Wednesday, July 24, 2024

-->

भ्रष्टाचारविरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ

भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था खोली ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

भ्रष्टाचारविरोधी अभियन्ता हौँ भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
प्रतीकात्मक तस्वीर

काठमाडौँ– गैरकानूनी रूपमा भ्रष्टाचारविरुद्धको अभियान नामक संस्था खोली ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा बस्ने राजु सुनार, वडा नं. ८ मा बस्ने आदर्श क्षेत्री, वडा नं. १ मा बस्ने अस्मिता खत्री र वडा नं. २ बस्ने प्रेमप्रसाद श्रेष्ठ रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त बौद्धले सोमबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उनीहरूले गोकर्णेश्वर नगरपालिकाभित्र गैरकानूनी रूपमा ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोली विभिन्न वडाहरूमा शाखासमेत विस्तार गरेका थिए। उनीहरूले विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा गएर भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा परिचय दिँदै हिसाबकिताब तथा असम्बन्धित सूचनाहरू माग्ने गरेका थिए। उनीहरूले संघसंस्थाका पदाधिकारी तथा कर्मचारीलाई तिमीहरूका विरुद्धमा भ्रष्टाचार गरेको, कर छली गरेको तथा आर्थिक अनियमितता गरेको उजुरी आएको भन्दै धम्क्याउने गरेको प्रहरीले जनाएको छ।

मुद्दा हालिदिन्छौँ भनी आतंक सिर्जना गरी भिडियो बनाई रकमसमेत असुली गरी ठगी गर्ने तथा पुष्टि नै नभएका विवरण सामाजिक सञ्जालमा राखी चरित्र हत्या गरेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए। यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको उनको भनाइ छ।


सम्बन्धित सामग्री