताउँछन्। “भन्सार दरबन्दी घटाउँदा भारतमा सुन सस्तो छ। त्यही कारण सीमापारिबाट आउने क्रम बढेको छ, सुन किन्नकै लागि चाहिने भारुका लागि मान्छेले १०० को १६२ नेरुसम्म हालेका छन्,” उनले भने।

त्यस्तै, नेपालको प्रमुख व्यापारिक नाका वीरगन्जसँग जोडिएको शहर रक्सौलका व्यवसायीहरूले बताएअनुसार केही दिन अघिसम्म अनौपचारिक बजारमा हुने सटहीमा नेपाली रुपैयाँको माग र मूल्य बढी थियो भने अहिले भारतीय रुपैयाँ बलियो देखिएको छ। 

“केही दिन अघिसम्म एक लाख ६० हजार नेपाली रुपैयाँका लागि एक लाख भारु दिए पुग्नेमा नेरुको माग बढी भएका कारण एक लाख दुई हजार भारु दिएर खरिद गर्नुपर्ने अवस्था थियो। अहिले त्यसरी दुई हजार अतिरिक्त थप्नु पर्दैन, एक  लाख ६० हजारमै आउँछ,” रक्सौलका व्यवसायी दीपक रौनियारले भने। उनका अनुसार भारतीय बजेट सार्वजनिक भएयता सीमाक्षेत्रमा भारु बलियो हुँदै गएको छ। यसको पछाडि सुन एउटा प्रमुख कारण रहेको व्यवसायी बताउँछन्।

तस्करी रोक्न कर घटाउने भारतीय नीति
विश्वमै चीनपछि दोस्रो बढी सुन खपत गर्ने मुलुक भारतले मुख्य त बढ्दो तस्करी रोक्नकै लागि भन्सार महसुलमा कटौती गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यसले खुद्रा माग पनि बढाउने आकलन गरिएको छ। बजेटपछि भारतमा अन्य मुलुकबाट सुन आयात गर्दा कुल ६ प्रतिशत कर तिरे पुग्छ। यसअघि कायम रहेको आधारभूत भन्सार मूल्य १० प्रतिशतबाट ५ मा झारिएको छ। यस्तै, सुन आयातमा लाग्ने कृषि पूर्वाधार र विकास कर पनि ५ प्रतिशतबाट १ मा सीमित गरिएको छ। 

भारत पनि सुनमा परनिर्भर रहेकाले अवैधानिक बाटोबाट पनि ठूलो परिमाणमा भित्रिने गरेको थियो जसले सरकारको राजस्व संकलनमा असर पुर्‍यायो। ‘द इकोनोमिक टाइम्स’मा प्रकाशित समाचारमा उल्लेख भएअनुसार भारतमा तस्करीबाट आएको सुनको परिमाण २०२२ मा १०० टन हाराहारीमा थियो। तर २०२३ मा आइपुग्दा पनि १५५ टन पुग्यो। हालै भन्सार शुल्कमा गरिएको कटौतीले भारत र अन्य मुलुकको सुनको मूल्यबीचको अन्तर कम हुने र अवैध आयातमा कमी आउने भारत सरकारको अपेक्षा छ।

साउन ८ गतेको बजेटमार्फत भारतले भन्सारदरमा कटौती गरेपछि १० ग्राम सुनमा ६ हजार ६०० रुपैयाँ मूल्य घटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। बजेटअघि १० ग्राम सुनको मूल्य ७४ हजार भारतीय रुपैयाँ रहेकोमा गत हप्ता ६७ हजार ४०० मा झरेको थियो। यो गएको चार महिना यताकै न्यून बिन्दु हो।

सोमबार भारतीय बजारमा २४ क्यारेट सुनको भाउ औसतमा प्रति १० ग्राम ७१ हजार ३५० भारु (१ लाख १४ हजार १६० नेपाली रुपैयाँ) छ। भारतका विभिन्न राज्यमा सुनको भाउ पनि फरक–फरक हुने गर्छ। तर नेपाली बजारमा सोही गुणस्तरको १० ग्राम सुनको मूल्य एक लाख २८ हजार ३४५ रुपैयाँ पर्न आउँछ। चीनमा पनि सोही गुणस्तरको १० ग्राम सुनको मूल्य नेपाली मुद्रामा तुलना गर्दा करिब एक लाख रुपैयाँ मात्र पर्छ।

