Friday, June 14, 2024

-->

खेल पूर्वाधारबाट आत्मविश्वास जुटाइरहेको कर्णाली

प्रदेश संरचनाहरू अपेक्षाअनुसार दौडिन सकेका छैनन्, त्यसमा कर्णाली प्रदेश झन् पछाडि छ। प्रायः विकट भूभागयुक्त यो प्रदेश १०औँ राष्ट्रिय खेलकुदका पूर्वाधार निर्माणबाट आत्मविश्वास आर्जन गर्न जुटिरहेको छ।

खेल पूर्वाधारबाट आत्मविश्वास जुटाइरहेको कर्णाली
१०औँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगरमा १ अर्ब ५९ करोड रुपैयाँ लागतमा बनिरहेको प्रमुख रंगशाला। तस्वीर सौजन्य: सुशील खड्का

सुर्खेत– दुई साताअघि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘अब दौडिनेछ कर्णाली’ नारा दिएर प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिता आयोजना भयो। मुलुक संघीयतामा गएपछि काठमाडौँसँगको निर्भरताबाट केही हदसम्म मुक्त भएको तर अरू प्रदेशजस्तो दौडिइहाल्न नसकेको कर्णालीमा आयोजित यो प्रतियोगिताले सांकेतिक अर्थ बोकेको थियो।

करिब ८०० जनाले भाग लिएको कर्णाली हाफ म्याराथन जित्न तम्सिएका युवा र किशोरकिशोरीलाई केही ‘भेट्रान’ले पछ्याए। कतिपय बालबालिकाले पनि साथ दिए। कर्णाली हाफ म्याराथनको पहिलो संस्करण खासमा कर्णाली प्रदेशमा हुनलागेको १०औँ राष्ट्रिय खेलकुदको माहोल बनाउने प्रयत्न थियो। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यही वर्ष (२०८१ सालमा) कर्णालीमा राष्ट्रिय खेलकुदको १०औँ संस्करण गर्ने निर्णय गरे पनि मिति टुंगो लगाइसकेको छैन। 

राखेपको घोषणाअनुसार यही वर्ष राष्ट्रिय खेलकुद होला र कर्णालीमा नै गरिएला भनेर स्वयं कर्णाली नै निश्चिन्त बनिसकेको छैन। सम्भवतः त्यहीकारण काठमाडौँ (संघीय सरकार) माथि दबाब बनाउन प्रदेश सरकार जुटेको छ। म्याराथन उद्घाटन तथा समापन गर्ने क्रममा मुख्यमन्त्री यामलाल कँडेलले यही विषय उठाए। उनले कर्णालीमा हुनलागेको राष्ट्रिय खेलकुद समयमै सम्पन्न गर्न दबाबस्वरूप हाफ म्याराथन आयोजना भएको आफूले बुझेको उल्लेख गरे। 

आत्मविश्वास पर्खिरहेको कर्णाली
कर्णालीमा प्रदेश सरकार आएको सातौँ वर्ष चलिरहेको छ। यो अवधिमा प्रदेश सरकारहरूले शुरू गरेका उदाहरणीय परियोजना सायदै सुनिन्छन्। धेरैजसो संघीय सरकारले अघि बढाएका कार्यक्रमकै निरन्तरता प्रदेशमा देखिन्छ। ‘प्रदेश सरकार आएपछि के भयो’ भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर प्रदेश सरकारहरूसँग छैन। यसमा कयौँ विषयसँगै आत्मविश्वास पनि जोडिएको छ। अहिले त्यही आत्मविश्वास आर्जन गर्न जुटेको छ कर्णाली।

राष्ट्रिय खेलकुदको सफल आयोजना त्यो आत्मविश्वास आर्जन गर्ने कडी हो। त्यसका लागि तयार पार्नुपर्नेछ खेल पूर्वाधार। अहिले वीरेन्द्रनगरमा १ अर्ब ५९ करोड लागतको अत्याधुनिक रंगशाला लगभग तयार हुनेक्रममा छ। यसलाई कर्णाली प्रदेश सरकारले आफ्नो पहिलो ‘गौरवको आयोजना’ घोषणा गरेको छ। 

२०७९ कात्तिक २ गते पोखरामा नवौँ राष्ट्रिय खेलकुद समापन गर्ने क्रममा बसेको राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले २०८१ सालमा कर्णालीमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो। त्यसबेला दशौँ राष्ट्रिय खेलकुदको प्रस्तावित मिति २०८१ मंसिर २–९ तय गरिएको थियो। कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्याल पोखराबाट १०औँ राष्ट्रिय खेलकुदको झण्डा लिएर आउँदा ‘कर्णालीमा पूर्वाधार छैन, त्यसकारण १०औँ राष्ट्रिय खेलकुद हुनसक्दैन’ भन्ने चुनौती तेस्र्याइएको तर कर्णालीले यसलाई महत्वपूर्ण अवसरका रूपमा लिएको बताउँछन्। 

