Saturday, September 21, 2024

-->

भदौभित्र बर्न वार्ड सञ्चालनको तयारीमा वीर अस्पताल

वीर अस्पतालले सामग्री खरिद र जनशक्ति व्यवस्थापनको प्रक्रिया सकिएसँगै आउँदो भदौभित्रै बर्न वार्ड पुनः सञ्चालनमा आउने तयारी गरेको छ।

भदौभित्र बर्न वार्ड सञ्चालनको तयारीमा वीर अस्पताल
फाइल तस्वीर

काठमाडौँ– वीर अस्पतालले निर्माणाधीन जलन उपचार कक्ष (बर्न वार्ड) आउँदो भदौभित्रै पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्यसका लागि आवश्यक उपकरण ल्याइसकिएको र जनशक्ति व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ। २०५७ सालदेखि सञ्चालित वीर अस्पतालको बर्न युनिट २०७२ सालको भूकम्पले क्षति पुर्‍याएसँगै बन्द भएको थियो।

आवश्यक तयारी अन्तिम चरणमा पुगेकाले आउँदो भदौभित्रै जलन उपचार कक्ष पुनः सञ्चालन गर्ने गरी काम भइरहेको अस्पतालका उपसचिव तथा सहप्रवक्ता मोहन कोइरालाले बताए। “हाम्रो लक्ष्य जतिसक्दो छिट्टै सेवा सञ्चालन गरौँ भन्ने नै हो। सकेसम्म अस्पतालको वार्षिक उत्सव (आउँदो १२ गते) भित्रै सञ्चालन गर्ने योजना हो। तर तयारी नपुग्ने भएपछि भदौभित्रै सञ्चालन गर्ने लक्ष्य छ,” उनले भने।

उनका अनुसार जलन कक्ष सञ्चालनका लागि आवश्यक सात वटा मेसिनमध्ये ६ वटा ल्याइसकिएको छ भने एउटा ल्याउने प्रक्रियामा छ। ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, जनरल सर्जिकल, एनेस्थेसिया लगायत सात वटा मेसिन खरिद गरिएको हो। गत आर्थिक वर्षमै उपकरण खरिदका लागि सरकारले दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। जसअनुसार दुई करोड लागतका उपकरण खरिद भइसकेको र बाँकी रकमको पनि सामग्री खरिद प्रक्रियामा रहेको उनले बताए।

यस्तै, सरकारले अस्पतालका लागि एक सय अस्थायी नर्सिङ जनशक्ति नियुक्त गरेको छ। योसँगै आवश्यक जनशक्तिसमेत व्यवस्थापन भएको उनले बताए। “हामीलाई जनशक्तिको अभाव थियो। हालै सरकारले अस्पतालका लागि एक सय अस्थायी जनशक्तिको व्यवस्था गरेको छ। अहिलेलाई त्यहीबाट व्यवस्थापन गर्छौं। आवश्यकअनुसार थप गर्दै जाने छौँ,” कोइरालाले भने।

अस्पतालमा १५ शय्याको जलन उपचार कक्ष निर्माण हुँदैछ। जसमा पाँच वटा आईसीयु बेड, १० जनरल बेड र दुई वटा बेड अपरेसनका लागि छुट्टाइएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार जलन उपचार कक्षका लागि ३१ जना नर्स व्यवस्था गरिएको छ। अझ जनशक्ति आवश्यक भए पनि अहिलेलाई यही जनशक्तिले व्यवस्थापन गर्ने र आवश्यक अनुसार थप गर्दै लाने अस्पतालको योजना छ।  

मन्त्रालयले जनशक्ति नदिँदा ढिलाइ
वीर अस्पतालको जलन कक्ष गत वर्ष नै सञ्चालन गर्ने भनिएको थियो। गत वर्ष जेठमा अस्पतालको निर्देशकका रूपमा नियुक्त भएको केही समयमै निर्देशक डा. सन्तोष पौडेलले ३ महिनाभित्रै अर्थात् साउनभित्रै १५ शय्याको जलन उपचार कक्ष सञ्चालन गर्ने घोषणा गरेका थिए। तर अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक बजेट विनियोजन नगर्दा र जनशक्ति नदिँदा ढिलाइ भएको बताउँदै आएको छ।

तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालका दुई सय अस्थायी कर्मचारीलाई बर्खास्त गरेका थिए। जसका कारण जनशक्ति अभाव भएको अस्पतालको भनाइ छ। अहिले जलन उपचारका लागि ट्रमा र वीरमा गरी पाँच जना चिकित्सक छन्। जुन पर्याप्त नभएको भन्दै अस्पतालले मन्त्रालयसँग नर्सिङ ५१ जनासहित सरसफाइ, सर्जन गरी झन्डै एक सय नयाँ जनशक्ति माग गरेको थियो। साथै, जलन कक्ष सञ्चालनका लागि आठ करोड बजेट माग गरेको थियो।  

तर अस्पतालको माग उचित नभएको भन्दै मन्त्रालयले सम्बोधन गरेन। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी अस्पतालले माग गरेको जनशक्ति र बजेटको आधार देखाउन नसकेको बताउँछन्। अस्पतालले बजेट र जनशक्ति आवश्यक रहेको यकिन विवरण पठाएमा बजेट उपलब्ध गराउन सकिने उनको भनाइ छ। “अस्पतालले आफूसँग भएको जनशक्ति र बजेटबारे कुनै विवरण पठाएको छैन। मात्र बजेट र जनशक्ति माग गरेको छ। तसर्थ साँच्चिकै अपुग भएको हो कि होइन भन्ने ठहर नभई हामीले दिने स्थिति रहँदैन। अन्यथा नीति तथा कार्यक्रममै समावेश भएको विषयमा हामीले काम नगर्ने भन्ने हुँदैन,” उनले भने  

उनका अनुसार अहिले पनि अस्पतालले ४५ नर्सिङ जनशक्ति माग गरिरहेको छ। जसमा थप अध्ययन गरी आवश्यकताका आधारमा मात्रै परिपूर्ति गरिने उनले बताए। जनशक्ति माग गरेको भए पनि अस्पतालको जलन कक्षका लागि यस आर्थिक वर्षमा बजेट विनियोजन नभएको अस्पतालले जनाएको छ। 


सम्बन्धित सामग्री