अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशत पुगेको छ। गत मेमा ४.० प्रतिशत रहेको बेरोजगारी दर अहिले ४.१ प्रतिशत पुगेको अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्यांकले देखाएको छ।
तथ्यांक अनुसार गत मे–जुनको बीचमा बेरोजगार अस्ट्रेलियालीको संख्या नौ हजार ७०० ले बढ्दा बेरोजगारी दर वृद्धि भएको हो। सहभागिता दरले काम गर्ने उमेरका अस्ट्रेलियालीको अनुपात मापन गर्छ। जसको संख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ।
जुनमा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७ प्रतिशतको ऐतिहासिक उच्चभन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्यांक प्रमुख ब्योर्न जार्विसले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।
समग्रमा अस्ट्रेलियामा ६ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुनमा सक्रिय रूपमा काम खोजिरहेको पाइएको उनले जनाएका छन्।
यो बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्चको तुलनामा १.१ प्रतिशतले कम हो। एबीएसको तथ्यांक अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको संख्या मे–जुन महिनाको बीचमा ०.८ प्रतिशतले बढेको छ ।
बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालीले जुनमा सामान्य समयको जस्तो काम गर्न नसकेको जार्विसले बताएका छन्।