Tuesday, June 25, 2024

-->

जलवायु संकट सामना गर्न हिमाली राष्ट्रसँग सहकार्यको हात बढाउँदै समुद्रतटीय देशहरू

तापक्रम वृद्धिका कारण हिमाल पग्लिँदाको असर समुद्रतटीय देशमा समेत पर्ने भएकाले हिमालको मुद्दामा सहकार्य गर्नुपर्ने आवाज जलवायुको क्षेत्रमा क्रियाशील वैज्ञानिक र सम्बन्धित देशका प्रतिनिधिले उठाएका छन्।

जलवायु संकट सामना गर्न हिमाली राष्ट्रसँग सहकार्यको हात बढाउँदै समुद्रतटीय देशहरू

काठमाडौँ– ‘इन्टरन्यासनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ’की संस्थापक एवं निर्देशक पाम पियर्सन हिमाल, मानिस र जलवायु परिवर्तनका विषयमा काठमाडौँमा भएको विज्ञहरूको अन्तर्राष्ट्रिय छलफलमा सहभागी हुन स्वीडेनदेखि काठमाडौँ आइपुगिन्। 

जेठ ९ र १० गते नेपाल सरकारले काठमाडौँमा आयोजना गरेको उक्त छलफलमा सहभागी हुन आएकी उनी तापक्रम वृद्धिका कारण हिमालहरू पग्लिँदा त्यसको असर समुद्रतटमा पर्ने भएकाले हिमालको मुद्दा हिमाली र समुद्रतटीय देशहरूको साझा अजेन्डा बन्नुपर्ने बताउँछिन्। 

“यो समस्या हिन्दूकुश हिमालयमा मात्र होइन, अमेरिका र क्यानडाको पनि समस्या हो,” उनी भन्छिन्, “अमेरिकाको फ्लोरिडा, टेक्सास लगायतका क्षेत्रमा समुद्री सतह वृद्धि भइरहेको छ। पश्चिम अमेरिका र क्यानडामा सुख्खा छ। अनि त्यहाँबाट हिउँहरू हराइरहेको छ। यो अति कम विकसित र विकसित देशहरूको पनि समस्या हो। यही समस्यालाई साझा अजेन्डा बनाउने प्रयासमा म यहाँ आइपुगेँ।” 

हिमाल पग्लिने विषय हिमाली देशहरूको मात्र नभई समुद्रतटीय देशहरूको पनि समस्या भएकाले त्यस विषयमा बहस चलाउने र हिमालको विषयलाई साझा अजेन्डा बनाउने उद्देश्यअनुरूप विज्ञहरूको छलफलका लागि नेपालसम्म आएको उनी बताउँछिन्। 

नेपालका तर्फबाट आयोजना गरिएको उक्त छलफलमा पर्वतीय र समुद्र तटका २३ देशका प्रतिनिधि एवं विज्ञ गरी १०० जना विदेशी र करिब त्यति नै संख्यामा स्वदेशी गरी २०० जना सहभागी थिए। 

हिउँ पग्लिँदा समुद्रको सतह बढ्न पुग्छ जसले समुद्री किनारहरूको कटान बढाउनुका साथै समुद्रको तापक्रम पनि वृद्धि गराउँछ। त्यसले समुद्री आँधी पैदा गर्छ। तापक्रम वृद्धिले हिउँ पग्लिने क्रम विश्वव्यापी समस्याका रूपमा बढ्दै गएको छ। समुद्री सतह बढ्नुमा ग्रिनल्यान्ड र अन्टार्कटिका महादेशको ठूलो योगदान छ। त्यसबाहेक हिमालय क्षेत्रमा रहेका हिउँ पग्लिएर उत्पन्न हुने बाढी लगायतका प्रकोपको असर उपल्लो र तल्लो दुवै तटीय क्षेत्रका देशहरूमा पर्छ। त्यसको उदाहरण बांग्लादेश हो। हिमाली क्षेत्रमा पग्लिरहेको हिउँ र त्यहाँबाट उत्पन्न बाढीको सबैभन्दा ठूलो असर हिमाल नै नरहेको बांग्लादेशले भोगिरहेको छ। 

छलफलमा भाग लिन आएका बांग्लादेशका वन, वातावरण तथा जलवायुमन्त्री सब्बिर हुसेन खाँ हिमाली क्षेत्रमा परेको जलवायुजन्य प्रकोपको सबैभन्दा ठूलो असर बांग्लादेशले भोग्नु परिरहेको बताउँछन्। “हिमाल स्वस्थ भए भने जलवायु पनि स्वच्छ रहन्छ। उत्तरका हिमाल पग्लिनुको असर दक्षिणको बांग्लादेशले भोग्नुपरेको छ,” उनी भन्छन्, “हिमाल पग्लिने क्रम रोक्न हरितगृह ग्यासको उत्सर्जनलाई रोक्नुपर्छ। उत्सर्जन गर्ने देशहरूले दोहोरो चरित्र रोक्नुपर्‍यो। हामी धेरै ढिला भइसक्यौँ।” 

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल (आइपीसीसी) को रिपोर्ट अनुसार १.५ डिग्री सेल्सियस तापक्रम वृद्धि हुँदा हिमालय क्षेत्र (हिन्दूकुश) को एकतिहाई हिउँ सन् २१०० सम्ममा हराउने प्रक्षेपण गरिएको छ भने ३ डिग्री तापक्रम वृद्धि हुँदा ७५ प्रतिशत हिउँ हराएर जाने छ। हिमाली पर्वत क्षेत्रमा मात्र होइन, हिउँ पग्लिने क्रम ग्रिनल्यान्ड र अन्टार्कटिका महादेशमा पनि उत्तिकै छ। 