कर्णालीमा नरहेका खेल पूर्वाधारकै कारण त्यस्तो टिप्पणी गरिएको तर कर्णालीले पूर्वाधारलाई नै अवसर बनाउने जमर्को गरेको सञ्ज्याल बताउँछन्। “१०औँ राष्ट्रिय खेलकुदको पूर्वाधार बनाउने विषयलाई प्रदेश सरकारले आफ्नो गौरवको आयोजना घोषणा गरेर त्यहीअनुसार बजेट विनियोजन गरेपछि पूर्वाधार निर्माणले तीव्रता लियो,” उनले भने, “पूर्वाधारका हिसाबले हामी अब राष्ट्रिय खेलकुद गर्न सक्ने ठाउँमा पुग्यौँ।”

१०औँ राष्ट्रिय खेलकुदका लागि भनेर प्रदेश सरकारले निर्माण गरिरहेको रंगशाला देशभर रहेकामध्ये आधुनिक हुनेछ। यसको ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको छ। राष्ट्रिय खेलकुद उद्घाटन र समापन दुवै हुने रंगशाला १० हजार दर्शक क्षमताको छ।

रंगशालामा सिन्थेटिक ट्रयाक निर्माण भइरहेको छ। यो ट्रयाक अन्तर्राष्ट्रिय मापदण्डअनुसारको छ। रंगशालासँगै पौडीका लागि स्विमिङ पुल बनिरहेको छ। त्यसकै छेउमा ठूलो कभर्ड हल पनि बन्दैछ जहाँ भलिबलदेखि प्रायः सबैखाले ‘इन्डोर गेम’ सञ्चालन गर्न सकिनेछ। मार्चपासका लागि अर्को कभर्डहल बनिसकेको छ। त्यसबाहेक ह्याण्डबल, बास्केटबल, भलिबल खेल्ने ‘आउटडोर कोर्ट’ पनि निर्माण भइसकेका छन्। नौ विघा क्षेत्रफल ओगटेको रंगशालामा एकैपटक १६ वटा खेल खेलाउन मिल्छ। 

१०औँ राष्ट्रिय खेलकुद सकिएपछि पनि रंगशाला सञ्चालन गराइराख्न आर्थिक स्रोत जोहोका लागि भाडामा दिइने शटरहरू निर्माण गरिएको छ।
यो रंगशालाकै छेउमा क्रिकेट मैदान बनिरहेको छ र त्यसको छेउमा कबड्डी मैदान निर्माणाधीन छ। अलि पर, कालिन्चोकमा अर्को क्रिकेट मैदानको निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसको छेउमै रग्बी मैदान (जहाँ फुटबल पनि खेलाइनेछ) बनिरहेको छ। अहिलेसम्म राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटका दुई मैदान नरहे पनि कर्णालीले महिला र पुरुषका लागि अलग–अलग मैदान तयार पारिरहेको सदस्यसचिव सञ्ज्याल बताउँछन्।

“हामीले यो प्रतियोगिता हेरेर मात्र होइन कर्णालीको क्रिकेट विकासलाई हेरेर मैदान बनाएका छौँ,” सञ्ज्यालले भने, “कर्णालीको जुनियर क्रिकेट टिम असाध्यै सम्भावनायुक्त छ, थुप्रै प्रतियोगितामा फाइनल यात्रा गरिसकेको छ। एउटा मैदान नहुँदै यस्तो छ भने दुई वटा (महिला र पुरुष खेलाडीलाई अलग–अलग) मैदान भए परिदृष्य बेग्लै हुनेछ।”

निर्माणाधीन क्रिकेट मैदान।

चिसापानीमा फुटबलको ‘ब्याकअप’ मैदान बनिरहेको छ भने सुर्खेत उपत्यकाभित्र रहेका केही स्कुलका मैदान राष्ट्रिय खेलकुदकै लागि स्तरोन्नति गरिँदैछ। सुर्खेतबाहेक जनसंख्यालाई ध्यानमा राखेर अरू जिल्लामा पनि केही पूर्वाधार निर्माण भइरहेको तर राष्ट्रिय खेलकुद परिषद् बोर्डले निर्णय गर्न बाँकी रहेकाले सुर्खेतबाहिर भने धेरै काम नभएको सञ्ज्यालको भनाइ छ।

