Monday, July 15, 2024

-->

जुद्धोदय स्कुलको जग्गामा व्यापारिक भवन: सटरहरूमा महानगरको ताल्चा, छानबिनमा भने बेवास्ता

जुद्धोदय स्कुलको जग्गा लिजमा हत्याएर व्यापारी मनोज मिश्रले बनाएको व्यापारिक भवनका सटरहरूमा ताल्चा लगाएको काठमाडौँ महानगर यो प्रकरणमा संलग्नहरूबारे मौन देखिन्छ।

जुद्धोदय स्कुलको जग्गामा व्यापारिक भवन सटरहरूमा महानगरको ताल्चा छानबिनमा भने बेवास्ता
तस्वीर : काठमाडौँ महानगरपालिकाको फेसबुक पेज

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका कर्मचारी र नगर प्रहरीको टोली सोमबार दिउँसो क्षेत्रपाटीस्थित जुद्धोदय माध्यमिक विद्यालय पुगेर त्यसको परिसरमा निर्मित व्यावसायिक भवनमा रहेका १८ वटा सटरमा धमाधम ताल्चा लगाउन थाल्यो। ठेकेदार, व्यापारी मनोज मिश्रले बनाएको भवनका सटरहरूमा महानगरको टोलीले ताल्चा लगाउन थालेपछि मिश्र र उनीसँग सटर भाडामा लिएर विभिन्न व्यापार गरिरहेका व्यवसायी प्रतिकारमा उत्रिए। केहीबेर नोकझोक चल्यो। 

मिश्रले महानगर कर्मचारी र नगर प्रहरीको टोलीलाई आफू भवनको मालिक भएको, आफूलाई नसोधी छापामार शैलीमा भवन भत्काउन नपाइने बताइरहेका थिए। अरू व्यापारीले पनि सटरहरूमा ताल्चा लगाए राम्रो नहुने चेतावनी दिइरहेका थिए। तर महानगरको टोलीले त्यो व्यापारिक भवन सार्वजनिक जग्गामा बनेकाले ताल्चा लगाएरै छाड्ने बताए। त्यतिञ्जेल उनीहरूले १८ वटै सटरमा ताल्चा लगाइसकेका थिए। 

यो सब भइरहँदा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत प्रतिनिधिहरू भने त्यहाँ देखिएनन्। सटरहरूमा ताल्चा लगाउन लागेको जानकारी त्यसको करिब एक घण्टा पहिले, सोमबार दिउँसो एक बजे वडा नम्बर १६ का अध्यक्ष पुष्प महर्जनले व्यवस्थापन समितिका अध्यक्ष पुष्प मानन्धरलाई मौखिक रूपमा गराएका थिए। अध्यक्ष मानन्धर त्यहाँ नपुग्दै महानगरका कर्मचारी र नगर प्रहरी सटरहरूमा ताल्चा लगाएर हिँडिसकेका थिए। 

उनीहरू बाहिरिएको केहीबेरमै मिश्रसहित उनीसँग सटर भाडामा लिएर व्यापार गरिरहेकाहरू ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेलाई भेट्न पुगे। उनीहरूले पाण्डेसँग आफूहरूको लगानी महानगर र जुद्धोदय स्कुलले तहसनहस पारेको दाबी गर्दै सहयोग मागेका थिए। पाण्डेले लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानन्धरलाई फोन गरेर ‘ताल्चा लगाइसक्दासम्म कहाँ लुकेर बसेको?’ भन्दै थर्काएका थिए।

“महानगरले सटरहरूमा ताल्चा लगाउँदै छ भन्ने मलाई पनि थाहा थिएन। केहीबेरअघि वडा अध्यक्षले मौखिक जानकारी गराएपछि म पुग्दै थिएँ, त्यतिञ्जेल ताल्चा लगाइसकिएछ। पर्यटन परिषद्‍देखि व्यापारीहरूले मलाई नै धम्क्याए, अहिले पनि धम्क्याउने काम भइरहेको छ,” मानन्धरले भने।  

फोनमा मानन्धरलाई तत्काल आफ्नो कार्यालयमा आउनू भनेर धम्क्याएका पाण्डे उनी त्यता जान हिँडेपछि विद्यालयमै आइपुगेका थिए। फर्केर फेरि विद्यालय आउँदा पाण्डे, मिश्रलगायत व्यापारीहरूले पुनः आफूलाई धम्क्याएको मानन्धरले बताए। त्यसक्रममा उनीहरूलाई विद्यालय तहसनहस बनाउने उद्देश्यसहित मिश्रलाई जग्गा भाडामा दिइएको, करारनामाको शर्तअनुसार उनले विद्यालयको भवन निर्माण नगरिदिएको, आफ्ना लागि व्यापारिक भवन निर्माण गरेर व्यापार गरेको तर करारनामाअनुसार भाडा रकम नदिएकाले महानगर ‘एक्सन’मा उत्रिएको निष्कर्ष सुनाइदिएको बताए।

