Saturday, December 14, 2024

-->

फलोअप
ल्हारक्याल लामाले हडपेको बुढानीलकण्ठको सार्वजनिक जग्गा: खाली गराउन जुर्मुराएको नगरपालिका पछि हट्यो

सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएका ल्हारक्याल लामालाई पत्राचार गरेर कानूनी प्रक्रिया सम्झाएका बुढानीलकण्ठका मेयर अधिकारी नै अहिले ‘समितिले काम गरिरहेको’ भन्दै पछि हटेका छन्।

ल्हारक्याल लामाले हडपेको बुढानीलकण्ठको सार्वजनिक जग्गा खाली गराउन जुर्मुराएको नगरपालिका पछि हट्यो

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले हडपेको सरकारी (सार्वजनिक) जग्गा फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको बुढानीलकण्ठ नगरपालिका पछिल्लो समय यसबारे चुपचाप बनेको छ। जग्गा फिर्ता ल्याउन प्रक्रिया अघि बढाएको भनेर दुई पटक पत्र काटे पनि त्यो काम नगरपालिकाले औपचारिकताका लागि मात्रै गरेको देखिएको छ।

औपचारिक रूपमा पत्र पठाए पनि लामाले हडपेको जग्गा खाली गराउन नगरपालिकाले खासै चासो नदिएको भन्दै नगरवासीले नै असन्तुष्टि व्यक्त गरिरहेका छन्। लामाले बुढानीलकण्ठ नगरपालिका–२ मा २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएकोबारे उकालोले २०८० असोज ३० गते विस्तृत विवरण उजागर गरेको थियो।

जग्गा हडपेको विषय सार्वजनिक भइसकेपछि नगरपालिकाले पहिलो पटक माघ १४ गते लामालाई पत्र काटेर हडपिएको सार्वजनिक जग्गाबारे यथार्थ विवरण पेश गर्न भनेको थियो। बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले पठाएको पत्रमा भनिएको थियो, “तपाईंको स्वामित्वमा रहेको साबिक चपली–८ ‘क’ र हालको बुढानीलकण्ठ नगरपालिका–२ मा पर्ने कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिनुहोला।”

तर लामाले उक्त पत्रको जवाफ दिएनन्। त्यसपछि गत फागुन ९ गते बुढानीलकण्ठ नगरपालिकाले लामालाई पुनः ताकेता पत्र काटेको थियो। पहिलो पत्रको जवाफ नआएपछि दोस्रो पटक सात दिनको समय तोकेर नै पत्र पठाइएको थियो। 

“प्रस्तुत विषयमा यस नगरपालिकाको च.नं. १९५१, मिति २०८०/१०/१४ को पत्र प्राप्त गरी बेहोरा अवगत भएकै होला। तत्सम्बन्धमा वडा नम्बर २ स्थित सिट नं. १०२००७–१० (साबिक चपली–८ ‘क’ सिट नं. १९८) को कित्ता नम्बर २६ को जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपि उपलब्ध गराइदिनू,” दोस्रो पटकको पत्रमा भनिएको थियो।

त्यतिबेला पत्र काटेपछि मेयर अधिकारीले सात दिनभित्र स्पष्ट जवाफ नआए कानूनी प्रक्रियामा जाने बताएका थिए।

दोस्रो पटक पत्र पठाएको दुई दिनपछि लामाले नगरपालिकाका मेयरलाई सम्बोधन गरेर पत्राचार गरेको देखिएको छ। २०८० फागुन ११ गते हस्तलिखित तीन पेजको पत्र ल्हारक्यालले बुढानीलकण्ठ नगरपालिकालाई पठाएका छन्। पत्रको शुरूआती व्यहोरामा उनले जग्गा खरिद गरेदेखि त्यहाँ आफूले संरक्षण गरिरहेको विषय उल्लेख गरेका छन्। 

“बुढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रभित्रको सार्वजनिक जग्गा अध्ययन गरोस्। त्यसका क्रममा आफ्नो घरजग्गा रहेको ठाउँमा सार्वजनिक जग्गा परेको भेटिएमा म तत्काल खाली गराउन तयार छु,” लामाले लेखेको हस्तलिखित पत्रमा भनिएको छ।

बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी पनि लामाले सार्वजनिक जग्गा रहेको भेटिए खाली गर्न तयार रहेको भनी पत्राचार गरेको बताउँछन्। अनौठो चाहिँ लामालाई पत्राचार गर्दा जवाफ नदिए वा चित्तबुझ्दो जवाफ नआए कानूनी प्रक्रियामा जाने बताएका मेयर अधिकारी अहिले भने त्यसलाई टार्न उद्यत् देखिएका छन्। जस्तो, उकालोसँगको पछिल्लो कुराकानीमा उनले नगर क्षेत्रभित्र सार्वजनिक जग्गा खोजबिन गर्न बनाइएको सार्वजनिक जग्गा संरक्षण समितिले काम गरिरहेको र त्यसको प्रतिवेदन आएपछि त्यसैअनुसार कार्यान्वयनमा लैजाने बताए।

“जग्गा छुट्टयाउने समिति नै बनेर काम गरिरहेको छ। त्यसले नै सबै विषय हेर्दा लामाको विषय पनि हेरिन्छ नै,” उनले भने, “समितिले काम गरिरहेका बेला एकै व्यक्तिका विषयमा मात्रै निर्णय गरेर जाने कुरा हुँदैन।” जबकि नगर कार्यपालिकाको बैठकमै लामाले जग्गा हडपेको विषयमा पटक–पटक छलफल भएको थियो। छलफलमा कतिपय वडाध्यक्षले जग्गा हडपेको विषय सार्वजनिक भइसकेपछि खाली गराउनुपर्नेमा जोड दिएका थिए। 

मेयर अधिकारी भने यसबाट आश्चर्यजनक रुपमा पछि हटेका छन्। “सार्वजनिक जग्गा मिचेर संरचना बनाएको, उपभोग गरेको भन्ने विषय छर्लंग हुँदा पनि कुनै निर्णय गर्ने काम हुँदैन। समिति त बनाइएको छ, त्यसले कहिले काम सक्छ, प्रतिवेदन दिन्छ अनि कार्यान्वयनमा जाने भन्नु जायज भएन,” एक कार्यपालिका सदस्य भन्छन्, “पहिले त नगर प्रमुखले नै पत्र काटेर ताकेता गर्नुभएकै हो। अहिले किन पछि हट्नुभयो, थाहा भएन।”

जग्गा हडपेको विषयमा नगरपालिकाले दुई पटक पत्र काटेपछि लामाले उच्च राजनीतिक नेतृत्वसँग छलफल गरेर यो विषय अहिले नउठाइदिन मेयर अधिकारीसँग आग्रह गरेको नगरपालिकाका एक कर्मचारीले खुलासा गरे। नगरपालिकाले पत्र काटेपछि लामाले तत्कालीन अर्थमन्त्री वर्षमान पुनसमेतको सहभागितामा एमाले नेता राजन भट्टराई र मेयर अधिकारीलाई समेत सहभागी गराएर छलफल गरेको उनले दाबी गरे। 

उक्त छलफलपछि मात्रै लामाले फागुन ११ गते मेयरलाई सम्बोधन गरेर पत्र लेख्दै नगरपालिकाले गरेको अध्ययनपछि आफ्नो जमिनमा सार्वजनिक जग्गा भेटिए खाली गराउनेछु भन्दै पत्र लेखेका थिए। 

पत्र मेयरको सचिवालयमा
लामालाई दुवै चरणमा पठाइएको पत्र औपचारिकरूपमा नगरपालिकाको लेटरहेड मार्फत् पत्रसंख्या र चलानी नम्बर राखेर नै पठाइएको छ। पहिलो पत्र १९५१ चलानी नम्बर र दोस्रो पत्र २२७५ चलानी नम्बर राखेर लामालाई पत्राचार गरिएको छ।

यी दुवै पत्रको विवरण नगरपालिकाको प्रशासन शाखामा औपचारिक फाइलमा उल्लेख गरेर राखिएका छन्। तर लामाले पठाएको पत्र भने कार्यालयको औपचारिक दर्ता चलानीमा राखिएको छैन। त्यो पत्र मेयरकै सचिवालयमा राखिएको छ। हामीले मेयर अधिकारीलाई लामाले पठाएको जवाफसहितको पत्र उपलब्ध गराउन आग्रह गर्दा व्यक्तिगत पत्र भएकाले दिन नमिल्ने जवाफ दिए। उक्त पत्र मेयरको सचिवालयका कर्मचारीले राखेका छन्।

