Wednesday, July 24, 2024

-->

दुनाटपरी उद्योगमार्फत उद्यमी बन्दै गृहणी

शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढवा दिनुपर्ने बताउँछन्।

दुनाटपरी उद्योगमार्फत उद्यमी बन्दै गृहणी

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका-६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुनाटपरी बनाउने पेसामा संलग्न छन्। उनले सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुनाटपरी बनाउँदै आएकी हुन्।

उनले मेसिनमार्फत पाँच प्रकारका दुनाटपरी बनाउँदै आएकी छन्। उनले उत्पादन गरेका दुनाटपरी महेन्द्रनगर, धनगढीका व्यापारीले घरमै पुगेर खरिद गर्छन्। गाउँघरमा भोजभतेर, विवाह, व्रतबन्ध, सत्यनारायण कथालगायत धार्मिक आयोजनलगायतका अवसरमा प्रयोग हुने दुनाटपरी बनाउने जिम्मा उनलाई नै दिइने गरिन्छ।

यसैमार्फत मासिक पाँच हजारदेखि १० हजार रुपैयाँसम्म उनले कमाई गर्दै आएकी छन्। विवाहलगायतको याममा एकै महिनामा २५ हजारदेखि ३० हजार रुपैयाँसम्म कमाई हुने गरेको उनी बताउँछिन्।

“एक वर्षअघि दातृ निकायले सञ्चालन गरेको तालिममा सहभागी हुँदा दुनाटपरी बेचेर पनि कति नै कमाई होला भनेर पहिला सोच्ने गर्दथेँ,” उनले भने, “दातृ निकायले मेसिन अनुदान दिएर महिलाको समूह बनाइदियो, केही दिन समूहका महिलासँग कार्य गरे, शुरूशुरूमा थोरै कमाई हुँदा आबद्ध महिलाले साथ छाडे।”

त्यसपछि एक्लैले कामलाई निरन्तरता दिँदा ठाउँठाउँमा चिनजान बढेसँग दुनाटपरीको माग आउन थाल्यो। अहिले नसोचेको कमाइ हुँदा आफैँ दंग पर्ने गरेको उनी बताउँछिन्। “पढेलेखेको थिइन्,” उनले भनिन्, “अधिकांश समय मेलापात र घरकै भान्साको काममा व्यस्त हुन्थे, आफूलाई आवश्यकता परेका बेला श्रीमान्कै मुख ताक्नु पर्दथ्यो।”

गाउँमै दुनाटपरी बनाउने तालिम आएपछि सहभागी भए सीप सिकेपछि अहिले त्यसैबाट घर खर्च चल्न थालेको उनले सुनाइन्। “पहिला श्रीमान्बाट पैसा माग्थेँ, अहिले पैसा नभएका बेला श्रीमान्ले माग्नुहुन्छ, परनिर्भरता भएर बस्नुपरेको छैन,” उनले भनिन्। सीप सिकेपछि कामलाई निरन्तरता दिए बेरोजगार भएर बस्नु नपर्ने उनी सुनाउँछिन्। रुख चढेर सालका पात टिप्न नसक्ने भएकाले उनले अरूले टिपेका पात किनेर दुनाटपरी बनाउँछिन्।

देखतभूलीका बासिन्दाले रुखबाट टिपेका पात प्रतिबोरा दुई सयदेखि तीन सय रुपैयाँमा खरिद गर्छन्। “पात टिप्नेले पनि रोजगारी पाएका छन्, मैले पातबाट दुनाटपरी बनाएर उद्यम चलाउन थालेको छु,” उनले भनिन्। उनले सानो दुनाटपरी प्रतिगोटा एक रुपैयाँ पचास पैसादेखि दुई र ठूलो पाँच रुपैयाँ प्रतिगोटाका हिसाबले बच्छिन्। एक सय वटा दुनाटपरीको प्याकेट बनाएर बजारमा बिक्री हुने उनी बताउँछिन्।

