भारतको राजधानी दिल्लीको तापक्रम बुधबार ५२.३ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। भारतको मौसम विज्ञान विभागका महानिर्देशक मृत्युञ्जय महापात्राले बीबीसीलाई बताएअनुसार यो दिल्लीमा अहिलेसम्मकै उच्च तापक्रम हो।
उत्तर–पश्चिम दिल्लीको मुंगेशपुरमा रहेको भारतीय मौसम विभागको मौसम स्टेसनले दिउँसो साढे दुई बजे करिब ५२.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरेको छ। मंगलबार सोही स्टेसनमा ४० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो। भारतको कुनै पनि भागमा ५२.३ डिग्री सेल्सियसको तापक्रम अहिलेसम्म रेकर्ड गरिएको थिएन।
यहीबीच दिल्ली सरकारका जलमन्त्री आतिशी मर्लेनाले पानी अनावश्यक खर्च गर्नेलाई दुई हजार भारु जरिबाना गर्न निर्देशन दिएकी छन्। उनले जल बोर्डलाई पत्र लेख्दै पानी खेर फाल्नेहरुमाथि नजर राख्न पनि भनेकी छन्।
आतिषीले बिहीबार बिहान ८ बजेदेखि २०० टोली खटाउन भन्दै बोर्डलाई पत्र लेखेकी छन्। गाडी धुने, निर्माण क्षेत्रमा अवैध जडान गरिएको पाइए कारबाही हुने बताएकी छन्।
"पानीको दुरुपयोग रोक्न यो टोली नियुक्त गरिएको हो," आतिषीले भनिन्, "गाडी धुने र ट्यांकी ओभरफ्लो गर्दा पानीको बर्बादी भएमा जरिबाना तिरिनेछ। निर्माण वा व्यापारिक स्थानमा अवैध जडानहरू पनि विच्छेद गरिनेछ।"
आतिशीले चर्को गर्मीमा हरियाणाले दिल्लीको हिस्साको पानी नछोडेको आरोप पनि लगाएकी छन्।