त्यसपछि आफू महानगरको एक्सनविरुद्ध अदालत जाने धम्की दिँदै मिश्र त्यहाँबाट बाहिरिएका थिए। 

नभन्दै उनी अदालत पुगे। उच्च अदालत पाटनले बिहीबार जुद्धोदय लगायतका स्कुल परिसरमा बनाइएका सडकमा ताल्चा लगाउने वा व्यापारीलाई त्यहाँबाट हटाउने काम नगर्न अन्तरिम आदेश दिएको छ। 

पाण्डेले भने आफूले मानन्धरलाई नधम्क्याएको दाबी गरे। त्यस दिन मिश्रले निर्माण गरेको भवनका सटरहरूमा व्यवसाय गर्दै आएका व्यवसायीले आफ्नो व्यवसाय संरक्षण गरिदिन माग गरेपछि आफूले जुद्धोदयमै पुगेर बैठक गरेको उल्लेख गर्दै उनले भने, “त्यहाँका व्यवसायीलाई ठूलै मार परेको छ। उहाँहरूले कि त आफ्नो व्यवसायलाई निरन्तरता दिन पाउनु पर्छ कि महानगरले उहाँहरूलाई क्षतिपूर्ति दिनुपर्छ।” 

विद्यालयलाई चाहिँ कुनै मार परेको छैन त? पाण्डेले थपे, “विद्यालयलाई पनि मार परेको छ। तर सम्झौता गर्ने ठेकेदार (मनोज मिश्र) हो। ठेकेदारलाई सटरको अग्रिम भाडा बुझाएर व्यवसाय गर्नेको दोष छैन। महानगरले स्कुल र ठेकेदारबीच के–कस्तो सम्झौता भएको छ त्यो पो हेर्ने हो। व्यवसायीको रोजीरोटी खोस्न पाइन्छ?”

मिश्रले असुलिसकेका थिए १९ वर्षको भाडा
जुद्धोदय स्कुलबाट व्यवस्थापन समिति अध्यक्ष मानन्धरसँग आक्रोशित हुँदै मिश्र बाहिरिएपछि मिश्रसँग सटर भाडामा लिएर व्यापार गरिरहेकाहरू अन्योलमा परे। किनभने उनीहरूले मिश्रलाई आफूले सटर भाडामा लिएबापत पहिले १० वर्ष र पछि ९ वर्षका लागि भाडा रकम बुझाइसकेका रहेछन्। 

मिश्रको कम्पनी, तरुण निर्माण सेवा प्रालिसँग सम्झौता गरी सटरहरू भाडामा लिएर व्यापार गरिरहेका एक व्यापारीले भने, “हामीले सटर भाडामा लिँदा भवनले ओगटेको जग्गा जुद्धोदय स्कुलको हो भन्ने थाहा थिएन। मिश्रले हामीलाई जग्गा आफ्नै भएको बताउनुभएको थियो। त्यही भएर मैले सटरको १९ वर्षको भाडा रकम पहिल्यै बुझाएको हो।” उनले अहिले आएर मात्र मिश्रले स्कुलसँग गरेको जग्गा लिज सम्झौता विवादास्पद रहेछ भन्ने सुनेको बताए। 

सटर भाडामा लिएर व्यापार गरिरहेका अर्का एक व्यापारीले आफूहरूलाई मिश्रले फसाएको बताए। “हामीले मिश्रलाई विश्वास गरेका थियौँ, उहाँले स्कुलसँग कुनै विवाद नभएको बताउँदै आउनु भएको थियो। पछि पछि उहाँले स्कुलसँग गरेको सम्झौता गलत छ भन्ने समाचार आउँदा हामी डराएका थियौँ,” उनले भने, “हाम्रो व्यवसाय नै चौपट भयो। कम्तीमा हामीलाई पहिल्यै जानकारी गराएको भए पसलसम्म सार्न पाउँथ्यौँ, आफ्नो सामानसमेत उठाउन पाएनौँ।” 