उनीजस्तै कैलालीको गोदावरी नगरपालिको अत्तरियाका हीरा घर्तीमगरले पनि दुनाटपरी बनाउने उद्योग नै खोलेर उद्यम गर्दै आएका छन्। उद्योगमा उनले चार जनालाई रोजगारी पनि दिएकी छन्। उनको दुनाटपरी उद्योगको वार्षिक आम्दानी तीन लाख ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म हुने गरेको छ।

पाँच वर्षअघि घर्तीले ५० हजार रुपैयाँ लगानीमा मेसिन खरिद गरी दुनाटपरी उद्योग सञ्चालनमा ल्याएकी हुन्। “काम सानो र ठूलो हुँदैन,” उनले भनिन्, “सानै काम गरे पनि जीवन सहज रुपमा चलाउन सकिन्छ, त्यसका लागि लगनशीलता आवश्यक पर्छ।”

हिन्दू संस्कारअनुसार जन्मदेखि मृत्युसम्म दुनाटपरीको आवश्यकता पर्ने उनी बताउँछन्। दुनाटपरी स्थानीय अत्तरिया, धनगढी, महेन्द्रनगरलगायत बजारमा मात्रै नभएर डडेलधुरा, डोटीको दिपायल, कास्कीको पोखराबाट माग आउने गरेको छ। दैनिक दुई हजार दुनाटपरी उनको उद्योगबाट उत्पादन हुने गरेको छ।

यस वर्ष वन क्षेत्रमा अधिक डढेलो लाग्दा मागअनुसार पातको आपूर्ति गर्न नसक्दा उत्पादन थोरै हुँदा आम्दानी घटेको उनको भनाइ छ। “सिधै माग भएका ठाउँमा पुर्‍याउन सकिए आम्दानी सोचेभन्दा बढी नै हुन्थ्यो”, उनले भनिन्, “बिचौलियाले बढी नाफा खाने भएकाले उत्पादन गर्नेले थोरै आम्दानीमै चित्त बुझाउनु परेको छ।”

दुनाटपरीको उद्योग सञ्चालनसँगै घर्तीले माग भएका ठाउँमा प्रशिक्षक भएर दुनाटपरी बनाउने तालिममा प्रशिक्षण दिने काम गर्दै आएका छन्। “उद्योगको कमाई त छँदैछ”, उनले भनिन्, “यसका अतिरिक्त तालिममा प्रशिक्षक भएर काम गरेबापत कमाई हुने गरेको छ।”

शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढवा दिनुपर्ने बताउँछन्।

“दुनाटपरीको प्रयोगलाई बढवा दिन जनचेतनाको खाँचो छ,” उनले भने, “दुनाटपरी एक–पटकका लागि प्रयोगमा ल्याइने भएकाले सङ्क्रामक रोगबाट बच्न सकिन्छ, त्योसँगै होटेललगायतका व्यवसायमा संलग्नले दुनाटपरीको प्रयोगलाई बढवा दिए भाँडाकुँडा धुनका लागि कामदार राखिरहनु पर्दैन।”

शुक्लाफाँटा नगरपालिका–७ का अध्यक्ष चक्रबहादुर खड्का दुनाटपरी बनाउने तालिम सञ्चालन गरी आर्थिक रूपमा विपन्न परिवारको जीवनस्तर माथि उठाई स्वरोजगार बनाउनका लागि काम अगाडि बढाएको बताउँछन्। 

“दुनाटपरी सीपमूलक तालिम सञ्चालन गरी विपन्न परिवार, महिला, दलित, जनजाति, युवालाई स्वरोजगारमा संलग्न गराउने योजना छ”, उननले भने, “त्यसका लागि वडाको बजेटले भ्याउने गरी मागका आधारमा तालिम सञ्चालन गरिरहेका छौँ, केहीलाई चालु आवमा तालिममा सहभागी गराएका छौँ, बाँकीलाई आगामी आवको तालिममा संलग्न गराई अनुदानमा मेसिनको व्यवस्था गरी दुनाटपरी उद्योगमा आबद्ध गराउँछौँ।”


सम्बन्धित सामग्री