Saturday, February 08, 2025

-->

स्याङ्बोचेको हिमालयन संग्रहालयः फोहोरबाट तयार डाँफेका कलाकृतिको मूल्य ९ लाख

सगरमाथा क्षेत्र घुम्न जाने पर्यटकको आकर्षणको केन्द्र बन्दै गरेको स्याङ्बोचेस्थित हिमालयन संग्रहालयमा आधारशिविर र त्यसभन्दा माथि संकलित फोहोरबाट विभिन्न कलाकृति बनाएर बिक्रीका लागि समेत राखिएको छ।

स्याङ्बोचेको हिमालयन संग्रहालयः फोहोरबाट तयार डाँफेका कलाकृतिको मूल्य ९ लाख

काठमाडौँ– सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने नाम्चेबजारबाट आधा घण्टा उकालो लागेपछि स्याङ्बोचे विमानस्थल पुगिन्छ। अहिले चालु नरहेको यो विमानस्थलबाट केही मिनेटको पैदलमा नै स्याङ्बोचे डाँडा पुगिन्छ। यहाँबाट दक्षिण कोङ्दे हिमालको मनोरम दृश्य देखिन्छ। उत्तरपूर्वतर्फ होटल एभरेस्ट जाने बाटो लागेपछि सगरमाथा, ल्होत्सेलगायत हिमाल लहरै देखिन्छन्।

यिनै हिमाल हेर्न संसारका धेरै ठाउँबाट पर्यटक आउँछन्। हिमाल अवलोकनसँगै अब स्याङ्बोचेमा अर्को आकर्षण थपिएको छ– हिमालयन म्युजियम एन्ड सस्टेनेबल पार्क। यो हिमालयन संग्रहालयको भवन स्थानीय ढुंगा र माटोबाट बनाइएको छ। यसका अध्यक्ष फिन्जो शेर्पाका अनुसार भवनमा सिमेन्टको प्रयोग गरिएको छैन। “स्थानीयस्तरमा पाइने ढुंगा, माटो, काठलगायत सामग्रीको प्रयोग गरेर बनाइएको हो,” उनी भन्छन्, “म्यूजियममा स्थानीय कला, संस्कृति र प्रकृतिसँग सम्बन्धित विभिन्न कलाकृति राखिएका छन्।” 

उक्त भवन वास्तुकलाका लागि प्रदान गरिने ‘मटेरिया अवार्ड’को फाइनलका लागि मनोनयनमा परेको छ। फ्रान्सको लेस ग्रान्ड्स एटेलियर्स इनोभेसन आर्किटेक्चरद्वारा प्रदान गरिने उक्त अवार्डका लागि संसारभरका ४० वटा भवनको सूची निकालिएको छ। “अवार्ड आयो भने सगरमाथासँगै म्यूजियम भवन पनि पर्यटक आकर्षणको केन्द्र हुने छ,” शेर्पा भन्छन्। 

सन् २०१८ देखि निर्माण शुरू गरेर उक्त भवन २०२२ मा पूरा भएको थियो। भवनमा सन् २०२३ मेदेखि संग्रहालय राखिएको हो। संग्रहालयमा एउटा ग्यालरी, हल र ‘इन्टरप्रेटेसन सेन्टर’ छ। ३५ जना क्षमताको हलमा वृत्तचित्रलगायत प्रदर्शन गरिन्छ। सगरमाथा ‘नेक्स्ट’बाट सञ्चालित भवनको डिजाइन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वास्तुकलाविद्हरूले गरेको अध्यक्ष शेर्पा बताउँछन्।

फोहोरबाट कलाकृति
सगरमाथा क्षेत्रबाट संकलन गरिएको फोहोर प्रयोग गरेर बनाइएका विभिन्न कलाकृति संग्रहालयमा राखिएका छन्। हिमाली भेगमा पाइने डाँफेलगायत विभिन्न प्रजातिका चराचुरुङ्गी र हिमालका दृष्यहरू बनाइएको छ।

