काठमाडौँ– २०७४ जेठ १४ गते राति साढे ११ बजे भरतपुर महानगरपालिकाको मतगणनास्थलमा एकाएक तनाव सिर्जना भयो। आजभन्दा ठीक सात वर्ष अघिको घटना हो यो। त्यतिबेला वडा नम्बर १९ को मतगणना चल्दै थियो। महानगरका २९ वटा वडामध्ये वडा नम्बर १९ र २० बाहेक बाँकी सबै क्षेत्रको गणना सकिइसकेको थियो। नतिजा आउने समय नजिकिँदै थियो।
रात छिप्पिँदै जाँदा प्रहरीको संख्या थपेर सुरक्षा व्यवस्था कडा बनाइएको थियो। तर मध्यरातमा माओवादीका प्रतिनिधि मधु न्यौपाने र द्रोणबाबु शिवाकोटी अचानक मत गनिरहेको ठाउँमा हामफाले। सुरक्षाकर्मीको प्रवाह नगरी दुवै जनाले धमाधम मतपत्र च्यात्न थाले। केही मतपत्र उनीहरूले मुखमा राखेर चपाएका थिए।
त्यहाँका मुख्य निर्वाचन अधिकृत थिए– चितवनका तत्कालीन जिल्ला न्यायाधीश कविप्रसाद न्यौपाने। उनले तत्काल पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको बताए। घटनाको सत्यतथ्य छानबिन गर्न समिति बनाउने र समितिको प्रतिवेदनअनुसार आफूहरू अघि बढ्ने समेत उनको प्रतिक्रिया थियो। उनले थपे, “म पिसाब फेर्न गएको बेला केही व्यक्तिहरू अनधिकृत रूपले जबर्जस्ती छिरेर मतपत्र च्याते।” (अनलाइनखबर, २०७४ जेठ १५)।
त्यहाँ तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापा (हाल एआईजी) खटिएका थिए। मतगणनास्थलमा उम्मेदवारको प्रतिनिधिका रूपमा खटिएका एक प्रत्यक्षदर्शीले बताएअनुसार माओवादी कार्यकर्ताद्वय न्यौपाने र शिवाकोटीले केही मतपत्रमा मात्र क्षति पुर्याएका थिए। तर गणना गर्न तयार पारिएका मतपत्रको खातमाथि टेकेर एसपी थापा स्वयं उफ्रँदा थप मतपत्र पनि नष्ट हुन पुगेको उनले बताए।
त्यसको केही क्षणमै प्रहरीले न्यौपाने र शिवाकोटीलाई गिरफ्तार गर्यो। उनीहरूविरुद्ध निर्वाचन कसुर ऐनअन्तर्गत मुद्दा दर्ता गरियो। तर जेठ १८ मा चितवन जिल्ला अदालतले उनीहरूलाई एक–एक लाख धरौटीमा छाडिदियो।
कांग्रेसको समेत समर्थनमा माओवादीबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवालीको कडा प्रतिष्पर्धा चलिरहेको थियो। मतपत्र च्यातिएपछि दुवैले सञ्चारमाध्यमलाई एकैखालको प्रतिक्रिया दिए– आफूले जित्न लागेपछि आत्तिएर विपक्षीले मतपत्र च्याते।
दाहालको दाबी धेरै समय टिकेन। मतपत्र च्यात्ने उनकै प्रतिनिधि थिए।
एक लाख ५१ हजार ६४१ मतदाता रहेको भरतपुरमा वैशाख ३१ मा चुनाव भएको थियो। २९ वटा वडाका ६१ केन्द्रमा मतदान चल्यो। आयोगका अनुसार यहाँ त्यसबेला एक लाख १२ हजार ७४१ मत खसेको थियो।
