Friday, December 13, 2024

-->

जीबी राई संलग्न स्वर्णलक्ष्मी सहकारीः बचत र सम्पत्ति हिनामिनामा मालपोत र बैंककै ‘आड’

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका सञ्चालक तथा पदाधिकारीहरूले सर्वसाधारणको बचतदेखि काठमाडौँ–१३ मा रहेको जग्गा धितोमा राखी लिएको ऋण हिनामिना गर्दा मालपोत र बैंकबाटै ‘सहयोग’ पाएको देखिन्छ।

जीबी राई संलग्न स्वर्णलक्ष्मी सहकारीः बचत र सम्पत्ति हिनामिनामा मालपोत र बैंककै ‘आड’ 
तस्वीर : दिपा/उकालो

काठमाडौँ— विभिन्न सहकारीमा रहेको सर्वसाधारणको बचत अपचलन गरेर फरार भएपछि प्रहरीले ‘डिफ्युजन नोटिस’ जारी गरेका गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट मात्र करिब ८० करोड बचत लगेर अपचलन गरेको फेहरिस्त केही समयअघि उकालोले उजागर गरेको थियो। स्वर्णलक्ष्मीका बचतकर्ताहरूले लगानीमाथि प्रश्न उठ्न थालेपछि जीबीले स्वर्णलक्ष्मीको अध्यक्ष बनेरै आर्थिक हिनामिना गरेको तथ्य बाहिर ल्याएका थिए। सहकारीका ५२८ जना बचतकर्ताले गत वैशाख २१ गते प्रहरी वृत्त, कालीमाटीमा जीबीसहित संस्थाका आठ पदाधिकारी र तीन पूर्वपदाधिकारीविरुद्ध ठगी कसुरमा जाहेरी दिएपछि यो अपचलन शृंखला बाहिर आएको हो। 

स्वर्णलक्ष्मीका वर्तमान र पूर्वपदाधिकारीले सहकारीको दुई अर्ब ७५ करोड रुपैयाँ हिनामिना गरेको दाबी जाहेरीमा गरिएको छ। तीमध्ये जीबीचाहिँ पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हुँदा रकम हिनामिना गरेको आरोपमा २०८० भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार छन्। सूर्यदर्शनको बचत रकम हिनामिना गरेको आरोपमा त्यही बेला पक्राउ परेका कुमार रम्तेल हाल पुर्पक्षका लागि कास्की कारागारमा थुनामा छन्। स्वर्णलक्ष्मीको बचत हिनामिनामा पनि तिनै रम्तेल जोडिन आइपुग्छन्। जीबी राई, कुमार रम्तेल लगायतले स्वर्णलक्ष्मीको बचत मात्र होइन, जग्गा धितोमा राखेर निकालेको रकमसमेत हिनामिना गरेको तथ्य भेटिएको छ।

कालीमाटीस्थित सहकारीको प्रधान कार्यालय।

मालपोतदेखि बैंकसम्मको ‘आड’
आफ्नो बचत फिर्ता हुनुपर्ने मागसहित माइतीघर मण्डलमा सहकारी पीडितहरूले दिइरहेको धर्नामा कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरू पनि छन्। सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिमा आबद्ध भएर माइतीघर मण्डलामा भोक—तिर्खा नभनी धर्नामा बस्दै आएकाहरूमा विभिन्न पेसा र व्यवसायमा आबद्ध बचतकर्तादेखि दैनिक ज्याला–मजदुरी गरेर सहकारीमा बचत गरेकाहरूसम्म छन् जो आफ्नै बचत फिर्ता नपाएपछि धर्नामा बसेका हुन्। 

