Saturday, February 08, 2025

-->

सबैभन्दा धेरै वर्षा हुने पोखरामै किन छ खानेपानीको हाहाकार?

पोखरा महानगरमा मागबमोजिम पानी वितरण हुन नसक्दा उपभोक्ता ट्यांकर, बोरिङ र स्थानीय स्रोतमा भर परेका छन्। पोखरा र लेखनाथका खानेपानी सम्बद्ध संस्था मागअनुसार पानी दिनै नसकिने बताउँछन्। किन?

सबैभन्दा धेरै वर्षा हुने पोखरामै किन छ खानेपानीको हाहाकार

पोखरा– पोखरा महानगर–११ रानीपौवाकी रेखा गरूङ्गेले खानेपानी संस्थानको धारा जडान गरेको दुई वर्षसम्म पानी नै आएन। उनले शुल्क भने तिर्नुपर्‍यो। करिब तीन वर्षअघि धारा जोडेकी उनले पहिलो २१ महिना पानी प्रयोग नगरी १२ हजार रूपैयाँ शुल्क तिर्न बाध्य भइन्।

“कार्यालयमा भन्दा सुनुवाइ नै भएन। के–के भनेर टार्ने गर्दागर्दै सबै पैसा तिर्नुपर्‍यो। नयाँ पानीको पाइपलाइन जोडेपछि पनि कहिले आउने कहिले नआउने हुन्छ,” गरुङ्गे भन्छिन्, “गएको तीन महिना साह्रै समस्या भयो। कति पनि पानी नआउने। आउँदा पनि मेरो घरभन्दा माथितिर मोटर चलाएर तान्दिन्छन्, मेरो लास्ट पोइन्टमा हो, पानी नै आउँदैन।”

पानी आइहाले पनि दुई घण्टाभन्दा बढी नआउने उनी बताउँछिन्। बर्खामा पनि पानीकै समस्या छ। धाराको पानीले नपुगेपछि उनी ट्यांकरबाट किन्ने गर्छिन्। “धारामा पानी नआएपछि मिटर चल्दैन। किन मिटर चलेन भनेर उल्टै आफैँ स्पष्टीकरण दिन खानेपानी अफिस पुग्नुपर्छ,” गरुङ्गेको गुनासो छ।

दुई दशकअघि खानेपानी आयोजना आउँदा पोखरा–३२ बिर्ताका स्थानीय खुशी भएका थिए। सातमुहाने–चैनपुर खानेपानी योजनाबाट स्थानीयले सुविधा पनि पाए। तर बस्ती बढ्दै जाँदा उक्त आयोजनाको पानीले थेग्नै छाड्यो। अहिले वर्षमा चारदेखि पाँच महिना खडेरी नै लाग्ने बिर्ताका विष्णुराज अधिकारी बताउँछन्। “घरघरै धारा त छ तर हिउँद लागेपछि खडेरी लाग्छ,” उनी भन्छन्।

बर्खायाममा गाउँकै कुवाबाट पानीको अभाव पूर्ति भइरहेको अधिकारीको भनाइ छ। चालु रहेको आयोजना रेखदेख र मर्मतका लागि पनि स्थानीयले मासिक न्यूनतम १०० रूपैयाँ उठाइरहेका छन्।

पहिला सार्वजनिक धारा सञ्चालन गरेर त्यहीँबाट पानी लैजाने व्यवस्था थियो। करिब पाँच वर्षदेखि भने घरघरै धारा वितरण गरिएको छ। तर केही उकालो ठाउँका घरका धारामा पानी नआउने अधिकारीको भनाइ छ।

गाउँमा खानेपानीका एकभन्दा बढी आयोजना छन्। एउटा धारा जडान गर्दा करिब ३० हजार लाग्छ। कतिपय स्थानीयले घरमा दुई वा तीन आयोजनाका धारासमेत जोडेका छन्। “कोहीको घरमा साना शहरी खानेपानी योजना अन्तर्गतका धारा पनि छन्। कति त आर्थिक अवस्थाले धारा जोड्नै नसक्ने घर छन्, उनीहरूले छिमेकीबाट पनि पानी नपाउँदा कुवामा भर पर्नु परेको छ,” उनी भन्छन्।

