Saturday, October 05, 2024

-->

न्युरोडमा फुटपाथ विस्तार : मेयर र वडाध्यक्षको हठले बिग्रँदै माहौल, स्थानीय विभाजित

न्युरोडमा फुटपाथ विस्तार शुरू गरेपछि काठमाडौँ महानगर र सडक डिभिजनबीच शुरू विवाद अदालतले टुंग्याइदिएको छ। तर वडा नं. २२ का वडाध्यक्षले सडकमै कार्यालय खडा गरेर अवरोध गरेपछि विवादले उग्र रूप लिइरहेको छ।

न्युरोडमा फुटपाथ विस्तार  मेयर र वडाध्यक्षको हठले बिग्रँदै माहौल स्थानीय विभाजित

काठमाडौँ- “हाम्रो विरोधका कार्यक्रमहरूमा तपाईंले खटाउनु भएका नगरप्रहरी र अन्य व्यक्तिहरूले आफ्नो वैधानिक अधिकार, अनुशासन र कार्यक्षेत्र नाघेर विभिन्न हतियार बोकेर स्थानीयलाई धम्की दिने तथा आतंक सिर्जना गर्ने क्रियाकलाप गरिरहेका छन्। यसलाई तुरून्त बन्द गर्न अनुरोध गर्न चाहन्छौँ। यस्ता गैरजिम्मेवारपूर्ण हर्कतहरूका कारण परिस्थिति बिग्रियो भने सम्पूर्ण जिम्मेवारी तपाईंकै हुने विनम्र अनुरोध गर्न चाहन्छौँ।”

काठमाडौँ महानगरपालिका वडा नं २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले आइतबार विज्ञप्ति जारी गरेर काठमाडौँ महानगरका प्रमुख बालेन शाहलाई यस्तो चेनावनी दिएका हुन्। महानगर प्रमुख शाहको योजनामा न्युरोडमा फुटपाथ विस्तार थालिएपछि त्यसलाई रोक्न वडाध्यक्ष महर्जन सक्रिय छन्।

उच्च अदालत पाटनले असार ३० गते न्युरोडको फुटपाथ विस्तारको कामलाई निरन्तरता दिन आदेश गरेपछि महानगरले भोलिपल्टैदेखि काम शुरू गरेको थियो।  तर वडा नं २२ का कतिपय स्थानीयले फुटपाथ विस्तार गर्न नहुने भन्दै अवरोध गरेपछि विवाद सिर्जना भएको छ। इन्द्र चोकदेखि जुद्ध शालिकसम्म फुटपाथ बढाउन सडक खन्न थालिएको थियो। स्थानीयको अवरोधका कारण शालिकभन्दा दक्षिणतर्फ काम अगाडि बढ्न सकेको छैन।

शुक्रबर महानगरको डोजर सो क्षेत्रको सडक खन्न जाँदा वडा नं. २२ का स्थानीयले फर्काइदिएका थिए। उनीहरूले महानगर प्रमुख शाहको पुत्ला पनि दहन गरेका थिए। शाहले दहन भइरहेको त्यही पुत्लाको तस्वीरलाई आफ्नो सामाजिक सञ्जालको 'प्रोफाइल पिक्चर' बनाएका थिए।

वडा नं २२ का स्थानीय शुक्रबारदेखि नै फुटपाथ विस्तार रोक्न सडकमा धर्ना दिइरहेका छन्। वडाध्यक्ष महर्जनले फुटपाथको काम नरोकिएसम्म सडकबाटै सेवा दिने घोषणा गरेर पाल टाँगेर बसेका छन्।

सडकमै कार्यालय सञ्चालन गरेर बसेका वडाध्यक्ष चिनीकाजी महर्जन।

अदालतले न्युरोडको फुटपाथ विस्तार गर्न दिने आदेश गरे पनि आफूहरूको लागि मान्य नहुने स्थानीय मनोज मानन्धर बताउँछन्। सबैभन्दा ठूलो जनताकै अदालत भएको उनको तर्क छ। “फुटपाथको समस्या न्युरोडमा मात्रै छ? अन्यत्र छैन? त्यतातिर त मेयरको ध्यान गएको देखिँदैन। खालि यहीँ ठाउँमा फुटपाथको समस्या देखिनुको कारण के हो,” मानन्धर भन्छन्, “यहाँ समस्या देखिए मेयर हामीसँग एकपटक कुरा गर्न आउनु पर्दैन?”