चर्को घाम र बर्खे झरी नभनी उनीहरू धर्नामा बसिरहँदा स्वर्णलक्ष्मी सहकारीका सञ्चालक र पदाधिकारीहरूका एकपछि अर्को बदमासी खुल्न थालेका छन्। जस्तो, काठमाडौँ महानगरपालिका–१३ कालीमाटीमा स्वर्णलक्ष्मी सहकारीको नाममा रहेको कित्ता नम्बर २४४ को १२४/६५ वर्ग मिटर (६ आना १.९५ दाम) क्षेत्रफलको जग्गासमेत सञ्चालक र पदाधिकारीले दुईपटक धितो राखेर बैंकबाट ऋण लिएको विवरण उकालोलाई प्राप्त भएको छ। 

त्यो ऋण पनि सर्वसाधारणको बचतझैँ हिनामिना गरेको देखिन्छ। बचतकर्ताहरूले आफ्नो बचत रकम समयमै नपाएको गुनासो गर्न थालेपछि त्यहीबीचमा सञ्चालक र पदाधिकारीहरूले यस्तो बदमासी गरेको खुलेको छ। 

सहकारीका तत्कालीन अध्यक्ष दीपक लामाको सक्रियतामा स्वर्णलक्ष्मीको नाममा रहेको जग्गा धितो राखेर राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय, कलंकीबाट ऋण लिइएको हो। २०७७ असार २८ गते स्वर्णलक्ष्मीको नाममा रहेको उक्त जग्गा बैंकमा धितोमा राखेर तीन करोड ४९ लाख रुपैयाँ ऋण लिएको भेटिएको छ। यो ऋण लिने निर्णय सहकारीबाट कहिले र कसरी गरिएको थियो भन्ने कागजात भने फेला परेनन्। 

कालीमाटीस्थित सहकारीको प्रधान कार्यालयमा बचतकर्ताले लगाएको ताल्चा।

त्यसपछि पनि स्वर्णलक्ष्मीको जग्गा धितो राखेर सोही बैंकबाट ऋण लिइएको देखिन्छ। तर त्यसपछि भने सञ्चालक समितिबाट निर्णय भए पनि सञ्चालकहरूको मिलेमतोमा जग्गा धितो राखेर ऋण लिएको भेटियो। सरकारी निकायबाट उकालोलाई प्राप्त स्वर्णलक्ष्मीको सञ्चालक समितिको २०७७ असोज ३० गतेको बैठकको निर्णय–पत्रमा बैठकको पहिलो प्रस्ताव नै राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय कंलकीबाट ऋण माग गर्ने उल्लेख छ। 

बैठकले सहकारी र सञ्चालकहरूको व्यक्तिगत स्वामित्वमा रहेका जग्गासमेत धितो राखेर सो बैंकबाट किस्ताबन्दी कर्जा १० करोड र सबल सहकारी कर्जा पाँच करोड रुपैयाँ ऋण माग गर्ने निर्णय गरेको भेटिएको छ। बैठकको पहिलो निर्णयमा उल्लेख छ, “प्रस्ताव १ उपर छलफल हुँदा यस सहकारी संस्थालाई कर्जा लगानी तथा तरलताको उद्देश्यका लागि व्यावसायिक किस्ताबन्दी कर्जा रू. ५,००,००,००० (अक्षरेपी पाँच करोड मात्र) र सबल सहकारी कर्जा रू. १०,००,००,००० (अक्षरेपी दश करोड मात्र) गरी जम्मा ऋण रकम रू. १५,००, ००,००० (अक्षरेपी पन्ध्र करोड मात्र) आवश्यक भएकाले राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय कलंकीबाट ऋण माग गर्ने र ऋण स्वीकृत भै आएपश्चात् उल्लेखित उद्देश्यमा नै ऋण लगानी गर्ने निर्णय गरियो।” 

