Wednesday, July 24, 2024

-->

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ गर्न सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

निर्वाचन आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

काठमाडौँ– संसदीय समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सुनुवाइ गर्न उजुरी आह्वान गर्ने निर्णय गरेको छ। 

शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा सभापति पशुपति शमशेर जबराले प्रधानको संसदीय सुनुवाइ प्रक्रिया शुरू हुनुका साथै सार्वजनिक उजुरी आह्वान गर्ने निर्णय भएको जानकारी दिएका छन्। उनले प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना या उजुरी भए सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिए।

“सुनुवाइको लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना या उजुरी भए त्यस्तो सूचना समितिसमक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चार माध्यम र विद्युतीय सञ्चारका माध्यममार्फत संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ अनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिन्छु,” उनले भने।

गत आइतबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको थियो।निर्वाचन आयुक्त पदका लागि प्रधानको नाम प्रस्ताव गरी संसदीय सुनुवाइका लागि संवैधानिक परिषद्बाट असार ४ गते पत्र प्राप्त भएको समितिले जनाएको छ।


सम्बन्धित सामग्री