यसअघि काठमाडौँ महानगरले न्युरोडको सडकलाई पैदलयात्रीमैत्री बनाउने भन्दै ठेक्कामार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि फुटपाथ विस्तार थालेको थियो। तर जेठ १२ गते सडक डिभिजन काठमाडौँले उक्त सडक आफ्नो क्षेत्राधिकारभित्र पर्ने भन्दै अवरोध गरेको थियो। भोलिपल्ट काटिएको सडकमा पुन: कालोपत्रे पनि गरेको थियो।

सडक डिभिजनको हस्तक्षेपविरुद्ध महानगरले जेठ २७ गते उच्च अदालत पाटनमा रिट दायर गरेको थियो। उच्च अदालतका न्यायाधीद्वय धुव्रराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले काठमाडौं महानगरपालिकाको पक्षमा आदेश दिएको हो।

पछि नहट्ने अडान
आइतबार मध्यान्ह १ बजे धर्नास्थल आइपुगेका एक युवाले फुटपाथ विस्तारको समर्थन गर्दै सञ्चारकर्मीलाई प्रतिक्रिया दिइरहेका थिए। सीमित स्थानीयले अवरोध खडा गर्नु निन्दनीय भएको उनले बताए। त्यही बेला धर्नामा रहेका केही स्थानीयले परिचय सोध्दै उनलाई धकेल्न थाले। ती युवाले आफू वडा नं २२ कै बासिन्दा भएको दाबी गरे तर धर्नारत स्थानीयले पत्याएनन्। विवाद बढ्नुअघि नै प्रहरीले ती युवालाई त्यहाँबाट पठाएपछि माहोल साम्य भएको थियो।

धर्नारत स्थानीयहरूले ती युवासँग भनेका थिए, “तिमी बाहिरबाट आएर यहाँको मुद्दामा बोल्न पाउँदैनौँ। तिमी पनि बाहिरका हौ, त्यो मेयर (बालेन शाह) पनि बाहिरको हो। यो ठाउँ हाम्रो हो। यहाँ केही गर्नुअघि हामीसँग नोसोधी गर्न दिदैनौँ।”

धर्नास्थलमै भेटिएका स्थानीय व्यापारी सर्जु राउत महानगर प्रमुख शाह प्रक्रियागत रूपमा नभई अराजक शैलीमा फुटपाथ विस्तारमा लागेको आरोप लगाउँछन्। आफूहरूसँगको समन्वयमा मात्र काम गर्नुपर्ने उनको भनाइ छ। “उहाँलाई (बालेन शाहलाई) जे गर्नुछ यहाँ आएर हामीसँग गरे हुन्छ। सिधै डोजर पठाएर बाटो खन्न पाइँदैन,” राउत भन्छन्, “यहाँ कतिपय पुराना सम्पदाहरू छन्, धेरैजसो भवन हाम्रो धरोहर जस्तै छन्। त्यसलाई यतिकै कुरूप बनाउन पाइँदैन।”

अर्का स्थानीय नरेशमान महर्जन महानगर प्रमुख शाह स्वेच्छाचारी ढंगले चलेको बताउँछन्। “उहाँ मात्रै जनप्रतिनिधि हो? वडाध्यक्ष भनेको जनप्रतिनिधि होइन? स्थानीय जनताहरूसँग यहीँ आएर समन्वय र सहकार्य नगरूञ्जेल वडा नं २२ को फुटपाथको काम अगाडि बढ्दैन,” नरेशमान भन्छन्, “उहाँले के गर्न खोज्नुभएको भन्ने नै यहाँको जनताले थाहा पाउन सकेको छैन।”  

वडा नं २२ कै एक होटल व्यवसायी भने फुटपाथ विस्तारको पक्षमा छन्। तर आफन्तहरृ नै विरोधमा उत्रिएका कारण आफू खुला रूपले बोल्न नसक्ने उनको भनाइ छ। “धर्ना दिनेहरू कोही काका छन्, कोही दाइ छन्, कोही भाइ छन्। के भन्ने उनीहरूलाई? बास्तवमा भन्ने हो भने फुटपाथ चाहिने नै हो। अहिलेको फुटपाथ सारै साँघुरो भयो,” उनी भन्छन्, “फुटपाथ साँघुरो हुँदा सेक्सुअल हेरेस्मेन्ट भएको बालेनको कुरा ठीक हो। हामी त यहीँका हौँ। दिनहुँ हेर्छौँ। २३ र २४ लाई केही फरक नपर्ने अनि २२ नं. वडालाई मात्र फरक पर्ने भन्ने नि हुन्छ? उहाँहरूको विरोधको कुनै औचित्य देख्दिनँ।”

नयाँ सडक क्षेत्र काठमाडौँ महानगरका तीन वटा वडासँग जोडिन्छ। वडा नं. २२ का स्थानीयले फुटपाथ विस्तारको अवरोध गरे पनि वडा नं २३ र २४ का स्थानीयले विरोध गरेका छैनन्।