बैठकले स्वर्णलक्ष्मी सहकारीको नाममा रहेको भवनसमेत कित्ता नम्बर २४४ को १९४/६५ वर्ग मिटर क्षेत्रफल जग्गा धितोमा राख्ने निर्णय गरेको देखिन्छ। त्यस्तै, त्यसबेला स्वर्णलक्ष्मीका सञ्चालक रहेका, अध्यक्षसमेत बनेका जीबी राईको काठमाडौँ–१० मा रहेको कित्ता नम्बर १८३ को ३ आना १ दाम, कित्ता नम्बर ३०२ को ३ आना ३ दाम, कित्ता नम्बर ३४ को २ आना १ पैसा १ दाम जग्गासमेत धितो राखेर बैंकसँग ऋण माग गर्ने निर्णय भएको देखिन्छ। 

सहकारीमा कोषाध्यक्ष रहेकी कविता तामाङको नाममा ललितपुर महानगरपालिका वडा नम्बर ६ (क) मा रहेको कित्ता नम्बर ४८० को ६ आना र शंकर रम्तेलको नाममा सोही स्थानमा रहेको कित्ता नम्बर ५०३ को ३ आना २ पैसा पनि धितोमा राखेर बैंकबाट ऋण माग गर्ने निर्णय गरिएको छ। तर स्वर्णलक्ष्मीको बाहेक अरू जग्गा धितो राखेर कति ऋण माग गर्ने निर्णय भएको हो भन्ने निर्णयबाट खुल्दैन। 

सहकारीको जग्गा धितो राखेर ऋण लिने निर्णय गर्दा अध्यक्ष दीपक लामा, उपाध्यक्ष देवेन्द्रबाबु राई, सचिव प्रदीप लामा, कोषाध्यक्ष कविता तामाङ, सदस्यहरू सविना आलेमगर, भक्तबहादुर भोलन र सबिता लामाले हस्ताक्षर गरेका छन्। उनीहरू सबै स्वर्णलक्ष्मी सहकारीका वर्तमान अध्यक्ष जीबी राई र कोषाध्यक्ष कुमार रम्तेलका आफन्त हुन्। 

जीबीका नातेदार हुन् दीपक। जीबी अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा आर्थिक संकट आउँदा जीबीकै लागि दीपकले स्वर्णलक्ष्मीको अध्यक्ष पद छाडिदिएका थिए। गोर्खा मिडियाको संकट टार्न जीबीले स्वर्णलक्ष्मीको अध्यक्ष हुनुपर्ने चाहना राखेपछि दीपकले २०७९ कात्तिक २८ गते अध्यक्षबाट राजीनामा दिएका थिए। 

बैठकको निर्णय नमूनामा हस्ताक्षर गर्ने स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, जीबीका दाइ हुन् भने तत्कालीन कोषाध्यक्ष कविता तामाङ वर्तमान कोषाध्यक्ष कुमार रम्तेलकी श्रीमती हुन्। 

ऋण लिँदा सहकारीको सञ्चालक समिति बैठकले गरेको निर्णय।

स्वर्णलक्ष्मी सहकारीको जग्गा धितो राखेर बैंकबाट ऋण माग गर्ने निर्णय गरिएपछि त्यसको प्रक्रिया अघि बढाउने अख्तियारी जीबीका आफन्त (काकाका छोरा) भूपेन्द्रबाबु राईलाई दिइएको देखिन्छ। सहकारीका उपाध्यक्ष देवेन्द्रबाबुले प्रबन्धक रहेका भूपेन्द्रबाबुलाई २०७७ मंसिर ७ गते ऋणको प्रक्रिया अघि बढाउन अख्तियारी दिएको पत्र उकालोलाई प्राप्त भएको छ। लामो समय प्रबन्धक रहेका भूपेन्द्रबाबुमाथि बचत हिनामिनाको आरोप लागेको छ। 

सहकारीका उपाध्यक्ष देवेन्द्रबाबुले प्रबन्धक रहेका भूपेन्द्रबाबुलाई २०७७ मंसिर ७ गते ऋणको प्रक्रिया अघि बढाउन अख्तियारी दिएको पत्र

