Monday, December 02, 2024

-->

भारतीय प्रहरी अनुमतिबेगर जनकपुर पसे, ‘अपहरण शैली’मा महिलालाई लगे

आफूलाई प्रहरी बताउने पाँच जना जनकपुरधामको एक घरभित्र पसेर महिलालाई नियन्त्रणमा लिए। यसरी पक्रन जाने दुई जना नेपालकै पुलिसलाई घरवालाले प्रहरी चौकीमा पहिचान गरे। तर महिला भारत पुर्‍याइसकिएकी थिइन्।

भारतीय प्रहरी अनुमतिबेगर जनकपुर पसे ‘अपहरण शैली’मा महिलालाई लगे

काठमाडौँ- गएको असार २ गते बिहान करिब ९ बजे सादा पोसाकका पाँच जना प्रहरी जनकपुरधामको रामानन्दचोकस्थित एउटा घरमा पुग्यो। अचानक अपरिचित व्यक्तिहरू घरभित्र प्रवेश गरेर आफूलाई प्रहरी भएको बताएपछि परिवारमा हल्लीखल्ली मच्चियो। करिब १५ मिनेटको सोधपुछपछि एक महिलालाई नियन्त्रणमा लिएर निस्किए।

घरधनी विजय झा पक्राउ गरेर लग्दा प्रहरीले आपत्तिजनक व्यवहार भएको बताउँछन्। “एक त शुरूमा त्यसरी प्रवेश गर्नै नहुने। हामीले सोध्दा मात्रै उनीहरूले प्रहरी भएको बताएका थिए,” झा भन्छन्, “कहाँ लान खोजेको? किन लग्न खोजेको केही प्रष्टसँग बताएनन्।”

घरबाट महिलालाई भ्यानमा लगेपछि परिवारका सदस्यहरू नजिकैको जानकी प्रहरी चौकी पुगे। त्यहाँ पक्राउको कारण सोध्दा शुरूमा कसैले केही बताएनन्। करिब आधा घन्टापछि थाहा पाए, ती महिला त्यहाँ छैनन्। त्यसपछि परिवारका सदस्यहरू भयभित देखिए। 

उनीहरूले घरमा आएका पाँचमध्ये दुई प्रहरीलाई त्यही चौकीमा देखे। झा भन्छन्, "दुई प्रहरीलाई त्यहीँ देखेपछि मैले 'तपाईंहरूले पक्राउ गरेर कहाँ लग्नुभयो' भनेर सोधेँ। जवाफमा प्रहरीले 'जहाँ लानु थियो त्यहाँ गइसक्यो' भने।"

जानकी प्रहरी चौकीबाट प्रष्ट जवाफ नआइसकेपछि परिवारका सदस्यहरूले 'पहुँचवाल' आफन्तलाई फोन गरेर पत्ता लगाइदिन आग्रह गरे। केहीबेरमै खबर आयो, “ती महिला अब नेपालमा छैनन्, नेपाली भूमि पार गरेर भारत पुर्‍याइसककिएको छ।”

“त्यति थाहा पाएपछि हामीले बुझिसक्यौँ, बाँकी तीन जना नेपाली नभएर भारतीय प्रहरी थिए,” झा भन्छन्, “अनि हामीले भारतमा भएका नातेदारसँग सम्पर्क गरेर यो विषयमा थप जानकारी लिन थाल्यौँ।”

करिब दुई महिनाअगाडि भारतस्थित पटनाको एउटा घरमा सासू-बुहारीको घरझगडामा छतबाट खसेर सासूको मृत्यू भएको थियो। मृत्यूको केही दिनपछि नै ती महिला जनकपुर आएर भान्जा विजय झाको घरमा बसिरहेकी थिइन्।

“यो कुरा घरका अन्य सदस्यहरूले पत्याएका रहेनछन् र तिमीले नै धकेलेर मारेको भन्न थालेपछि माइजू हाम्रोमा आएर बस्नुभएको थियो,” झा भन्छन्, “पछि घरकै सदस्यहरूले मुद्दा मामिला गरेपछि उहाँलाई नेपाल आएर पक्राउ गरेको हुनुपर्छ।”

