काठमाडौँ– पछिल्ला दुई वर्षमा आन्तरिक आम्दानी अर्थात् स्थानीय कर संकलनमा निर्धारित लक्ष्य पार गरेको काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अन्त्यसम्ममा झन्डै ६ अर्ब रुपैयाँ उठाउने लक्ष्य पछ्याइरहेको छ।
यसभन्दा अघिल्ला आर्थिक वर्षहरू २०७८/७९ र २०७९/८० मा आन्तरिक राजस्व संकलनको लक्ष्य क्रमशः १०३ र १२० प्रतिशत पूरा गरेको महानगरले तीन वर्षअघिको आर्थिक वर्ष २०७७/७८ मा भने लक्ष्यको ५८ प्रतिशत मात्र राजस्व उठाउन सकेको थियो।
महानगरको राजस्व विभागबाट प्राप्त तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ४६ करोड ५० लाख ५४ हजार र २०७९/८० मा पाँच अर्ब ८२ करोड ६५ लाख ६३ हजार रुपैँया आम्दानी भएको थियो। त्यसअघि २०७७/७८ मा तीन अर्ब ५४ करोड २४ लाख ३६ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरिएको विभागले जनाएको छ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा महानगरले चार अर्ब ४७ करोड १९ लाख १८ हजार रुपैँया आन्तरिक राजस्व उठाएको छ जुन वार्षिक लक्ष्य ६ अर्ब ३९ करोड २० लाखको झन्डै ७० प्रतिशत हो। बाँकी ३० प्रतिशत लक्ष्य पूरा गर्न अब पुगनपुग साढे दुई महिना समय छ।
घरबहाल करले उकासेको आम्दानी
आन्तरिक आय वृद्धि गर्नमा घरबहाल करको योगदान सबैभन्दा उच्च रहेको महानगरका राजस्व विभाग प्रमुख ध्रुवकुमार काफ्ले बताउँछन्। चालु आर्थिक वर्षको १० महिनामा एक अर्ब ९९ करोड ५५ लाख ९३ हजार रुपैयाँ घरबहाल करबाट संकलन भएको छ। यसलाई दुई अर्ब ६६ करोडको विन्दु कटाउनुपर्ने चुनौती महानगरपालिकालाई छ।
गत आर्थिक वर्ष दुई अर्ब ५६ करोड २१ लाख २१ हजार रुपैयाँ घरबहाल करबापत उठेको महानगरको तथ्यांक छ। त्यसअघिका दुई वर्षमा संकलित घरबहाल कर क्रमशः दुई अर्ब तीन करोड ६४ लाख ८१ हजार र एक अर्ब ६१ करोड पाँच लाख ६४ हजार रुपैयाँ थियो। गत आर्थिक वर्ष त्यसभन्दा अघिल्लो वर्षको तुलनामा घरबहाल करको असुली एक अर्ब ३६ करोड १५ लाख नौ हजार रुपैयाँ बढेको महानगरको तथ्यांकले देखाउँछ।
घरबहालपछि सम्पत्ति कर र व्यवसाय करबाट बढी आम्दानी भइरहेको महानगरको राजस्व विभागका प्रमुख काफ्ले बताउँछन्।
दुई वर्षयता महानगरले घरबहाल व्यवस्था निर्देशिका जारी गरेर घरबहाल करलाई कडाइ गरेको छ। महानगरका धेरै घर बहालमा लगाइएको भए पनि बहालकर तिर्ने घरधनीको संख्या न्यून देखिएकाले त्यसलाई व्यवस्थित गर्न यो निर्देशिका ल्याइएको राजस्व विभाग प्रमुख काफ्ले बताउँछन्। निर्देशिका आएसँगै घरबहाल कर तिर्नेहरू बढ्दै गएका छन्।
पछिल्लो समय भने वाणिज्य क्षेत्रमा देखिएको मन्दीको असर बहाल कर र अन्य दैनिक शुल्कमा परेको काफ्लेले बताए। उनका अनुसार बजारमा आर्थिक मन्दी रहँदा ठूला सपिङ कम्प्लेक्स, मल तथा व्यापारिक भवनबाट शुल्क उठ्न सकिरहेको छैन।
थपिँदैछन् नयाँ करदाता
आन्तरिक आम्दानीको स्रोत बढाउन काठमाडौँ महानगरले विभिन्न क्षेत्रका नयाँ करदातालाई समेट्दै लगेको छ। चालु आर्थिक वर्षको १० महिनामा २६ हजार ७०० करदाता थपिएको महानगरका सहप्रवक्ता दीपक अधिकारी बताउँछन्। “यो संख्याकै अनुपातमा आन्तरिक आय वृद्धि हुने हाम्रो अनुमान छ,” उनले भने।