जेठ १ गते दिउँसोदेखि मतगणना शुरू भयो। दुई उम्मेदवारको टक्कर परिरहेको थियो। कहिले दाहालले, कहिले ज्ञवालीले अग्रता लिन्थे। जेठ १ गते दिउँसोको मत परिणाममा ज्ञवालीको २४६ मत हुँदा दाहालको ११३ मत मात्र थियो। २ गते बिहान दाहालले ४५१ मत पाएकी थिइन् भने ज्ञवालीले ४३१ मत पाएका थिए। तर पछि ज्ञवालीले आफ्नो मत र मतान्तर बढाउँदै लगे। ८ गते बिहान दाहालभन्दा ज्ञवाली दुई हजार १७६ मतले अगाडि थिए।
१४ गते बिहान वडा नम्बर १८ को मतगणना सकियो। त्यतिबेलासम्म ज्ञवालीले ३९ हजार ५८५ र दाहालले ३८ हजार ३६६ मत पाएका थिए। अर्थात् ज्ञवाली दाहालभन्दा १२ सय १९ मतले अघि थिए।
मतपत्र च्यात्ने बेलासम्म १९ नम्बरको एक हजार ८०० मतगणना सकिएको थियो। त्यतिबेला दाहालभन्दा ज्ञवाली अझै ७३३ मतले अगडि थिए। ज्ञवालीको ४१ हजार ६४१ र दाहालको ४० हजार ९०८ मत रहेको थियो।
यही मतान्तर कायम रहे आफूहरूले जित्नेमा एमाले कार्यकर्ता लगभग ढुक्क थिए। किनभने ज्ञवालीले निरन्तर अग्रता लिइरहेका थिए। मतान्तर पनि कमजोर थिएन। त्यसमाथि दाहालले कांग्रेसको बलियो पकड मानिएका वडामा समेत सोचेअनुसार अग्रता लिन सकेकी थिइनन्। (कान्तिपुर, ०७४ जेठ १६)
दाहाललाई संकट थियो। उनले नतिजा आफ्नो पक्षमा ल्याउन वडा नम्बर १९ मा मतान्तर घटाएर वडा नम्बर २० मा अग्रता लिनुपर्थ्यो। वडा नम्बर १९ सम्म आइपुग्दा अलिकति मतान्तर घटाएकी थिइन्, तर जितका लागि त्यो पर्याप्त थिएन। त्यसपछि माओवादी कार्यकर्ताले मतपत्र च्यात्न उपयुक्त ठाने। मुख्य निर्वाचन अधिकृतको कार्यालयले तयार पारेको प्रतिवेदनअनुसार उनीहरूले ९० वटा मतपत्र च्यातेका थिए।
यो निर्वाचन दुवै पक्षका लागि प्रतिष्ठाको लडाइँ थियो। कतिसम्म भने भरतपुरमा कांग्रेसले मेयरको उम्मेदवारीबाट नाम फिर्ता मात्र लिएन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा एउटै हवाइजहाज चढेर रेणु दाहाललाई भोट माग्न पुगे। त्यस्तै, ज्ञवालीको पक्षमा भोट माग्न पार्टी अध्यक्ष केपी शर्मा ओली नै पुगेका थिए। दुवैले एकअर्काको आलोचना गर्दै आफ्ना उम्मेदवारलाई भोट दिन आग्रह गरे। दुवै पक्ष जित्न चाहन्थे।
मतपत्र च्यातिएको ६ दिनपछि बसेको निर्वाचन आयोगको बैठकले मतगणनास्थल ‘कब्जा’ भएको ठहर गर्दै वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गर्यो। तर यो निर्णयविरुद्ध २१ गते सर्वोच्च अदालतमा मुद्दा दर्ता भयो।
साउन १५ गते सर्वोच्च अदालतले पुनः मतदान गर्नू भन्ने आदेश दिएसँगै साउन २० गते वडा नम्बर १९ मा पुनः मतदान भयो। त्यसअघि दुई हजार ८९७ मत खसेकोमा यस पटक दुई हजार ८७० अर्थात् २७ मत कम खस्यो।
सोही दिन राति ११ः२० बजेदेखि मतगणना शुरू भयो। यसपटक सुरक्षा व्यवस्था कडा पारिएको थियो। मतगणना स्थलमा तीन र बाहिर दुई वटा सीसीटीभी क्यामरा जडान गरिएको थियो। पर्याप्त हातहतियारधारी प्रहरी तैनाथ थिए।