मिश्रले जुद्धोदय स्कुलको जग्गा लिजमा लिएर निर्माण गरेको भवनको एउटा सटरबाट मासिक २६ हजार ६६६ रुपैयाँदेखि ३० हजार रुपैयाँ भाडा असुल्दै आएका थिए। तर उनले जुद्धोदयलाई जग्गा करारनामाअनुसार दिनुपर्ने भाडा दिन विलम्ब गरिरहेका छन्। महानगरले आफूहरूले व्यापार गरिरहेका सटरहरूमा ताल लगाइदिएपछि अब व्यापारी मिश्रसँग पैसा फिर्ता माग्ने या नमाग्ने भन्ने अन्योलमा समेत व्यापारीहरू छन्। 

सटरहरू भाडामा लिएर व्यापार गरिरहेकाहरूले यतिका वर्षसम्म जग्गाधनीसँग भएको विवाद लुकाएर आफूहरूलाई मिश्रले धोका दिएको आरोप लगाएका छन्। जबकि मिश्रलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प मानन्धरले महानगर सम्झौताविरुद्ध एक्सनमा जाँदै छ भन्ने जानकारी गराएका थिए। मिश्रले भने आफूलाई कसैले केही गर्न नसक्ने भन्दै उल्टै मानन्धरलाई थर्काएका थिए। 

मिश्र नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंह र विमलेन्द्र निधिसँग निकट सम्बन्ध रहेका व्यापारी हुन्। 

सटरमा ताल्चा लगाएपछि के गर्दै छ महानगर?
२०६५ वैशाख ४ गते तत्कालीन प्रधानाध्यापक सूर्यराज शाक्यको सक्रियतामा जुद्धोदय माध्यमिक विद्यालयले व्यापारी एवं ठेकेदार मनोज मिश्रको कम्पनी, तरुण निर्माण सेवा प्रालिलाई आफ्नो ९ रोपनी ६ आना १ दाम जग्गामध्ये ४० प्रतिशत आफूले राखी ६० प्रतिशत जग्गा लिजमा दिने करारनामा गरेको थियो। यो करारनामाबाट विद्यालयसँग लिजमा लिएको जग्गामा कम्पनीले आफ्नो व्यवसायका लागि व्यावसायिक भवन बनाउने अनुमति पाएका थियो। जग्गा लिजमा लिएबापत विद्यालयका लागि पनि कम्पनीले नयाँ भवन बनाइदिनु पर्ने थियो। 

करारनामामा विद्यालयका लागि नयाँ भवन तथा व्यापारिक भवन निर्माण गर्न साढे तीन वर्ष र लिज बहाल अवधि ३० वर्षको गरी साढे ३३ वर्षसम्म समयावधि कम्पनीले उपभोग गर्न पाउने भनिएको थियो। व्यापारिक भवनको नक्सा निर्माण तथा काठमाडौँ महानगरपालिकामा पासका लागि ६ महिना अर्थात् २०६५ असोज मसान्तसम्म र २०६५ कात्तिक १ गतेदेखि २०९८ साल चैत मसान्तसम्म ३० वर्ष भाडा अथवा लिजको अवधि बहाल हुने भनिएको थियो। यस्तै नक्सा पास तथा निर्माण कार्य केही उचित कारणले वा अन्य प्राविधिक कारणले ढिलाइ भएमा पुनः आपसी सहमतिमा निर्माण विकास समयावधि थपघट गर्न सकिने प्रावधान पनि करारनामामा राखिएको थियो। 

करारनामामा २०६९ वैशाखदेखि विद्यालयलाई कोटेसन फर्ममा कबोल गरेअनुसार ३० वर्षसम्म भाडा तिर्नुपर्ने भनिएको थियो। कम्पनीले हरेक तीन–तीन महिनामा मासिक ४ लाख ३५ हजारका दरले भाडा बुझाउने सहमति भएको थियो। यस्तै भाडा रकम हरेक तीन–तीन वर्षमा शुरूको भाडादर १० प्रतिशतले वृद्धि गर्ने भनिएको थियो। 

तर करारनामामा निर्माणको समय थप भएको अवस्थामा सोही अनुरूप ३० वर्षको अवधि शुरू हुने मिति पनि स्वतः सर्नेसमेत भनिएको थियो। कम्पनीले निर्माणको अवधि पछि सार्न पहिले नक्सा निर्माण र पास प्रक्रियालाई पर धकेल्दै लगेको देखिन्छ। साथै विद्यालयको निर्माण शुरू गरेको भवनको निर्माण कार्यमा पनि विलम्ब गर्दै लगियो। कम्पनीले जुद्धोदयका तत्कालीन प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलगायत पदाधिकारीहरूसँगको मिलेमतोमा २०६६ माघ २५ र २०७२ असार २५ गते थप दुई पूरक सम्झौता गरेर निर्माण विकासको समय अझै पर धकेल्यो। कम्पनीले जुद्धोदयलाई दिने भाडा रकम कहिलेदेखि कहिलेसम्म कति हो, अहिले कति बाँकी छ भन्नेबारे विद्यालयसँग यकिन विवरण नै छैन। 

