काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गरेका छन्।
उनले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा बुधबार नियुक्त गरेको राष्ट्रपतिको कायालयले जनाएको छ।
यसअघि आजै राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णयबमोजिम नै ती प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका थिए। नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम बागमती प्रदेशका यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका अमिक शेरचन र कर्णाली प्रदेशका तिलक परियारलाई पदमुक्त गरेपछि नयाँ प्रदेशप्रमुख नियुक्त गरिएको हो।