त्यहाँ राखिएका डाँफेका कलाकृति वियर र विभिन्न खालका शक्ति दिने पेय पदार्थ, कोकोकोला, स्प्राइटलगायतका क्यान प्रयोग गरेर बनाइन्छ। यी डाँफे पर्यटकका लागि सबैभन्दा बढी आकर्षणको केन्द्र बनेको अध्यक्ष शेर्पा बताउँछन्। त्यसैगरी, प्लाष्टिकका बोतलबाट हिमालका कलाकृति र सगरमाथा क्षेत्रमा फालिएका डोरी, टेन्ट, सिलिन्डरको प्रयोग गरेर विभिन्न सामग्री बनाइएको छ। 

सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन चुनौती बनिरहेको बेला त्यसैलाई प्रयोग गरेर विभिन्न सामग्री बनाउँदा दोहोरो फाइदा हुने शेर्पा बताउँछन्। “कलाकृति बनाउँदा यति नै फोहोर खपत हुन्छ भनेर ठ्याक्क भन्न सकिँदैन। तर अहिलेसम्मको अनुभवले फोहर व्यवस्थापन सहज हुने देखिएको छ,” उनी भन्छन्। 

सगरमाथा क्षेत्रको फोहर व्यवस्थापन सधैँ चुनौतीका रूपमा देखिएको छ। हरेक वर्ष आरोहणका समयमा हजारौँ किलो फोहोर संकलन हुन्छ। उक्त फोहोर व्यवस्थापनमा काम गरिरहेको सगरमाथा प्रदूषण कमिटिका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहणमा करिब १०० टन फोहोर संकलन गरिएको थियो। त्यसमध्ये करिब ८० टन सगरमाथा आधारशिविरमा संकलन गरिएको थियो। करिब १० टन फोहोर त्यसभन्दा माथिबाट आरोहण कम्पनीले आधारशिविर ल्याएका थिए। मानव मलमूत्र र सड्ने खालका फोहोर करिब १० टन थियो। 

एउटै कलाको ९ लाख!
संग्रहालयमा स्वदेशी र विदेशी कलाकारसहित १२ जनाले काम गर्छन्। उनीहरूको पारिश्रमिकसहित त्यहाँको सम्पूर्ण खर्च फोहोरबाट बनाइएका कलाकृति बिक्रीबाट हुने आम्दानीबाट हुन्छ।

अध्यक्ष शेर्पा एक वर्षमा ४० लाख रुपैयाँभन्दा बढीको कलाकृति बिक्री भएको बताउँछन्। उनका अनुसार डाँफेको एउटै कलाकृति ९ लाख रुपैयाँसम्ममा बिक्री भएको छ। एक चिनियाँ र एक क्यानडेली पर्यटकले डाँफेका दुई कलाकृति प्रतिगोटा ९ लाख रुपैयाँमा किनेका थिए। “कलाप्रेमीहरूले भावनाले पनि किन्दा रहेछन्। दुई जना पर्यटकले डाँफे ९ लाखमा किनेर फेरि संग्रहालयलाई नै हस्तान्तरण गरे,” शेर्पा भन्छन्। 

सगरमाथा नेक्स्टले कलाकृति बिक्रीवापत भएको आम्दानीबाट खर्च कटाएर बचत रकम फोहोर व्यवस्थापनमा काम गर्दै आएको सगरमाथा प्रदूषण नियन्त्रण कमिटीलाई प्रदान गर्ने शेर्पा बताउँछन्। अहिले सगरमाथा क्षेत्रको फोहोर ल्याउन लागि नयाँ तरिका अपनाइएको छ।

संकलन गरिएका विभिन्न प्लाष्टिक तथा बोतलहरूलाई टुक्रा–टुक्रा बनाइन्छ। ती टुक्रा एक–एक केजीको झोलामा प्याक गरिन्छ। नाम्चेबाट फर्कने पर्यटकहरूलाई स्वयंसेवाका रूपमा लुक्लासम्म एउटा–एउटा झोला ल्याइदिन अनुरोध गरिन्छ। यसो गर्दा एक वर्षमा करिब ६ हजार केजी फोहोर लुक्ला ल्याइएको थियो।

लुक्ला ल्याइएको फोहोरलाई अफसिजनमा तारा एयरलायन्सले निःशुल्क रूपमा काठमाडौँ ल्याइदिन्छ। यी फोहोर विभिन्न पुनःप्रशोधन केन्द्रमा पठाइन्छ।


सम्बन्धित सामग्री