Thursday, December 12, 2024

-->

भुटानी राजबन्दी रामबहादुर चेम्गाङ जेलमा झन्डै ३२ वर्ष कटाएर आइपुगे बेलडाँगी शिविर

भुटानी शरणार्थी रामबहादुर राईले भुटानी राजबन्दीका रूपमा चेम्गाङ जेलमा झन्डै ३२ वर्ष कटाएर आइतबार बेलडाँगी शरणार्थी शिविर आइपुगेपछि मात्र थाहा पाए श्रीमती बितेकै १४ वर्ष भइसकेको रहेछ।

भुटानी राजबन्दी रामबहादुर चेम्गाङ जेलमा झन्डै ३२ वर्ष कटाएर आइपुगे बेलडाँगी शिविर
तस्वीर सौजन्य: सन्चहाङ सुब्बा।

काठमाडौँ— भुटानको चेम्गाङ जेलमा राजबन्दीका रूपमा ३१ वर्ष १० महिना थुनामा परेर रिहा भएका भुटानी शरणार्थी रामबहादुर राई आइतबार झापाको दमकस्थित बेलडाँगी शिविर आइपुगेका छन्। शिविरका सचिव सन्चहाङ सुब्बाका अनुसार राई शिविरमा रहेकी आफ्नी छोरी गंगामाया सुब्बाको परिवारसँग अस्थायी रूपमा बस्न थालेका छन्। 

३० वर्ष पुरानो शरणार्थी परिचयपत्र साथमा रहे पनि रामबहादुरकी श्रीमती लछिमायाको निधन भइसकेको तथा दुई छोराहरू अस्ट्रेलिया/अमेरिका पुनर्बसोबासमा गइसकेका कारण उनलाई रासनपानी र बसोबासको व्यवस्था गर्न आफू लागिपरेको सचिव सुब्बाले बताए। 

शुक्रबार जेलबाट रिहा भएका राईलाई जेलप्रशासनले भुटानमा बस्न पाइँदैन भन्दै जयगाउँ बोर्डरमा ल्याएर छोडिदिएका थिए। त्यसपछि जयगाउँका राजु मगरको सहयोगमा नेपाल–भारत सीमानाका पानीटेंकी आइपुगेका उनलाई छोरी–ज्वाइँले जिम्मा लिएर शिविरमा ल्याएका हुन्। 

“म शुक्रबार मात्रै चेम्गाङ जेलबाट रिहा भएको हुँ, तर जेलप्रशासन र त्यहाँका अधिकारीले भुटानमा बस्न पाइँदैन भनेर सिधै फुन्चोलिङ (जयगाउँ) बोर्डरमा ल्याएर छाडिदिए,” बेलडाँगी शिविरबाट राईले फोनमा भने, “भारत, जयगाउँ बस्ने राजु मगर भन्ने भाइले सहयोग गरेर भारतको पानीटेंकीसम्म आएँ, त्यहाँ मेरा छोरी-ज्वाइँ पुगेर जिम्मा लिएर यता ल्याएका हुन्।” 

पानीटेंकीको अध्यागमनका भारतीय अधिकारीले ‘तिमी नेपाल जान पाउँछौँ तर फर्केर यता आउन पाउँदैनौ’ भन्दै छोरी–ज्वाइँका साथमा शिविर आउन अनुमति दिएको राईले बताए। उनकी श्रीमती लछिमाया बितेको १४ वर्ष पुगेको छ। सो कुरा पनि आफूले शिविरमा आएपछि मात्र थाहा पाएको उनी बताउँछन्। “श्रीमती बितेकै १४ वर्ष भइसकेछ शिविर आएर बल्ल थाहा पाएँ,” उनले भने।

दक्षिण भुटानस्थित सरपाङ जिल्ला, तकलाई ब्लकमा जन्मेका राई सन् १९९० को मध्यतिर शरणार्थी बनेर नेपाल आएका थिए। राष्ट्रसंघीय शरणार्थी आयोगको मान्यतामा बेलडाँगी शिविरको सेक्टर–१ का बासिन्दा हुन् उनी। सन् १९९४ मा केही राजनीतिक सन्देश भएका पर्चा लिएर भुटानको गेलेफु पुगेका बेला पक्राउ परेपछि उनलाई चेम्गाङ लगिएका थियो। राईको अन्तर्राष्ट्रिय रेडक्रसले मान्यता दिएको राजबन्दी क्रमांक (आईसीआरसी नम्बर) २४१ हो।