बेखबर एसपी!
नेपाल प्रहरीका दुई जनालाई लिएर भारतीय प्रहरी उक्त घरमा पुगेको जानकारी आफूलाई नभएको धनुषाका एसपी भुवनेश्वर तिवारीको दाबी छ। जानकी चौकीबाट गएका ती प्रहरी कसको निर्देशनमा भारतीय प्रहरीलाई सघाउन पुगेका थिए भन्ने खुलेको छैन।

जानकी प्रहरी चौकीका तत्कालीन इन्चार्ज सई सन्तोष बुढाथोकी भारतीय प्रहरीसँग मिलेर आफूहरूले ती महिलालाई पक्राउ नगरेको बताउँछन्। भारतीय प्रहरी  नेपाल आइपुगेको जानकारीसमेत आफूलाई नभएको उनको दाबी छ।

“मान्छेहरूले महिलालाई अपहरण गरेर हल्लाखल्ला गर्न थालेको थाहा पाएपछि हामी त्यहाँ पुगेका थियौँ। पछि मात्रै थाहा पायौँ कि भारतीय प्रहरी सादा पोसाकमा आफ्नै गाडीमा आएर समातेर लगेको रहेछ”, बुढाथोकीले भने, “त्यसै क्रममा उनीहरू ३-४ दिनदेखि रेकी गरिरहेको खबर पनि प्राप्त भयो। तर यसमा हाम्रो कुनै संलग्नता छैन।”

बुढाथोकीका अनुसार भारतीय प्रहरी पहिला पनि महोत्तरी नाकाबाट हतियार बोकेर नेपाल छिरेका थिए। तर महोत्तरी प्रहरीले हतियार बोकेर आउन नमिल्ने बताएपछि फिर्ता भएका थिए। उनी भन्छन्, “त्यसैको ५-६ दिनपछि सिधै छिरेर मान्छे समातेर लगेका हुन्।”

यस विषयमा उकालोसँग एसपी भुवनेश्वर तिवारीले आफूलाई केही थाहा नभएको भन्दै फोन काटे पनि बुढाथोकी आफूले तत्कालै जानकारी गराएको बताउँछन्।

धनुषाका एक प्रहरी अधिकृतका अनुसार एसपी तिवारीले सोधखोज गर्नुअगाडि नै भारतीय प्रहरीले नेपाली भूमि पार गरिसकेका थिए। “यो विषयको गाम्भिर्य नै बढी भएको हुनाले अहिले एसपीसाब सतर्क हुनुभएको हो,” ती अधिकृत भन्छन्, “सबै चौकीहरूलाई केही घटना भए तत्कालै अपडेट गर्न निर्देशन दिनुभएको छ।”

घटनालगत्तै जानकी प्रहरी चौकीबाट सई बुढाथोकी र हवलदार रामबाबु यादवलाई हटाइएको छ। बुढाथोकी आफू अहिले बिदामा काठमडौँ भएको बताउँछन्।

जानकी प्रहरी चौकी इन्चार्जमा सई प्रकाश थापालाई खटाइएको छ। हवलदार यादवको ठाउँमा सुरेशकुमार साह आएका छन्। थापा आफूलाई यो विषयमा कुनै जानकारी नभएको बताउँछन्। “बरू जिल्लाबाट गएको हो कि! जिल्लातिरै बुझ्नु न, जिल्लालाई थाहा हुनुपर्ने हो,” थापाले भने, “म पनि यसो बुझ्दै गर्छु। म आएकै यहाँ जम्मा १२-१३ दिन भयो।”

कमजोर सुरक्षा संयन्त्र
भारतीय प्रहरी बिनाइजाजत नेपाल छिरेर कसैलाई पक्राउ गरेर भारत लैजाने काम पटकपटक हुने गरेको छ। कतिपय अवस्थामा नेपाल प्रहरीका अधिकृतहरूले नै भारतीय प्रहरीको जिम्मा लगाइदिएका घटना पनि छन्।