लामाले नगरपालिकालाई जवाफ पठाएको भन्ने विषय अनौपचारिक जानकारीमा भए पनि कार्यालयमा उक्त पत्र नभएको प्रतिक्रिया नगरपालिकाका एक कर्मचारीले दिए। “लामालाई पत्र काट्दा औपचारिक रूपमा चलानी नम्बर राखेर त्यसको एक प्रति फाइल गरेर राखिएको छ। तर उताबाट त्यसको जवाफ पठाएको भनिए पनि त्यो सचिवालयमै छ। कार्यालयको औपचारिक जानकारीमा छैन,” उनले भने। 

८ आना किने, २ रोपनी १ आना सार्वजनिक जग्गा हडपे
माओवादी नेता लामा अहिले लुम्बिनी विकास कोषको उपाध्यक्ष छन्। उनलाई माओवादी केन्द्र नेतृत्वको सरकारले कोषमा नियुक्त गरेको थियो। सरकारी कार्यालयमा रहेका कागजातहरूले देखाएअनुसार लामाले २०६४ असार २० गते बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा रहेको गणेश मन्दिरको आडमै अवस्थित ८ आना जग्गा खरिद गरेका थिए। उनले भुवन सिंहबाट त्यो जग्गा खरिद गरेको कागजातहरूले देखाउँछन्। उनले जतिबेला जग्गा खरिद गरे, त्यसबेला यो ठाउँ साबिकको चपली गाविस वडा नम्बर ८ मा पर्थ्यो। 

सिंहबाट खरिद गरेको जग्गामा उनले केही समयपछि निजी निवास बनाउन शुरू गरेका थिए। लामाले निवास बनाइरहँदा त्यसको छेउमै सार्वजनिक जग्गा थियो। बुढानीलकण्ठवासीले त्यो जग्गा वर्षौंदेखि बस्तुभाउ चराउने ठाउँका रूपमा सार्वजनिक उपयोग गर्दै आएका थिए। त्यो ठाउँ वृद्धवृद्धाहरूका लागि बिहान बेलुका टहलिने, बालबालिका खेल्ने ठाउँका रूपमा समेत प्रयोग हुँदै आएको थियो। त्यही ठाउँलाई लामाले पर्खाल लगाएर आफ्नो कम्पाउन्डभित्र पारेका थिए।

उनले यसरी कब्जा गरेको सार्वजनिक जग्गाको कुल क्षेत्रफल २ रोपनी १ आना रहेको बुढानीलकण्ठ नगरपालिकाले गरेको पछिल्लो नापजाँचबाट प्रमाणित भएको छ। नापी कार्यालय चाबहिलबाट प्राप्त ‘फिल्ड बुक’ र नापी नक्साबाट लामाको निवास रहेको ठाउँ, साबिकको चपली गाविस वडा नम्बर ८ अन्तर्गत पर्ने ८ ‘क’, कित्ता नम्बर १९८ र हाल नयाँ नापी नक्साको सिट नम्बर १०२–०९०७–१० को कित्ता नम्बर २६ मा एक हजार ३१२.६३ वर्गमिटर (२ रोपनी ९ आना १ पैसा) जग्गा रहेको देखिन्छ। यो जग्गामध्ये भुवन सिंहबाट २०६४ सालमा खरिद गरेको ८ आना जग्गा घटाउने हो भने लामाले २ रोपनी १ आना १ पैसा सरकारी जग्गा कब्जा गरेको स्पष्ट देखिन्छ।  

बुढानीलकण्ठ क्षेत्रको जग्गाको महत्व र मूल्य बुझेरै लामाले २ रोपनी १ आना १ पैसा सरकारी जग्गा हडप्नका लागि त्यसबेला आडमै रहेको ८ आना जग्गा किनेको देखिन्छ। घटनाक्रमले पनि त्यसलगत्तै उनले सार्वजनिक जग्गा कब्जा गरेको देखाउँछन्।


सम्बन्धित सामग्री