पोखरामा पानीको समस्याबाट व्यवसायी पनि आजित छन्। लेकसाइडस्थित होटल स्नोल्यान्डका सञ्चालक गणेश थापा खानेपानी आपूर्तिमा सरकारको भर पर्न नसकिने बताउँछन्। “हामीले आफ्नै लगानीमा बोरिङ सञ्चालन गरेका छौँ। बिजुली त कति बेला जान्छ थाहा हुन्न, व्यवसाय गर्ने मान्छेले सरकारी धाराको पानी कुरेर साध्य लाग्दैन,” उनी भन्छन्। उनीजस्तै लेकसाइडमा अधिकांश होटलले आफ्नै बोरिङको पानी प्रयोग गर्छन्।

खानेपानी संस्थानका अनुसार पोखराको वडा नं. १ देखि १९ सम्म दैनिक सात करोड ५० लाख लिटर खानेपानीको माग छ। तर बर्खायाममा पाँच करोड चार लाख लिटर र हिउँदयाममा चार करोड ५५ लाख २५ हजार लिटर पानी मात्र आपूर्ति भइरहेको छ।

यस्तै, वडा नं. २६ देखि ३२ सम्म दैनिक एक करोड २५ लाख लिटर खानेपानीको माग छ। यी सात वटा वडामा लेखनाथ खानेपानी उपभोक्ता संस्थामार्फत ७७ लाख ७६ हजार लिटर पानी आपूर्ति भइरहेको छ। पोखरा महानगरका बाँकी सात वडामा स्थानीयस्तरबाट खानेपानी आपूर्ति भइरहेको छ।

खानेपानी संस्थान पोखराका सबइन्जिनियर लक्ष्मण पाण्डे उपभोक्ताको माग सम्बोधन गर्न सक्ने अवस्थामा नभएको बताउँछन्। हिउँदमा सबै मूल सुक्ने भएकाले खानेपानी आपूर्ति गर्न झन् असहज हुने उनको भनाइ छ। “हामी पूरै माग धान्न सक्दैनौँ। उपभोक्ताले ट्यांकरकै पानी खरिद गर्नुपर्ने हुन्छ,” उनले भने।

खानेपानी संस्थान पोखराले माथिल्लो भेगमा धारा पुर्‍याए पनि पानी पुर्‍याउन सकेको छैन। जस्तो, वडा नं. १८ मा पर्ने साराङ्कोटमा धारा भए पनि स्थानीय त्यहीँको मूलमा भर परेका छन्। यही वडाको तल्लो क्षेत्र खपौदी, चंखपुरलगायतमा भने संस्थानबाटै खानेपानी आपूर्ति हुन्छ। 

खानेपानी संस्थान पोखराका सूचना अधिकारी प्रकाश सिलवालका अनुसार अहिले वडा नं. १ देखि १९ सम्मका ५० हजार घरमा खानेपानी वितरण भइरहेको छ। खानेपानीको माग बढेको बढ्यै हुँदा त्यसअनुसार आपूर्ति गर्न नसकिएको उनी बताउँछन्।

संस्थानका अनुसार पोखरामा अहिले वार्षिक १५ सय देखि दुई हजार घर संख्या थपिइरहेका छन्। २ हजार घर संख्या थपिँदा पानीको कम्तीमा १० हजार प्रयोगकर्ता थपिन्छन्। यो जनसंख्याले दैनिक सरदर १२ लाख लिटर पानी उपभोग गर्छन्। 

खानेपानीको आपूर्ति सहज बनाउन अध्ययन भइरहे पनि पानीको नयाँ स्रोत पहिचान भएको छैन। बजेट अभावले पनि नयाँ खानेपानी आयोजनाको काम हुन नसकेको सूचना अधिकारी सिलवाल बताउँछन्। पोखरामा आपूर्ति भइरहेको खानेपानीको स्रोतमध्ये मर्दी मुख्य हो। वडा नं. १ देखि १९ सम्म वितरण भइरहेकोमध्ये मर्दी खोलाबाट मात्रै चार करोड ६० लाख लिटर आपूर्ति हुन्छ। 

नेपाल सरकारको ऋण र जापान सरकारको अनुदान गरी ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ सहयोगमा मर्दी मुहान खानेपानी सुधार आयोजना चलिरहेको छ। यद्यपि यो आयोजनाको उद्देश्य आपूर्ति हुने पानीको क्षमता बढाउनु होइन। “मर्दीको पानी सफा भएर आउने हो, नयाँ थपिने होइन,” सूचना अधिकारी सिलवाल भन्छन्, “जाइकाको प्रोजेक्ट आएपछि चौबिसै घण्टा पोखरामा पानी आउँछ भन्ने जनतामा भ्रम भयो। त्यसो होइन, जाइकाको प्रोजेक्टको मुख्य उद्देश्य मर्दीबाट आउने पानी शुद्धीकरण गरेर पिउनयोग्य बनाउने हो।”

