काठमाडौँ– पर्सा राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गस्ती टोली र चोरी सिकारमा संलग्न समूहबीच मुठभेड हुँदा एक जनाको मृत्यु भएको छ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाका अनुसार शुक्रबार बिहान गस्तीमा रहेको सेनाको टोली र चोरी सिकारमा संलग्न समूहबीच निकुञ्जको ‘कोर एरिया’मा जम्काभेट भएको हो।
“सुरक्षा टोलीसँग भएको भिडन्तमा एक जनाको मृत्यु भयो, अरू भाग्न सफल भए,” प्रमुख संरक्षण अधिकृत खतिवडाले भने। उनका अनुसार भिडन्तमा मारिएका व्यक्तिको सनाखत भइसकेको छैन। घटनास्थलबाट सुरक्षाकर्मीको टोलीले दुई थान बन्दुक बरामद गरेको छ।
पर्सा राष्ट्रिय निकुञ्जमा गस्ती टोली र चोरी सिकारमा संलग्न समूहबीच बेला–बेलामा भिडन्त हुने गरेको छ। यसअघि २०७९ सालमा पनि निकुञ्ज र सुरक्षाकर्मीको टोलीले मारिएका वन्यजन्तुका अंगसहित उक्त कार्यमा संलग्न समूहलाई पक्राउ गरेको थियो। त्यसैगरी, २०७६ सालको चैतमा निकुञ्ज सुरक्षार्थ सुरक्षाकर्मी र तस्करको समूहबीच भएको भिडन्तमा एक जनाको मृत्यु भएको थियो।