Monday, June 17, 2024

-->

भारतको प्रधानमन्त्रीमा मोदीसँगै ३० क्याबिनेट मन्त्रीले लिए शपथ

नरेन्द्र मोदीले आइतबार लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन्।

भारतको प्रधानमन्त्रीमा मोदीसँगै ३० क्याबिनेट मन्त्रीले लिए शपथ     

काठमाडौँ– नरेन्द्र मोदीले आइतबार लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीका रूपमा शपथ लिएका छन्।

भारतको लोकसभा निर्वाचनमा नवनिर्वाचित भारतीय जनता पार्टी (भाजपा) नेता मोदीले आइतबार राष्ट्रपति भवनमा आयोजित समारोहमा शपथ लिएका हुन्। राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइन्। 

मोदीको शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, बांग्लादेशका प्रधानमन्त्री शेख हसिना र सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ सहभागी थिए। 

सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री बनेका उनले लगातार तीन कार्यकाल देशको नेतृत्व गर्दै छन्। मोदीसँगै उनको मन्त्रिपरिषद्मा भाजपाका केन्द्रीय अध्यक्ष जगतप्रसाद नड्डा, राजनाथ सिंह, अमित शाह र नितिन गडकरीले क्याबिनेट मन्त्रीका रूपमा शपथ लिएका छन्। सिंह, शाह र गडकरी यसअघिको सरकारमा क्रमशः रक्षामन्त्री, गृहमन्त्री र यातायातमन्त्रीका रूपमा काम गरेका थिए।

नयाँ मन्त्रिपरिषद्मा जनता दल युनाइटेडका राष्ट्रिय अध्यक्ष ललन सिंह र मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहानले पनि क्याबिनेट मन्त्रीको शपथ लिएका छन्। उनीहरूबाहेक राममोहन नायडू, प्रह्लाद जोशी, जुएल उराँव, गिरिराज सिंह, निर्मला सीतारमण, एस जयशंकर, अश्विनी वैष्णव, ज्योतिरादित्य सिंधिया, भूपेन्द्र यादव, मनोहर लाल खट्टर र गजेन्द्र सिंह शेखावतले पनि क्याबिनेट मन्त्रीका रूपमा शपथ लिएका छन्। 

त्यस्तै, एचडी कुमारस्वामी, पीयूष गोयल, अन्नपूर्णा देवी, किरेन रिजिजू, धर्मेन्द्र प्रधान, हरदीप सिंह पुरी, जीतन राम माँझी, मनसुख मांडविया, जी किशन रेड्डी, सर्बानन्द सोनोवाल, चिराग पासवान, डा. वीरेन्द्र कुमार र सीआर पाटिलले पनि क्याबिनेट मन्त्रीका रूपमा आइतबार शपथ लिएको बीबीसी हिन्दीले जनाएको छ।

 


सम्बन्धित सामग्री