पोखरामा पानीको उपभोक्ता थपिए पनि स्रोत नथपिएको सिलवाल बताउँछन्। मर्दीसँगै सार्दी खोलाको पानी पनि ल्याएर पोखरा–१९ मा वितरण गर्न सकिने उनी बताउँछन्। “विकल्प खोजिएन भने पोखरामा पानीको हाहाकार हुन्छ। यो वर्ष हामीले धेरै दुःख भोग्यौँ। अब आउँदो वर्ष झन् हाहाकार हुन्छ,” उनी भन्छन्। तर सार्दीको पानी ल्याउनका लागि विस्तृत अध्ययन भने भएको छैन। 

अहिले पोखरामा दुईदेखि चार दिनको अन्तरालमा धारामा पानी वितरण गरिन्छ। जाइकाले फूलबारी, पस्र्याङ र कोलपाटनमा बनाइरहेको ट्यांकी निर्माण पूरा भइसकेपछि पानी वितरण सहज हुने सिलवाल बताउँछन्। याम्दीमा नयाँ खानेपानीको स्रोत थप्न २० देखि २५ करोड रुपैयाँ लागत आवश्यक पर्ने र पोखरा महानगरसँग समन्वयका लागि छलफल चलिरहेको सिलवालको भनाइ छ।

लेखनाथमा पनि पानीको हाहाकार
विजयपुर खोला पूर्व लेखनाथमा पनि खानेपानीको सास्ती उस्तै छ। लेखनाथमा पर्ने पोखरा महानगरका सात वटा वडामा दैनिक मागभन्दा करिब ४८ लाख लिटर कम पानी वितरण भइरहेको छ। लेखनाथ खानेपानी उपभोक्ता संस्थाका प्रमुख शिव अमात्यका अनुसार यो क्षेत्रमा खानेपानीको उपभोक्ता घर १६ हजार ३०० वटा छन्। 

लेखनाथमा पानीको मुख्य स्रोत गिउँजे खोला हो। यो खोला मादी गाउँपालिका र पोखरा वडा नं. २० को सिमाना भएर बग्छ। खानेपानी आयोजना डिजाइन गर्दा यहाँबाट ४८.९ लिटर प्रतिसेकेन्ड पानी आउने उल्लेख थियो। तर ३८ देखि ४० लिटर प्रतिसेकेन्डको दरले मात्रै आइरहेको छ। भलबाढी पस्दा कहिलेकाहीँ ६० लिटर प्रतिसेकेन्डका दरले पनि पानी आउने अमात्यको भनाइ छ। योबाहेक लेखनाथमा आठ वटा बोरिङ र दुई वटा ठूला इनारबाट पनि पानी वितरण भइरहेको छ। लेखनाथमा खानेपानीको मुख्यस्रोत गिउँजे खोला र साना शहरी खानेपानी आयोजना अन्तर्गत सञ्चालित सात वटा बोरिङ हुन्। साना शहरी खानेपानी आयोजनामा स्थानीय र सरकारको ५०–५० प्रतिशत लगानी छ। लेखनाथ खानेपानी उपभोक्ता संस्थाको सहलगानी अन्तर्गत एउटा बोरिङ र एउटा साम्पेल पनि निर्माण भएको छ।  यसमा सरकारको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत लगानी छ।

लेखनाथमा वार्षिक ६०० देखि एक हजार घर थपिने गरेका छन्। पानीको माग बढिरहँदा पानीको स्रोत भने झन् संकुचन भएको अमात्य बताउँछन्। लेखनाथमा गिउँजे खोलाबाट पानी ल्याएर वितरण हुन्छ। तर स्थानीय सडक निर्माण गर्दा गिउँजे खोलामा माटो खन्याइएको कारण आपूर्ति घटेको छ। त्यही कारण एक महिनादेखि बार तोकेर पानी दिइने गरिएको छ। “उहाँहरूले गिउँजे खोलाको पानी लेखनाथबासीले खाइरहेका छन् भन्ने ख्यालै गर्नुभएन, जम्मै माटो खोलातर्फ फ्याँक्नु भयो। बाटो जाँदैछ भनेर हामीलाई जानकारी पनि भएन,” उनी भन्छन्।