सञ्चालक र पदाधिकारीहरूले सहकारी र आफ्नो नाममा रहेको जग्गा धितोमा राखेर १५ करोड रुपैयाँ ऋण माग गर्ने निर्णय गरे पनि बैंकले स्वर्णलक्ष्मीको कालीमाटीस्थित जग्गा मात्र धितोमा राखेर ऋण दिएको देखिन्छ। बैंकले २०७७ मंसिर २८ गते पुनः स्वर्णलक्ष्मीको जग्गा धितो राखेर एक करोड २२ लाख रुपैयाँ ऋण लिएको कागजातले देखाउँछन्। 

दुवै पटक ऋण लिँदा स्वर्णलक्ष्मीले भूमिसुधार तथा मालपोत कार्यालय कलंकीमा गरेको लिखतमा शर्त कबुलियत उल्लंघन गरेमा, किस्ताको खिलाफमा काम गरेमा, कर्जाको दुरूपयोग गरेमा, निर्धारित समयमा कर्जा र त्यसको ब्याज नतिरेमा धितोबन्धक राखेको जग्गा लिलाम गरी बैंकलाई आफ्नो रकम असुल्ने अधिकार दिइएको छ। 

लिखतमा उल्लेख छ, “कथंकदाचित लेखिदिएको सम्पत्ति कच्चा ठहरी लिलाम बिक्री हुन नसकी वा लिलाम बिक्री भए पनि धनी बैंकले लिन पर्ने रकम असुल उपर नभई बाँकी रहेमा सो बाँकी रकम मेरो घर–घरानाको चलअचल समेतका जायजेथाबाट कानूनबमोजिम असुल उपर गरिलिएमा मेरो/हाम्रो मञ्जुरी छ।”  

यो ऋण कहिलेसम्मका लागि लिइएको भन्ने चाहिँ कागजातबाट खुल्दैन। तर अहिलेसम्म स्वर्णलक्ष्मीको जग्गा बैंकमा रोक्का नै देखिन्छ। 

अनौठो चाहिँ लिखतमा सहकारी सञ्चालक या पदाधिकारी कसैको नाम र हस्ताक्षर छैन। लिखत राखिएको फाइलमा स्वर्णलक्ष्मी सहकारीका एक कार्यालय सहयोगीको परिचय–पत्रको प्रतिलिपि समावेश छ। 

सहकारीको जग्गा धितो राखेर ऋण लिने लिखत गर्दा सहकारीका तर्फबाट सञ्चालक या पदाधिकारीहरूको नाम र हस्ताक्षर किन राखिएन? मालपोत कार्यालय कलंकीका एक कर्मचारीले भने, “माथिमाथि मिलेमतो गरेर गरिने लिखत यस्तै अस्पष्ट र अपुरा हुन्छन्। होइन भने त लिखतमा सहकारीका तर्फबाट आधिकारिक व्यक्तिको नामसँगै हस्ताक्षर पनि हुनुपर्ने हो।” 

स्वर्णलक्ष्मी सहकारीलाई जग्गा धितोमा राखेर ऋण उपलब्ध गराएको बैंकका एक कर्मचारीले धितो राखेर ऋण लिने बेला गरिने लिखत आधिकारिक बनाउने जिम्मेवारी मालपोत कार्यालयको भएको दाबी गरे। “हामीले जग्गा धितोमा राखेर ऋण दिने बेला मालपोतमा लिखत गरिने हो। मालपोतले लिखतको काम सकियो भनेपछि हामीले ऋण दिने हो। लिखतको आधिकारिता मालपोतले नै प्रमाणित गर्ने हुँदा उसैले ध्यान दिनुपर्छ,” उनले भने।