२०८० जेठ २४ गते उकालोमा ‘पहुँचवाला व्यापारीले जग्गामा आँखा लगाएपछि तहसनहस बनेको जुद्धोदय स्कुल’ शीर्षकको विस्तृत खोजमूलक रिपोर्ट प्रकाशन भएपछि असार ३ गते काठमाडौँ महानगरपालिकाले यस विषयलाई लिएर छानबिन समिति गठन गरेको थियो। 

तस्वीर : फोटो लाइब्रेरी

छानबिन समितिले जुद्धोदय र मिश्रको कम्पनीबीच पटक–पटक भएका करारनामा गैरकानूनी भएको भन्दै करारनामामा संलग्न व्यक्तिहरूलाई थप छानबिनको दायरामा ल्याउनु पर्ने र सम्झौता पनि खारेज गर्नुपर्ने सुझावसहित साउन ५ गते महानगरलाई प्रतिवेदन बुझाएको दिएको थियो। तर महानगरले करिब एक वर्षपछि आएर मिश्रले निर्माण गरेका व्यापारिक भवनका सटरहरूमा ताल्चा लगाएको छ। करारनामामा संलग्न व्यक्तिहरूमाथि छानबिन नै गरिएको छैन।

यो पनि : पहुँचवाला व्यापारीले जग्गामा ‘आँखा लगाएपछि’ तहसनहस बनेको जुद्धोदय स्कुल

महानगरका एक कर्मचारी भन्छन्, “यो त व्यापारीलाई जिस्काउने काम मात्र भयो। व्यापारीले अदालतमा सेटिङ गरेर भवनमा लागेको ताल्चा खुलाइहाल्छन्। महानगरले न सार्वजनिक सम्पत्तिमा व्यापारीलाई रजाइँ गर्न दिने व्यक्तिमाथि छानबिन गर्न सक्यो न गैरकानूनी रूपमा भएको सम्झौता भंग गर्न सक्यो। सटरमा ताल्चा लगाउने मात्रै महानगरको जिम्मेवारी होइन।” 

मिश्रले बनाएको भवनका सटरहरूमा ताल्चा लगाउनु भन्दा १० दिन अघि काठमाडौँ महानगरका मेयर बालेन साहको सचिवालयले जुद्धोदयका पदाधिकारीहरूलाई यो विषयमा छलफल गर्न डाकेको थियो। १५ दिनको समय दिएर मिश्रले विद्यालयलाई दिन बाँकी रकम दिन लगाउने र सटरहरू खाली गर्ने सहमति उक्त छलफलमा भएको थियो। यस्तै, त्यसपछि विद्यालय आफैँले सम्झौता भंगको माग गर्दै अदालत जानेसम्मको सहमति भएको छलफलमा सहभागी एक कर्मचारीले बताए। 

तर महानगरले सोमबार आफ्ना कर्मचारी र नगर प्रहरी पठाएर सटरहरूमा ताल्चा लगाएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरले भने, “महानगरले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने हो। हामीले गैरकानूनी रूपमा स्कुलको जग्गामा बनाइएको भवनका सटरहरूमा ताल लगाइसकेका छौँ। बाँकी के कसरी अघि बढ्छ, अहिले भन्न सकिन्न।” 

फलोअप:

हडप्न खोजिएको जुद्धोदय स्कुलको जग्गा जोगाउन सर्वोच्चले गरेको फैसला
जुद्धोदयको जग्गा व्यापारीलाई दिने सम्झौता गैरकानूनी रहेको छानबिनको निष्कर्ष, होला कारबाही?
जेपी स्कुलको जग्गा लिज : महानगरले कारबाही नगर्दा प्रअ पौडेल र व्यापारी मिश्रको बेलगाम मनोमानी
व्यापारीका आँखा लागेपछि बर्बाद जुद्धोदय स्कुल : छानबिन गरेपछि किन हच्किए बालेन?
जुद्धोदय स्कुल तहसनहस पारेर व्यापारीले ठड्याएको कम्प्लेक्सः छानबिन सकेको ७ महिनासम्म के कुरिरहेछन् बालेन?


सम्बन्धित सामग्री