पत्रकार तथा लेखक सरोजराज अधिकारीको पुस्तक ‘जासुसीको जालो’मा उल्लेख भएअनुसार २०६३ असार २७ गते भारतको मुम्बईमा शृंखलाबद्ध बम बिस्फोट भएलगत्तै प्रहरीले काठमडौँबाट चार पाकिस्तानीलाई पक्राउ गरेको थियो। तीमध्ये असिम अली र वालिदलाई रातारात वीरगन्ज पुर्‍याएर भारतीय गुप्तचरको जिम्मा लगाइएको थियो। त्यस्तै २०६४ भदौ २९ गते थानकोटमा भारतीय नागरिक वेदराज मिश्र, घनश्याम मिश्र र रेनु पाललाई बिनासोधपुछ भारतीय प्रहरीको जिम्मा लगाइएको थियो।

जघन्य अपराध र गम्भीर प्रकृतिका मुद्दाका अभियुक्त समात्न दुवै देशका प्रहरीले आँखा चिम्लिने तर बिनाजानकारी दोस्रो मुलुक प्रवेश गरेर कसैलाई 'अपहरण' गरी लैजानु स्वभाविक नभएको एक प्रहरी अधिकृत बताउँछन्। कुनै बेला त्यस्तो परिस्थिति आउँदा नेपाल प्रहरी पनि भारत जाने गरेका तर उताको प्रशासनसँग समन्वय हुने गरेको उनको भनाइ छ।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएका कारण बिनाजानकारी भारतीय प्रहरी नेपाल प्रवेश गरेर मान्छे लैजानु देशको फितलो सुरक्षा संयन्त्रको उदाहरण भएको पूर्वएआईजी उत्तम सुवेदी बताउँछन्।

“भारतीय प्रहरी नेपालको सरहदभित्र छिर्नै पाउँदैन। कुनै अपराधि लुकीछिपी बसे पनि कागजी प्रक्रियाअनुसार नेपालको प्रहरीलाई सहयोगका लागि पत्र लेख्नुपर्छ,” सुवेदी भन्छन्, “त्यसपछि नेपाल प्रहरीले समातेर उनीहरूलाई दिने हो। भारतीय प्रहरीलाई त्यहाँ नेपाल प्रहरीले नै सहयोग गरेका छन् भने पनि उसले आफ्नो चेन अफ कमान्डलाई जानकारी गराउनुपर्थ्यो।”

नेपाल प्रहरीकै पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी पनि भारतीय प्रहरी नेपाली भूमीमा प्रवेश गर्नु गलत भएको बताउँछन्। “यस्तो त कसरी सम्भव भयो? एरेस्ट गर्नलाई वारेन्टलगायतको कुरा चाहियो होला नि! जुन सरहदभित्र जसको कानून लाग्छ त्यो त मान्नुपर्यो नि,” भण्डारी भन्छन्, “समन्वय गरेर पनि पुलिस नै भित्र आउन पाउँदैन। हामी सीआईबीमा हुँदा सामान्य लेनदेन हुन्थ्यो। बढीमा समातेर बोर्डरसम्म पुर्‍याइदिने हो। तर आफै आएर लग्नु भनेको मुलुकको सार्वभौम सत्तामाथि प्रश्न चिह्न उठ्नु हो।”

पूर्वएआईजी प्रधुम्न कार्कीका अनुसार सीमावर्ती क्षेत्रमा यस्ता घटना न्यूनीकरणका लागि दुई देशबीच कूटनीतिक तवरबाटै सम्झदारी हुनपर्छ। “यस्ता विषयमा दुईतिरका प्रहरी अधिकृत बसेर आवश्यक प्रक्रिया अपनाएर पक्राउ गर्न सकिन्छ,” कार्की भन्छन्, “इन्टरपोल र दूतावास छँदाछँदै कुनै देशको प्रहरीले सीमा नाघ्नु ठीक होइन। कसैलाई थाहा नदिई आएर समातेर लग्ने प्रवृतिलाई बढावा दिनुभन्दा पनि सहकार्य र समन्वयको बाटो रोज्नु उचित हुन्छ।”


सम्बन्धित सामग्री