आफन्तहरूसँग भेटघाटका लागि एक साता थिप्पु आसपास बस्न दिन उनले गरेको अनुरोध जेलप्रशासनले अस्वीकृत गरिदिएको थियो। “मैले आफूले रिलिज पाउनुभन्दा एक महिनाअघि भुटानमा रहेका केही आफन्तलाई भेट गर्नका लागि एक साता मात्रै भए पनि थिम्पु आसपासमा बस्न पाउँ भनी निवेदन दिएको थिएँ, तर जेल प्रशासनले एक साता होइन एक दिन पनि बस्न पाउँदैनौँ भन्दै बोर्डर कटाएको थियो,” ६६ वर्षीय राईले फोनमा भने। 

आफूलाई कुनै रोगबिराम नभए पनि जेलभित्र पाएको शारीरिक यातनाका कारण दुई वटा करङ भाँचिएको अवस्थामा आफू हिँडडुल गरिरहेको उनले सुनाए। राईले दिएको जानकारीअनुसार १५ वर्षभन्दा लामो अवधिदेखि जेलमा रहेका डम्बरसिंह पुलामी, गंगाराम ढकाल, नन्दलाल बस्नेत, गोविन्द निरौला र ओमनाथ अधिकारीको स्वास्थ्य स्थितिसमेत नाजुक बन्दा आईसीआरसीले ध्यान दिन सकेको छैन।

भुटानको चेम्गाङ जेलमा अझै ३४ जना राजबन्दी थुनामा छन्। यीमध्ये धेरैजसो भुटानको राजनीतिक परिवर्तनमा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोगी बनेको आरोप लगाउँदै देशद्रोहीका रूपमा भुटानले थुनामा राख्दै आएको छ। बेलडाँगी शिविरमा मात्रै भुटानी जेलमा थुनामा रहेका दुई दर्जनभन्दा बढी राजबन्दी परिवारका शरणार्थी आफन्त बसोबास गर्दै आएका छन्। राज्यद्रोहको अभियोग लागेरै थुना परेका अर्का शरणार्थी मधुकर मगर पनि ३० वर्ष चेम्गाङ जेलमा बसेर गत साउनमा मात्रै शरणार्थी शिविर आइपुगेका थिए।

भुटानमा रहेका राजबन्दी रिहाइको अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्की एकातर्फ लोकतन्त्र र सुशासनको आडमा ‘खुशी–सुखी राष्ट्र’को भ्रम बाँड्ने भुटानले मानव अधिकारका दृष्टिमा आफ्ना नागरिकमा निम्न कोटीको व्यवहार देखाइरहेको बताउँछन्। नेदरल्यान्डस‍्को हेगबाट यो अभियान सञ्चालन गरिरहेका कार्कीले जेलमा रहेका राजबन्दीको स्वास्थ्य स्थिति र आधारभूत मानव अधिकारसमेत गिर्दो अवस्थामा रहेको बारेमा अन्तर्राष्ट्रिय निकायको ध्यान जानुपर्ने धारणा राखे।

“एउटा भुटानी नागरिक त्यहाँको जेलबाट छुटेर भारतीय मार्ग हुँदै नेपालको शरणार्थी शिविरमा आएर बस्ने गरेको स्थिति आफैँमा अनौठो छ,” पूर्वराजदूतसमेत रहेका कूटनीतिज्ञ डा. दिनेश भट्टराईले उकालोसँग भने, “जबकि कुनै प्रयोजनमा यिनै भुटानी शरणार्थीले भारत छिर्न चाहेमा भारतीय प्रशासनले अनुमति नदिएको अवस्था छ। यो द्वैध चरित्र र नेपाल सरकारको बेखबर स्थितिबारेमा हामीले सरोकार उठाउनैपर्ने हुन्छ।”


सम्बन्धित सामग्री