जिद्दीले जन्माएको विवाद
गएको जेठ १८ गते भएको काठमाडौँ महानगरको कार्यपालिका बैठकमा महानगर प्रमुख शाह र वडाध्यक्ष चिनीकाजी महर्जनबीच करिब १५ मिनेट चर्काचर्की भएको थियो। कार्यपालिका बैठकमा वडाध्यक्ष महर्जनले न्युरोड क्षेत्रमा फुटपाथ विस्तार भइरहेको पत्रपत्रिकाबाट थाहा पाउनु परेको बताएपछि नोकझोक शुरू भएको थियो।

“देशकै एक ल्यान्डमार्क शहरमा पेटी बनाउने कुरा मैले पत्रिका पढेर थाहा पाउनुपर्ने, यो किन भइरहेको छ?" वडाध्यक्षले बैठकमा प्रश्न गरेका थिए। तर महानगर प्रमुख शाहले फुटपाथ विस्तारको काम वडा नं. २४ मा भएकाले वडा नं. २२का वडाध्यक्षले आपत्ति जनाउनुपर्ने विषय नभएको बताएका थिए।

शाहले कार्यपालिका बैठकमा वडा नं. २४ का वडाध्यक्ष विनोदकुमार राजभण्डारीलाई फुटपाथ आवश्यक छ कि छैन भनेर प्रश्न गरेका थिए। राजभण्डारीले इन्द्रचोकदेखि विशालबजार क्षेत्रको फुटपाथमा मान्छेलाई हिँड्न गाह्रो भएको, लुटपाट, दुर्व्यवहार, पाकेटमारलगायत घटना भएको भनेर गुनासो आएको भन्दै फुटपाथ विस्तारको समर्थन गरेका थिए। 

त्यसपछि पुन: महानगर प्रमुख शाहले वडाध्यक्षकै पहलमा फुटपाथ विस्तारको काम अघि बढाएको र त्यसमा वडा नं. २२ का वडाध्यक्षलाई कुनै समस्या नहुनुपर्ने बताएका थिए। “२४ मा काम भइरहेको छ। २२ मा काम भएकै छैन, तपाईंलाई के समस्या भो?” शाहले वडाध्यक्ष महर्जनलाई प्रश्न गरेका थिए। जवाफमा महर्जनले समग्र न्युरोड क्षेत्रको बारेमा आवाज उठाएको बताएका थिए। “न्युरोडको भूगोल कहाँ पर्छ? अहिले भूगोलको विषयमा तपाईंलाई ज्ञान नभएको हो?” उनको प्रश्न थियो। 

न्युरोड क्षेत्रमा फुटपाथ विस्तार गर्न एकीकृत बोलपत्रमार्फत ठेक्का लगाइएको हुँदा एउटा वडाको मात्र विषय नभएको वडाध्यक्ष महर्जनको भनाइ थियो। समिति गठन गरी अध्ययन गरेर प्रतिवेदनले सुझाएअनुसार मात्रै काम गर्नुपर्ने महर्जनले बताएका थिए। महर्जन एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्। फुटपाथ विस्तारको समर्थन गर्ने वडा नं. २४ का वडाध्यक्ष राजभण्डारी कांग्रेसबाट निर्वाचित हुन्।

कार्यपालिकाको उक्त बैठकबाट न्युरोड क्षेत्रको फुटपाथका विषयमा विवाद शुरू भए पनि मुद्दा अलालतमा विचाराधीन भएको कारण केही दिन साम्य भएको थियो। तर अदालतको फैसलासँगै महानगरले फुटपाथ विस्तारको काम थालेपछि वडाध्यक्ष महर्जनकै नेतृत्वमा वडा नं. २२ का कतिपय स्थानीय विरोधमा उत्रिएका हुन्।

न्युरोडका एक स्थानीय व्यापारी फुटपाथ विस्तारको विवाद जनता र महानगर प्रमुखबीचको नभई एमाले र महानगर प्रमुखबीचको भएको बताउँछन्। “खुलेर बोल्न अलिक असहज मान्लान् तर अधिकांश स्थानीय फुटपाथ विस्तारको पक्षमै छन्। यसलाई सकेसम्म सवारी निषेधित क्षेत्र बनाउँदा फाइदा छ,” ती व्यापारी भन्छन्, “हामी यहाँकै रैथाने हौँ। हामीलाई राजनीतिसँग कुनै सरोकार छैन। ठीकलाई ठीक भन्छौँ बेठिकलाई बेठिक। न्युरोडको पार्किङबाट पैसा उठाउने बाटो बन्द हुनलागेकै कारण यत्रो विवाद भइरहेको छ।”


सम्बन्धित सामग्री