Tuesday, June 18, 2024

-->

दोदा बगरमा तरकारखेती लगाएर ५०० परिवारको गुजारा

दोदा नदीमा करिब ५०० भन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ।

दोदा बगरमा तरकारखेती लगाएर ५०० परिवारको गुजारा

वेदकोट– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँगाजाईकी मन्तोरा रानाको दुई बिगाहा जमिनमध्ये पाँच कट्ठामात्र बाँकी छ। एक बिगाहा १० कट्ठा दोदा नदीले कटान गरेर बगरमा परिणत गरेको छ।

रानाको परिवारका सदस्यले दोदाकै बगरमा तरकारीखेती गर्दै आएका छन्। बगरमा उत्पादित तरकारी बिक्री गरेर उनीहरू घरखर्च जुटाउँछन्। “दोदाले सबै जमिन लग्यो। अहिले बगरमा खेती गर्छु। शुरूमा घरपरिवारका लागि मात्र खेती गर्थेँ,” उनले भनिन्, “आम्दानी हुन थालेपछि व्यावसायिक रूपमा तरकारीखेतीमा लाग्यौँ। सिजनमा दुई लाख रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको छ।” उनका श्रीमान् गोरुगाडामा तरकारी राखेर बेच्न गाउँगाउँ डुल्छन्। 

दोदामा उर्लेर आउने बाढीले कैयौँ बिघा जमिन बगर बनाएर यहाँका स्थानीय विस्थापित हुनुपरेको छ। बर्सेनि कटान र डुबान समस्या झेल्ने तटीय क्षेत्रका स्थानीय गर्मीयाममा लहरेबाली लगाएर आम्दानी गर्ने गरेका छन्। डाँगाजाईंका ४८ वर्षीय मोलसिंह रानाले डेढ दशकअघिको दोदा नदीमा आएको बाढी बिर्सिएका छैनन्। त्यस बेला बाढीले उनको करिब तीन बिगाहा जमिन बगायो। दोदाको कटान अझै रोकिएको छैन। प्रत्येक वर्ष आउने बाढीले जमिन कटान गरिरहेको छ। मोलसिंह भन्छन्, “बर्खामा दोदाले दिने दुःख भुलेर यो सिजनमा बगरमा खेती गरेर घरखर्च धानिएको छ।”

डाँगाजाईँका किसान नन्दराम रानाले दोदाको बगरमा तरकारीखेती गर्न थालेको दशक बितिसक्यो। २०६४ सालमा आएको बाढीले खेतीयोग्य जमिन बगर बनाएपछि त्यहीँ बगरमा तरकारीखेती गर्दै आएको उनी बताउँछन्। “बर्खामा दोदाको बाढीले सास्ती गर्छ,” उनले भने, “बर्खामा बाढी आउँदा कोही नदी तर्न सक्दैन। उठीबास लगाएको दोदामै दुःख बिर्सिएर जीविकोपार्जनको आशमा खेती गरेका छौँ।”

दोदा नदीमा करिब ५०० भन्दा बढी परिवारले बगरखेती गरेका छन्। बगरमा तरभुजा, काँक्रा, लौका, फर्सीलगायत खेती गरिएको छ। माघदेखि बगरमा खेतीका लागि तयारी गर्ने गरिन्छ। चैत अन्तिम साता बाली तयार भएपछि बिक्री गर्ने गरिएको घुम्नी रानाले बताइन्। “वर्षौंदेखि बगरमा खेती गर्दै आएका छौँ। माघदेखि जेठसम्म बगरमा खेती गर्छौँ, अरू समयमा मजदुरी,” उनले भनिन्, “जंगली जनावर र चोरीबाट उत्पादन जोगाउन बगरमा बनाइएको छाप्रोमा बास बस्ने गरेका छौँ।”


सम्बन्धित सामग्री