उपभोक्तालाई मागअनुसार पानी दिन नसकेको अमात्य बताउँछन्। कुनै ठाउँमा पाँच दिनमा एकपटक करिब तीन घण्टा र कुनै ठाउँमा तीन दिनमा एकपटक करिब तीन घण्टाका दरले पानीको आपूर्ति भइरहेको उनले  जानकारी दिए।

१५ वर्षदेखि सहज आपूर्ति भइरहेको लेखनाथमा खानेपानी अभाव भएको धेरै भएको छैन। पहिला डिजाइन गरिएको धाराको ‘नेटवर्क’ अहिले ३ गुणा ठूलो हुँदा पानी वितरणमा समस्या भएको अमात्य बताउँछन्। शुरूआतमा धाराको नेटवर्क १५७ किमिको थियो, अहिले बस्ती विस्तार भएर ४९७ किमि नेटवर्कमा पानी वितरण भइरहेको छ।

लेखनाथमा ‘जलवायु अनुकूल विकट खानेपानी आयोजना’ चलिरहेको छ। यो आयोजना पूरा भएपछि गिउँजेखोलाबाट लेखनाथमा १०० लिटर प्रति सेकेन्डका दरले पानी आउने अमात्य बताउँछन्। ९० प्रतिशत नेपाल सरकारको र १० प्रतिशत उपभोक्ताको लगानी रहेको यो आयोजना दुई वर्षभित्र सक्ने लक्ष्य छ। यसको कुल लागत ४४ करोड ७८ लाख २० हजार अनुमान गरिएको छ। यो आयोजना पूरा नभएसम्म वैकल्पिक व्यवस्थाको लागि बोरिङ निर्माणको योजना रहेको अमात्यले जानकारी दिए।

यसैगरी मादी र इदी खोलाबाट पनि संघीय खानेपानी आयोजनासँगको सहकार्यमा पानी ल्याउने तयारी भइरहेको अमात्यले जानकारी दिए। यो आयोजना पूरा हुँदा १४४० मिटर उचाइमा पनि पानी लगेर ३०० देखि ५०० लिटर प्रतिसेकेन्डका दरले वितरण गर्ने योजना बन्दै गरेको उनको भनाइ छ। “हामीले फिल्ड भिजिट गरिसक्यौँ। यो आयोजना बनेपछि ३० वर्षका लागि ढुक्क हुन सक्छौँ,” उनले भने। 

चुहेरै खेर जान्छ सवा करोड लिटर
खानेपानीको माग उकालो लागिरहँदा चुहावटबाट ठूलो मात्रामा पानी खेर गइरहेको छ। नेपाल खानेपानी संस्थान र लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अनुसार २५ प्रतिशत पानी चुहेर खेर जाने गरेको छ।

पानी ल्याएको ठाउँ टाढा हुँदा पाइप फुटेर चुहिने, स्रोतमा ‘ओभरफ्लो’ भएर खेर जाने भइरहेको छ। वडा नं. १ देखि १९ सम्म वितरण हुने पानी स्रोतबाट ट्यांकीसम्म आउँदा वर्षामा पौन दुई करोड र सुक्खायाममा डेढ करोड लिटरभन्दा बढी खेर जान्छ। त्यसैगरी, लेखनाथ क्षेत्रका सात वडामा वर्षा र हिउँदमा समान पानी आपूर्ति हुने हुँदा करिब २५ लाख ९२ हजार लिटर खेर गइरहेको छ।

स्थानीयस्तरबाटै हुन सक्छ पानीको बचत
शहरी भागमा खानेपानीको माग बढ्दै जाँदा पानीको बचतमा पनि ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन्। पानीका स्रोत सुक्दै गएको अवस्थामा पुनर्भरण र पुनःप्रयोगका उपाय अपनाउनुपर्ने उनीहरूको भनाइ छ।

सेती सिँचाइ आयोजनाका पूर्व इन्जिनियर अशोक गुरुङ सेती नहरको पानी शहर बीचैबीचै बगेर जाँदा कपडा धुनेबाहेक सरसफाइमा प्रयोगमा आउन नसकेको बताउँछन्। “सेती नहरको पानी बजारैबजार दौडिइरहेको हुनाले त्यसलाई पनि शुद्धीकरण गरेर सरसफाइको प्रयोजनमा ल्याउन सकिन्छ,” उनी भन्छन्।