केही खेलका पूर्वाधार निकै खर्चिला हुने, प्रतियोगितापछि उपयोगमा नआउने वा टिकाउन कठिन हुने भएकाले यसअघिका प्रतियोगिताझैँ ती खेल काठमाडौँ वा सुविधासम्पन्न ठाउँमै खेलाउने तयारी छ। जस्तो, पोखरामा नवौँ राष्ट्रिय खेलकुद हुँदा शुटिङका प्रतिस्पर्धा काठमाडौँमा भएका थिए। कर्णालीका लागि काठमाडौँ या नजिकैको नेपालगञ्जमा रहेको शुटिङको सुविधासम्पन्न हल प्रयोग गर्ने अवसर छ। 

अर्को हो, गल्फ। कर्णालीले यसका लागि तयारी गरेको छैन। आर्चरीका निम्ति ठाउँ अभाव नभए पनि स्तर कायम राख्न पोखराकै पूर्वाधार प्रयोग गर्ने तयारी छ। “मैले छैटौँ राष्ट्रिय खेलकुदयता सबै प्रतियोगिता हेरेको छु, पूर्वाधारका कारणले १०औँ राष्ट्रिय खेलकुद अब पछाडि सर्ने कारण मैले देखेको छैन। हामीले राष्ट्रिय प्रतियोगिता गर्ने पूर्वाधार बनाइसकेका छौँ,” सञ्ज्यालले भने, “अहिलेसम्म मिति (महिना र गते) पहिल्यै तोकेर एउटै संस्करण भएको छैन। यसपालि त्यो अवसर छ। त्यसका लागि आजैदेखि मिति घोषण गरेर, बजेट विनियोजन गरेर काम शुरू गर्न म राष्ट्रिय खेलकुद परिषद् र संघीय सरकारलाई आग्रह गर्छु।”

तर ढुक्क छैन कर्णाली
कर्णालीमा प्रदेश सरकारका मन्त्रीहरू मात्र होइन, दलका नेता–कार्यकर्तादेखि समाजका विभिन्न तप्काका व्यक्तिसमेत १०औँ राष्ट्रिय खेलकुद कर्णालीलाई चिनाउने सुनौलो अवसर भएको बताउँछन्। तर प्रतियोगिता कर्णालीमा हुन्छ कि हुँदैन, भए पनि समयमै हुन्छ कि हुँदैन भन्ने दुविधा धेरैलाई छ। मुख्यमन्त्री यामलाल कँडेल नै यस्तो अन्योलमा देखिए। 

“हामीले प्रदेशको तर्फबाट गर्नुपर्ने सबै काम गरे पनि राष्ट्रिय खेलकुदको आयोजना अन्ततः संघीय सरकारले गर्ने हो, मलाई किन किन अहिले पनि यो प्रतियोगिता टार्ने प्रयास भइरहे झैँ लाग्छ,” कँडेलले उकालोसँग भने, “तर हामी त्यसो हुन दिदैनौँ। हाम्रो तर्फबाट हुनुपर्ने कुनै पहल बाँकी राख्दैनौँ। तैपनि संघीय सरकारले गर्ने काममा त हामी दबाबबाहेक के नै गर्न सक्छौँ र?”

२०३८ सालदेखि हुनथालेको राष्ट्रिय खेलकुद ४३ वर्षपछि पहिलोपटक कर्णालीमा हुन लागको हो। जतिबेला राष्ट्रिय खेलकुदको अवधारणा शुरू भयो, त्यतिबेला सम्भवतः हरेक दुई वर्षमा फरक अञ्चलमा प्रतियोगिता आयोजना गर्दा २८ वर्षमा सबै अञ्चलले अवसर पाउने, त्यसो हुँदा सबैमा खेल पूर्वाधार तयार हुने आकलन गरिएको थियो। तर ‘खेल राजनीति’को मारमा पर्दा ४३ वर्षपछि बल्ल कर्णालीले (त्यसबेलाको अञ्चल, अहिलेको प्रदेश) आयोजनाको अवसर पाउँदैछ।

राष्ट्रिय खेलकुद समयमै गर्न दबाब बढाउनका लागि कर्णाली हाफ म्याराथन आयोजना गर्ने रेस नेपालका अध्यक्ष टीएस ठकुरी भन्छन्, “अरूका लागि सामान्य होला, कर्णालीका लागि राष्ट्रिय खेलकुद आयोजना निकै लामो प्रतीक्षापछि जुरेको अवसर हो। यो अवसर नफुत्कियोस्, समयमै प्रतियोगिता होस् भनेर दबाब दिन हामीले यसपालि कर्णालीमै हाफ म्याराथन शुरू गरेका हौँ।”


सम्बन्धित सामग्री