नयाँ करदातामध्ये साना व्यवसायीका साथै घर बहालमा लगाउने व्यक्तिहरू, बहालमा लिने फर्म, कम्पनी तथा संस्थागत निकायहरू धेरै रहेको सहप्रवक्ता अधिकारीले बताए। अधिकांश साना उद्योगीलाई छुट सुविधा दिएर करको दायरामा ल्याएको महानगरले जनाएको छ। वर्गअनुसार २५ देखि ४० प्रतिशतसम्म कर छुट गराएर धेरैलाई समेट्दै लगिएको राजस्व विभागका प्रमुख काफ्ले बताउँछन्।
“केहीमा ३५ वर्ष उमेरसमूह मुनिका महिलाले सञ्चालन गर्ने उद्योगहरू र अन्य सबैमा जुनसुकै समूहका महिलाले सञ्चालन गरिरहेका उद्योगहरूलाई पनि २५ देखि ४० प्रतिशतसम्म कर छुट गराएका छौँ। यसका साथै बक्यौता रहेको रकममा समेत छुट दिएर करको दायरामा ल्यायौँ। यसले राजस्वमा टेवा पुर्याएको छ,” उनले भने।
विज्ञापन करमा कमी
पछिल्लो समय राजस्व बाँडफाँटबाट आउने विज्ञापन करमा भने कमी आएको महानगरपालिकाले जनाएको छ। अदालतमा यससम्बन्धी मुद्दा विचाराधीन रहेकाले सम्बन्धित शीर्षकमा राजस्व घटेको विभागीय प्रमुख काफ्ले बताउँछन्। सडक तथा सार्वजनिक संरचनामा राखिएका विज्ञापनहरू मापदण्डविपरीत रहेको भन्दै काठमाडौँ महानगरले हटाउने प्रयास गरेको थियो।
विज्ञापनदाताले महानगरको त्यस्तो कदमविरुद्ध अदालतमा मुद्दा दायर गरे। त्यसपछि कर संकलनमा कमी आएको काफ्लेको भनाइ छ। उनका अनुसार अदालतले दिएको संक्षिप्त आदेश विज्ञापनदाताको पक्षमा छ। तर पूर्णपाठ आउन बाँकी छ। काफ्ले भन्छन् “सम्भवतः यही आर्थिक वर्षभित्र समस्याको समाधान भएर बक्यौता रकम पनि असुल गरिसक्छौँ।”
महानगरका अनुसार राजस्व बाँडफाँटबाट प्राप्त हुने विज्ञापन करबापत आर्थिक वर्ष २०७७/७८ मा सात करोड ६४ लाख ९४ हजार र २०७८/७९ मा ६ करोड ८० लाख ५३ हजार रुपैयाँ संकलन भएकोमा २०७९/८० मा घटेर दुई करोड ४६ लाख १४ हजारमा सीमित हुन पुग्यो। चालु आर्थिक वर्षमा त अझ घटेर ५४ लाख पाँच हजारमा खुम्चिएको महानगरको तथ्यांक छ।
यसका अलावा पछिल्लो समय मनोरञ्जन करमा समेत भारी गिरावट आएको महानगरको राजस्व विभागले जनाएको छ।
कतिपय शुल्क नलिएको दाबी
स्थानीय तहले कानूनतः आफूले निर्माण गरेको सडक लगायतका पूर्वाधारबाट सेवा शुल्क लिन सक्छ। तर काठमाडौँ महानगरले त्यस्ता अधिकांश शुल्क नलिएको दाबी गरेको छ। फोहोरको शुल्क महानगरले उठाउँदैन। त्यसको जिम्मेवारी निजी क्षेत्रलाई दिइएकाले घरघरबाट फोहोर उठाएबापत नगरवासीबाट संकलित रकम सम्बन्धित कम्पनी वा व्यवसायीलाई जान्छ।
अहिले उठिरहेको आर्थिक स्रोतले महानगरको नियमित खर्च धानिरहेको हुँदा त्यस्ता सेवाशुल्कहरू नउठाइएको राजस्व विभाग प्रमुख काफ्ले बताउँछन्। आवश्यक परेमा भने यी शीर्षकमा पनि शुल्क उठाइने उनको भनाइ छ।
“नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन लगायतमा पनि महानगरले यी शीर्षकमा शुल्क लिन पाउने व्यवस्था छ। तर अहिले संकलन हुने राजस्वले आर्थिक भार धान्ने हुँदा उठाइएको छैन,” उनले भने। काफ्लेका अनुसार महानगरले वसन्तपुरको हनुमान ढोका, राष्ट्रिय सभा गृह, बालाजु र रत्नपार्कको सडक संरचनाबाहेक अन्य स्थानमा शुल्क लिँदैन।