काठमाडौँ– सिद्धार्थनगर नगरपालिका–८ रुपन्देहीकी मतदाता राधा पाण्डेले २०७९ मंसिरमा भएको संसदीय निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोराको चुनाव चिन्ह हलोमा मतदान गरिन्। नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र दीपक बोहोराबीचको प्रतिस्पर्धाले रुपन्देही निर्वाचन क्षेत्र नम्बर–३ चर्चाको केन्द्रमा थियो। एमालेको समेत समर्थन पाएका बोहोराले दुई हजार ६४२ मत अन्तरमा खाणलाई पराजित गरे। बोहोराले ३६ हजार ६४८ मत प्राप्त गरे भने खाणले ३४ हजार ६ मत पाएका थिए।
पाण्डेले निर्वाचनको समयमा बोहोरालाई टाढैबाट देखेकी थिइन्। बोहोरा बिरामी भएको भन्दै उनको चुनावी भाषण अरू कसैले पढिदिएको थियो। “अहिले डाक्टरको सल्लाहअनुसार बोल्न मिल्दैन। दुई चार महिनामा ठीक हुन्छ भनेर भाषण अरूले पढ्दिएका थिए,” उनी भन्छिन्, “तर जितेपछि एक पटक पनि उहाँलाई देख्न र आफ्ना कुरा सुनाउन पाइएन। हाम्रो सांसदलाई के भएको हो, जानकारी पनि छैन।”
पाण्डे जस्तै उनलाई मत दिने धेरै मतदाताको प्रश्न छ– हाम्रो सांसदलाई के भएको हो? मतदातालाई जानकारी दिइयोस्।
भैरहवाका कृष्णप्रसाद अधिकारी बोहोरालाई निर्वाचन जिताउन खटिनेमध्येका एक एमाले कार्यकर्ता हुन्। पार्टीको निर्णयअनुसार आफूहरू बोहोरालाई निर्वाचन जिताउन खटिएको उनी बताउँछन्। “त्यतिबेला सञ्चो छैन भनेर उहाँसँग दोहोरो संवाद गर्न पाइएन। दुई–चार महिनामा ठीक हुन्छ भनियो। अनि हामीले पनि त्यहीअनुसार आम मतदातालाई कन्भिन्स गरेर मत माग्यौँ। अहिले हामीले मत दिएको सांसद खोइ भन्छन्। जवाफ दिन गाह्रो छ,” भैरहवाका पर्यटन व्यवसायी र एमालेका जिल्ला सदस्यसमेत रहेका उनी भन्छन्, “कमसेकम सचिवालयका मानिसहरूले उहाँलाई के भएको हो त्यसबारेमा जानकारी दिनु राम्रो हुन्छ। जनताले कहाँ लगेर आफ्ना समस्या राख्ने? आफूले जिताएको प्रतिनिधि नहुँदा अप्ठेरो हुँदो रहेछ।”
राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष अजय गुप्ताका अनुसार बोहोराको स्वास्थ्यमा समस्या छ र अहिले उनको काठमाडौँमा उपचार चलिरहेको छ। आफूले पनि बोहोरालाई नदेखेको ६ महिनाभन्दा बढी भएको उनी बताउँछन्। “उहाँ उपचारको दौरानमा काठमाडौँमा हुनुहुन्छ। चुनावको दौरानमा स्वास्थ्यमा केही सुधार पनि देखिएको थियो। चुनावपछि अलि स्वास्थ्य बिग्रिँदै गयो। बीचमा दुई–तीन वटा कार्यक्रममा आउनुभएको पनि हो। स्वास्थ्य हो, आफ्नो हातमा पनि छैन। भगवान्ले दिने कुरा हो। मैले नभेटेको ६ महिना भयो,” उनी भन्छन्, “उहाँको अनुपस्थितिमा विकास निर्माणको काम रोकिएको छैन। स्वकीय सचिव छन्। कहाँ–कहाँ योजना पार्ने हो, त्यो सबै भई नै रहेको छ।”
बोहोरा पछिल्लो पटक गत पुसमा पूर्वराजा भैरहवा गएको बेला सार्वजनिक समारोहमा देखिएका थिए। त्यसबेला उनको लिखित भाषण उनका तर्फबाट राप्रपाका नेता निरन्जन थापाले पढेका थिए। बोहोराले आफ्नो लिखित भाषणमा दलीय व्यवस्था असफल भएको आरोप लगाउँदै राजसंस्था पुनर्स्थापना गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए।
खासगरी भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका विषयमा हुने छलफल तथा अन्तरक्र्रिया कार्यक्रममा भैरहवाका सार्वजनिक कार्यक्रममा बोहोराको खोजी हुने गरेको छ। उद्योग वाणिज्य संघलगायत विभिन्न संघसंस्थाले आयोजना गरेका कार्यक्रममा समेत सांसदको खोजी हुने गरेको पर्यटन व्यवसायीसमेत रहेका कृष्ण अधिकारी बताउँछन्। “विमानस्थल नचलेपछि लगानी गरेका व्यवसायीहरू अहिले समस्यामा छन्। यस्तो बेला आफ्नो क्षेत्रका सांसदको भूमिकाको खोजी हुनु स्वाभाविक हो,” उनी भन्छन्।
संसद्मा बोहोरा
बोहोराको संसद्मा उपस्थिति पनि एकदम पातलो छ। उनले निर्वाचित भएयता संसदमा आफूले बोलेर आफ्ना कुरा राखेका छैनन्। एक–दुई पटक राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले बोहोराको लिखित मन्तव्य राखेका थिए। निर्वाचनपछिका करिब २० महिना बित्दा संसद् बैठकमा उनको प्रस्तुति देखिएको छैन।
उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे परिवारले स्पष्टरूपमा कुनै जानकारी दिएको छैन। परिवारका सदस्यहरूसँग सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन। यद्यपि परिवारनिकट स्रोतले बोहोरालाई क्यान्सर देखिएको र हाल उपचार जारी रहेको बतायो। उनले प्रतिनिधित्व गर्ने क्षेत्रका मतदाता आफ्ना सांसद्को स्वास्थ्य अवस्थाबारे यथार्थ जानकारी पाउन उत्सुकतापूर्वक प्रतीक्षा गरिरहेका छन्।
बोहोरा पुराना राजनीतिज्ञ हुन्। २०३६ सालमा पहिलो पटक रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएर उनको राजनीतिक यात्रा शुरू भएको थियो। पञ्चायतकालमा विभिन्न समयमा मन्त्री भएका उनी बहुदलीय व्यवस्थापछिका हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आए पनि २०७० र २०७९ मा दुई पटक निर्वाचित भएका थिए। उनी २०६६ सालमा वन तथा वातावण मन्त्री र २०७२ मा श्रम तथा रोजगार मन्त्री भएका थिए।