सन् २००३ को तुलनामा ग्रिनल्यान्डको बरफ ४ गुणाले हराइसकेको छ। यसले समुद्रको सतह वृद्धिका लागि २० प्रतिशत योगदान गरेको छ। अहिलेकै दरमा उत्सर्जन कायम रहने हो भने यो शताब्दीको अन्त्यसम्म आधा बरफ पग्लिने छ। 

जलवायु परिवर्तनका कारण समुद्री तटका २० देश सबैभन्दा बढी प्रभावित छन्। त्यसमध्ये चीन, अमेरिका, बेलायतका साथै बांग्लादेश, माल्दिभ्स, फिलिपिन्स सहितका टापु देशहरू छन्। 

हिमालको विषयलाई समुद्रतटीय देशले आफ्नो सरोकारको विषय होइन भनेर उम्कन नमिल्ने ‘इन्टरन्यासनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ’ की संस्थापक एवं निर्देशक पियर्सन बताउँछिन्। “दुई भूगोलमा रहेका समुद्रतटीय र हिमाली देशको साझा अजेन्डा हो यो। त्यसकारण जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणको क्षेत्रमा दुई क्षेत्रका देशहरूले सँगसँगै काम गर्नुपर्छ,” उनी भन्छिन्। 

‘इन्टरन्यासनल क्रायोस्फियर क्लाइमेट इनिसिएटिभ’की संस्थापक एवं निर्देशक पाम पियर्सन।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)का जलवायुविज्ञ दीपक केसी बाढी पहिरोजस्ता जलवायुजन्य अतिशय घटनाबाट बच्न पनि समुद्रतटीय देशहरूले ‘सेभ हिमालय’ भन्नुपर्ने बताउँछन्।  

कसले गर्ने नेतृत्व? 
जलवायुमा आएको परिवर्तनले पर्वतीय र समुद्रतटीय देशहरूमध्ये सबैभन्दा बढी प्रभावित एशियाका देश र त्यहाँको जनसंख्या छ। उदाहरणका लागि ध्रुवीय क्षेत्रबाहेक सबैभन्दा बढी बरफ भएको इलाका बर्मादेखि पश्चिम पाकिस्तानसम्म फैलिएको हिमालय पर्वत शृंखला हो। यो क्षेत्र करिब दुई अर्ब मानिसहरूको स्वच्छ पिउने पानीको स्रोतसमेत हो। 

हिमालय पर्वत शृंखलाबाट १० वटा प्रमुख नदीहरू उत्पत्ति भएका छन् जसले त्यहाँको जैविक विविधता, स्वच्छ खानेपानी आदिमा योगदान गरेका छन्। 

वातावरण तथा जलवायु परिवर्तन विज्ञान विभाग अन्तर्गतको न्यासनल इन्स्टिच्युट अफ डिजास्टर म्यानेजमेन्ट भारतका प्राध्यापक डा. अनिलकुमार गुप्ता हिमाली देशहरू पानीको स्रोत र समुद्रतटीय देशहरू पानीको भण्डारण भएको बताउँदै जलवायुमा आएको परिवर्तनले यी दुवै थरी देश प्रभावित भएको बताउँछन्। 

“हिमाली देशहरू पानीका स्रोत हुन्। समुद्रतटीय  देशहरू पानीका रिजर्भ्वायर हुन्। हिमालमा बरफ छ। जब त्यो पग्लिन्छ अनि पानी र नदी बन्छ। पानी पिउन र कृषिका लागि प्रयोग हुन्छ। अन्तमा नदीको माध्यमबाट समुद्रमा जान्छ,” उनी भन्छन्, “जलवायु परिवर्तनका कारणले हिउँ पग्लिने क्रम छिटो छिटो बढिरहेको छ। यो प्रक्रियाले समुद्र र हिमाल दुवै प्रभावित भएका छन्।” 

जलवायु परिवर्तनले हिमाली देशहरू मात्र नभई त्यसको असर तटीय देशमा परिरहेको विषयलाई  अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गराउने उद्देश्यअनुरूप सम्मेलन आयोजना गरिएको नेपाल सरकारको भनाइ छ। प्राध्यापक डा. गुप्ता यो विषयलाई निरन्तररूपमा अघि बढाउनुपर्ने बताउँछन्। उनी भन्छन् “भर्खर शुरूआत भएको छ। यो विषयमा निरन्तर छलफलहरू अघि बढाउनुपर्छ। नभए विषय हराएर जान सक्छ।”

कुनै देश अथवा अर्धसरकारी निकायले त्यसको नेतृत्व लिएर संवादलाई निरन्तरता दिनुपर्ने उनको मत छ। “कुनै पनि देशले यस्ता साझा अजेन्डाका विषयमा पहल लिन सक्छ। छलफल निरन्तर चलाइराख्नुपर्छ,” उनी भन्छन्, “विज्ञान एकदम गाह्रो विषय हो। जनताले विज्ञानको कुरा बुझ्दैनन्। विज्ञानले अप्ठेरो भाषामा सूचना दिन्छ। हामीले त्यसलाई सहजरूपमा बुझ्ने गरी समुदायमा काम गर्नुपर्छ।”


सम्बन्धित सामग्री