१९ नम्बर वडाको मतगणना हुनुअघिसम्म दाहाल ७८६ मतान्तरले पछाडि थिइन्। तर यस वडामा उनले मतान्तर कम गर्दै २२१ मा झारिन्। ज्ञवालीको ४१ हजार ९४६ मत थियो भने दाहालको ४१ हजार ७२५ मत थियो।
दोस्रो पटकको मतदानमा ज्ञवालीले आफ्नै वडाध्यक्षको जति मत पनि पाउन सकेनन्। यहाँका वडाध्यक्ष थिए– प्रकाश तामाङ। एमालेका उम्मेदवार तामाङले १०९७ मत पाएका थिए। जबकि यही वडाबाट ज्ञवालीले ९६६ मत मात्र पाए।
अन्तिममा गणना हुने वडा नम्बर २० निर्णायक थियो जहाँ तीन हजार ३०२ मत खसेको थियो।
१९ नम्बर वडामा मतान्तर घटाउँदै लगेकी दाहालले २० मा पनि आफ्नो मत बढाउँदै लगिन्। वडा नम्बर २० मा १६ सय मत गनिसक्दा ज्ञवालीको अग्रता जम्मा ४ मा झरेको थियो। वडा नम्बर २० को दुई हजार मत गणना हुँदा दाहाल ज्ञवालीभन्दा ५७ मतले अघि बढिन्।
अन्ततः २०३ मतान्तरका साथ दाहाल विजयी भइन्। उनले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत ल्याए।
त्यतिबेला पराजय व्यहोरेको भए दाहालको राजनीति दुई तरिकाले अघि बढ्ने अनुमान लगाउँछन्, राजनीतिक विश्लेषक कृष्ण पोखरेल। एक, उनको राजनीतिक करिअर समाप्त हुन सक्थ्यो। दुई, उनले राजनीतिमा थप उचाइ पनि लिन सक्थिन्।
राजनीतिमा ‘यदि’ र ‘तर’ को कुनै गुञ्जायस नहुने भएकाले दाहालको राजनीति के हुन्थ्यो भनेर अनुमान लगाउन नसकिने उनको टिप्पणी छ। उनी भन्छन्, “युद्धमा लडेको र पहुँच पनि भएकाले राजनीतिमा गुमनाम हुने भन्दा पनि थप उचाइ पाउँथिन् कि!”
२०७४ को चुनाव जुन हिसाबले जितेको भए पनि दाहालले चितवनमा आफ्नो पदलाई न्याय गरेको बताउँछन्, पोखरेल। “उनलाई जिताउन केही तलमाथि भए होलान्। सबै यथार्थ त मलाई अहिले सम्झना छैन,” उनी भन्छन्, “तर उनले त्यो पदमा गएर आफ्नो क्षमता देखाइन्। कामको हिसाबले उनले आफूलाई प्रमाणित गरेको देखिन्छ। त्यसैकारण २०७९ को निर्वाचनमा पनि ठूलो मतान्तरले जितिन्।”
२०७९ मा भएको निर्वाचनमा दाहाल पुनः महानगरको मेयर निर्वाचित भइन्। उनले ५२ हजार ३० मत ल्याएकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत पाएका थिए।
इतिहासको कालो धब्बाः देवी ज्ञवाली
त्यो घटना लोकतान्त्रिक र निर्वाचन इतिहासको एउटा कालो धब्बा हो। त्यसलाई मैले एउटा कलंकको दिनको रूपमा हेरेको छु। त्यसदिन म निर्वाचनको मतगणनास्थलमै थिएँ। मतगणना अघि बढिसकेपछि मैले अग्रता कायम राखेँ। एउटा पछि अर्को वडाको मत गणना भइरहँदा पनि उहाँहरूले मत बढाउन सक्नुभएन।
उहाँहरू अब हामी हार्छौं भन्ने निष्कर्षमा पुग्नुभयो। त्यसपछि बाँदरजसरी झम्टिएर मतगणना भइरहेको ठाउँमा पुग्नुभयो र मतपत्र च्यात्न थाल्नुभयो। उहाँहरूले मतपत्र ध्वस्त पार्नुभयो। त्यतिबेला मैले जित्ने पक्का थियो, किनभने म राम्रो मतान्तरसहित अग्र स्थानमा थिएँ।