कालीमाटीस्थित सहकारीको केन्द्रीय कार्यालय भवन।

अनुसन्धान अन्योलमा, बचतकर्ता तनावमा
सञ्चालकहरूले स्वर्णलक्ष्मी सहकारीको नाममा रहेको जग्गा धितो राखेर पटक–पटक लिएको ऋण कहाँ कसरी उपयोग गरे भन्ने कागजात या अभिलेख भने भेटिएनन्। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिका एक अध्यक्ष सुमन खनालले भने, “सञ्चालकहरूले हाम्रो पसिनाको कमाइ कहिले फिर्ता देलान् भन्ने केही टुंगो छैन। सहकारीको नाममा रहेको जग्गासमेत धितोमा राखेर ऋण लिइसकेछन्, यो सुनेर हाम्रो तनाव थपिएको छ।” 

संघर्ष समितिका अर्का अध्यक्ष नन्दु तन्डुकारले आफूहरूको बचत हिनामिना गरेर सञ्चालक बेपत्ता हुँदा र सहकारीको नाममा रहेको जग्गासमेत बैंकबाट रोक्का भएको सुन्दा झन् चिन्ता बढेको बताए। “हाम्रो पसिनाको कमाइबाट सहकारी सञ्चालकहरूले घरघडेरी जोडे, छानबिनको माग गरेपछि बेपत्ता भए,” उनले भने।  

स्वर्णलक्ष्मीमा बचत हिनामिना गरेको आरोप लागेपछि २०७९ भदौ १ र २२ गते दुई पटक अध्यक्ष जीबी राईले भैँसेपाटीमा आफ्नो नाममा रहेको २३ रोपनी २५ आना जग्गा ‘चेनी क्यापिटल प्रालि’लाई बिक्री गरेका थिए। त्यसमध्ये आफ्नो हिस्सा (३० प्रतिशत) सहकारी पीडितहरूलाई दिने लिखित प्रतिबद्धता कोषाध्यक्ष रम्तेलले जनाएका थिए। तर उनको प्रतिबद्धता कागजमै सीमित रह्यो। अहिले कास्की कारागारमा रहेका रम्तेलले भेट्न पुगेका पीडितहरूलाई ‘अब बचत फिर्ता नपाउने’ धम्की दिएका छन्।  

जीबी राई, कुमार रम्तेललगायतका सञ्चालकहरूले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन पारेको भन्दै ५२८ जना बचतकर्ताले कालीमाटी प्रहरी वृत्तमा जाहेरी दिएको दुई महिना बित्यो। तर त्यसपछि प्रहरीले अनुसन्धानमा चासो देखाएको छैन। जाहेरी पर्नसाथ अनुसन्धानका लागि भन्दै स्वर्णलक्ष्मीको केन्द्रीय कार्यालयका कागजात नियन्त्रणमा लिएको प्रहरीले त्यसपछि भने विभिन्न बहानामा पीडितहरूलाई पन्छाउँदै आएको पीडितहरू बताउँछन्। सहकारी पीडित कृष्ण परियारले भने, “हाम्रो रकम हिनामिना गर्ने सञ्चालकहरूको खोजी होला र उनीहरूमाथि गहिरो अनुसन्धान होला भन्ने आस थियो। प्रहरीले हाम्रो विषयलाई गम्भीर रूपमा लिएन। यसले झन् तनाव थपिएको छ।” 

यो पनि : 

जीबी राईबारे किन बोलिरहेछन् गृहमन्त्री लामिछाने?

सरकारले घोषणा गरे पनि आफ्नो बचत फिर्ता हुने आधार देख्दैनन् सहकारी पीडित

सहकारी कानून : निर्माणदेखि कार्यान्वयनसम्म स्वार्थ समूहकै ‘कब्जा’

बचतकर्तालाई महँगोमा जग्गा ‘भिडाएर’ कमाउने धन्दामा सहकारी सञ्चालकहरू

सहकारीमा नारायणकाजीको ‘वार’विरुद्ध ६० किलो सुनमा रविको ‘पलटवार’


सम्बन्धित सामग्री