Wednesday, July 24, 2024

-->

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बांगियो

विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ।

धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा बांगियो

खोटाङ– खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बांगिएको छ। खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा नदीतर्फ ढल्किएको हो।

वर्षा शुरू नहुँदै नदीको पानीले जग्गा कटान गरेपछि खम्बा बांगिदै गएको प्रत्यक्षदर्शीले बताएका छन्। निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीले ठेक्का लिएको पुल तत्कालीन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७४ साल भदौ ३१ गते शिलान्यास गरेका थिए।

विसं २०७६ मै बनिसक्नुपर्ने पुलको २०८० साल फागुन २८ गतेदेखि ‘पाइल’ फाउन्डेसनको काम भइरहेको छ। त्यही ‘पाइल’ फाउन्डेसन बनाउने क्रममा खोटाङतर्फ फर्काइएको पानीले कटान गर्दा खम्बा बांगिएको बराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जाराले बताए।

धाप्लाङघाटका स्थानीय दीर्घ मगरका अनुसार खम्बाको माथिल्लो भाग फाट्दै गएको र नदीतिर ढल्किँदै गएको छ, तर सडक विभाग पुल सेक्टर धरान, सुनसरीका योजना प्रमुख इन्जिनियर दारोगा प्रसादले भने पुलको खम्बा बांगिएको विषयमा जानकारी नभएको जवाफ दिए। शुरूमा यहाँ ‘वेल’ फाउन्डेसन प्रविधिको पुल बनाउने ठेक्का खुलाइएको थियो। शिलान्यास गरेको सात वर्षपछि गत वर्ष ‘पाइल’ फाउन्डेसन प्रविधिको पुल बनाउने गरी डिजाइन परिवर्तन गरिएको हो।

रसुवा एसएनएस पप्पु जेभीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते धाप्लाङघाटमा २०० मिटर लम्बाइको पक्की पुल निर्माणको सम्झौता गरेको थियो। म्याद नाघेको पाँच वर्ष बित्दा ठेकेदारले खम्बाको काम पूरा गरेको छैन। खोटाङ र उदयपुरतर्फ वर्षौंअघि सडक बनिसकेको भए पनि धाप्लाङघाटमा पक्की पुल निर्माण नहुँदा झोलुंगे पुलको प्रयोग हुँदै आएको छ।

निर्माणाधीन पक्की पुलको खम्बा बांगिएपछि गुणस्तरमासमेत प्रश्न उठेको छ। धाप्लाङघाटमा पक्की पुल नहुँदा सबैभन्दा बढी कृषि उपज लोडअनलोड गर्दा किसानले व्ययभार खेपिरहेका छन्। भोजपुरको आमचोक गाउँपालिका र उदयपुरको रानीटार जोड्ने पुलका साथै धाप्लाङघाटको गरी दुई वटा पुल  ५० करोड १४ लाख ६० हजार रुपैयाँ लागतमा सम्पन्न गर्ने गरी रसुवा एसएनएस पप्पुले एउटै ठेक्कामार्फत जिम्मा लिएको थियो। एकै दिन शिलान्यास गरिएका रानीटार पुलको प्रगति पनि निराशाजनक रहेको स्थानीयबासीले बताएका छन्। 


सम्बन्धित सामग्री