लेकसाइडमाथि जंगलको मूलबाट स्थानीयले पानी ल्याएर ट्यांकीमा जम्मा गर्ने गरेका छन्। यस्तो पानीको मात्रा सुक्खायाममा घट्छ। पोखरामा धेरै पानी पर्ने भएकाले आकाशे पानी संकलन गर्न सकिने गुरुङ बताउँछन्। तर यो काम सामूहिक रूपमा गर्दा मात्र विकल्प बन्ने उनको भनाइ छ।

वन विज्ञान अध्ययन संस्थानका उपप्रध्यापक विकास अधिकारी पनि पोखरामा धेरै पानी पर्ने भएकाले ‘रेन वाटर हार्भेस्ट’ उपयुक्त हुने बताउँछन्। “म पनि पोखराकै भएको हुनाले यहाँको भू–बनोट यस्तो छ कि पानी पर्दा ताल जस्तो हुन्छ। एकैछिनमा सुक्छ र जमिनको सतहमुनि गइहाल्छ। परेको पानी संकलन गरेर चलाउन सकिन्छ,” उनले भने।

पोखरा वरिपरि सडक खन्ने क्रममा डोजर चलाउँदा पञ्चासे र कालीलेकतिर पानीका स्रोतहरू सुकेका छन्। यसबाट तत्कालै खासै ठूलो समस्या नभए पनि अबको एक दशकमा विकराल समस्या ल्याउन सक्ने अधिकारी बताउँछन्।

पोखरी वरिपरि बाटो र ढलानयुक्त घर बनाउँदा जलवायुको चक्र घुम्न नपाएर पानी सुकेको उनको भनाइ छ। “फिल्ट्रेसन भई तल गएर फेरि पानी पर्ने साइकललाई नै हामीले बिगार्यौं। त्यसकारण वातावरण प्रदूषण बढ्दै गएर वर्षाको चक्र पनि बिथोलियो। अब धेरै वर्षा हुँदा त्यसलाई संकलन गर्न सकियो भने राम्रो हुन्छ। त्यसका लागि उपयुक्त प्रविधि लगाउन सकिन्छ,” उनले भने।

घरको नक्सापास गर्दा स्थानीय सरकारले पानी संकलन गर्ने प्रविधिलाई अनिवार्य गर्न सक्ने अधिकारीको भनाइ छ। घर बनाउँदा बचेका सामग्रीले त्यो प्रविधि बनाउन सकिने उनले बताए। यसरी संकलन गरिएको पानी शुद्धीकरण नगर्दा पनि नुहाइधुहाइ गर्न र करेसाबारीमा लगाउन सकिन्छ।

वृहत जलाधार व्यवस्थापन केन्द्र गण्डकीका निमित्त प्रमुख अमर अधिकारी खानेपानीको मूल बचाउन पोखरी संरक्षणको काम गरिरहेको बताउँछन्। जलवायु परिवर्तन र मानवीय कारणले मूलहरू घट्दै गएको उनको भनाइ छ। अहिले फेवातालमा आउने पानीको मूलबारे अध्ययन भइरहेको छ। “बाटो बनाइसकेपछि नालाबाट पानी तर्काइयो, यसले गर्दा पानी जमिनमुनि जान पाएन। यस कारण पानीका केही मूलमा समस्या आएको छ,” उनी भन्छन्। 

कृषिविज्ञ डा. अनिल सुवेदी पोखराको जनसंख्यालाई मात्र नभई यहाँ आउने पर्यटकसमेतलाई ध्यानमा राखेर पानीको आपूर्ति हुनुपर्ने बताउँछन्। महानगरभित्रका खोला संरक्षण गर्दै मूल जोगाउने र बढाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

मूल संरक्षणका लागि पुनर्भरण आवश्यक रहेको डा. सुवेदी बताउँछन्। “चिसापानी, चापापानीबाट अझै पनि हामी डोकोमा गाग्री बोकेर पानी ल्याएर पिउछौँ। विभिन्न वडामा पानीका यस्ता मूल छन्। अब वडाहरूले नै यस्ता मूलको संरक्षण गर्नुपर्छ,” उनी भन्छन्, “पोखरी विस्तार गर्दा पनि जमिनमुनिको पानी रिचार्ज हुन्छ र मूलसम्म पुग्छ।”


सम्बन्धित सामग्री