विगतमा चीन र अन्य मुलुकबाट नेपाल हुँदै भारततर्फ सुन तस्करी हुने गरेकोमा अब भने भारतबाट नेपालतर्फ सहजै भित्रिन सक्ने व्यवसायीको अनुमान छ। सुनचाँदी व्यवसायी महासंघका महासचिव बज्राचार्य नेपालमा भन्दा भारत र चीनमा मूल्य सस्तो हुनुले सुन तस्करीमा बल पुग्ने बताउँछन्।

चालु आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदरमा पाँच प्रतिशत बढाएर २० प्रतिशत पुर्‍याएको सरकारले गत आर्थिक वर्ष पनि सुनको भन्सारदर १० प्रतिशतबाट बढाएर १५ पुर्‍याएको थियो। सरकारले राजस्व बढाउन भन्दै अध्ययनबिनै बर्सेनि भन्सारदर मात्र बढाएर आउनसक्ने राजस्व पनि गुम्ने देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य, बताउँछन्। भारतीय र नेपाली बजारमा देखिएको अहिलेको मूल्यान्तरले तस्करी बढ्न गई ठूलो समस्या निम्तिन सक्ने जोखिम उनले औँलयाए।

“सरकारलाई भन्सार नआउने भयो। सरकारले महँगा सामानमा कर बढाइदियो भने धेरै राजस्व आउँछ भन्ने मात्रै सोच्यो। केही दिनअघि मात्र भारतले ६ प्रतिशतमा झारिदियो, हाम्रो सबै खुला बोर्डर छ, त्यसमाथि सेक्युरिटी छैन। अवस्था भयावह हुनसक्छ। तर सरकारको ध्यान पुग्न सकेको छैन,” शाक्यले भने। उनका अनुसार मूल्य उच्च हुँदा अहिले नेपाली बजारमा सुनका गरगहनाको बिक्री ठप्प जस्तै छ। तर विवाहको सिजनमा भने भारततर्फबाट अवैध तरिकाले भित्रिन सक्ने जोखिम उच्च छ।

“अहिले उपभोक्तामा इच्छा भए पनि सुन प्रयोग गर्न सक्ने क्षमता छैन। अवैध बाटोबाट अलि–अलि आइराखेको अनुमान गर्न सकिन्छ। लगनको बेला वा बजार एकदम बढेको अवस्था भए निकै भयावह अवस्था हुनसक्थ्यो,” शाक्य भन्छन्, व्यापारीहरू पनि बढी नाफा खोज्ने खालका हुन्छन्। त्यसैले अवैध बाटोबाट आएको सुन नै किन्न सक्छन्, बजारमा नै सस्तो सुन पाइने भए बैंकको सुन पनि व्यापारीले खरिद गर्दैनन्।”

पछिल्लो तीन वर्षमा वैधानिक बाटोबाट सुनको आयात आधाभन्दा बढीले घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ६५१ किलो सुन आयात गरिएको छ। जबकि त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७९/८० मा दुई हजार ९१६ किलो सुन भित्रिएको थियो। अझ त्योभन्दा अघिल्लो आर्थिक वर्ष पाँच हजार ५६ किलो सुन आयात भएको विभागको तथ्यांक छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव बज्राचार्य आर्थिक मन्दीको प्रभावसँगै अवैधबाटो सुन आएकाले आयात कम भएको बताउँछन्। “एक त महँगो भयो, यही समयमा आर्थिक मन्दी पनि भयो। मान्छेहरूको व्यापार–व्यवसाय खासै छैन। त्यसमाथि दुई देशमा भाउ धेरै कम हुँदा फेरि तस्करहरू मौलाएर अवैध बाटोबाट आउने घटना पनि भइरहेको छ,” बज्राचार्यले भने।

मुख्यतः भन्सार दरमा नै पुनर्वलोकन गर्नुपर्ने महासचिव बज्राचार्य बताउँछन्। “भारतमा ६ प्रतिशत भएको हुँदा हामीले पनि २० प्रतिशतबाट घटाएर ८ प्रतिशतमा झार्नुपर्छ भनेर सरकारको ध्यानाकर्षण गराएका छौँ,” उनले भने।


सम्बन्धित सामग्री