काठमाडौँ– ‘जे गर जसो गर जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो...।’
सांगीतिक ब्यान्ड ‘१९७४ एडी’को चर्चित यो गीत परदेसिएका नेपालीहरूमा अझै बढी मेल खान्छ। रोजगारी, अध्ययन तथा अन्य विभिन्न उद्देश्यले परदेसिनेहरू पनि गन्तव्य देशमा आफ्नोपन खोज्छन्। एक्लोपन दूर गर्न होस् या सामाजिक आवश्यकताले डोर्याएर, भेटघाट हुन्छ, घुलमिल भइन्छ र गठन हुन्छन्, विभिन्न समूह/समाज।
खाडी मलेसिया लगायतका एशियाली देश हुन् या अमेरिका, युरोप। नेपालीहरूले ठाउँ–ठाउँमा विभिन्न समूह/समाज गठन गरेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) बाहेक त्यसरी गठन भएका समाजले पनि गन्तव्य देशमा मात्रै नभएर स्वदेशमा पनि आपद्विपद्मा परेका नेपालीलाई सहयोग गर्ने गरेका छन्। महामारी या भूकम्पजस्ता प्राकृतिक विपत्तिका बेला उनीहरूले देशको लागि आर्थिक सहयोग जुटाएका थिए।
यस्ता समाज विभिन्न नाममा गठन हुने गरेका छन्। जातीय आधारमा गुरुङ समाज, मगर समाज, ठकुरी समाज आदि छन्। प्रदेशका आधारमा सुदूरपश्चिमेली समाज, बागमती समाज इत्यादि बनेका छन्। यीबाहेक जिल्ला, धर्म, पेसा लगायतका नाममा पनि अनेक समाज गठन भएका छन्। राजनीतिक पार्टीका संगठनहरू पनि सक्रिय छन्।
पछिल्लो समय मलेसिया, यूएईलगायत देशमा त्रिश्चियन नेपाली समाज स्थापना भइरहेका छन्। यूएईको सारजहामा अवस्थित गुड सेफर्ड नेपाली चर्च होस् या मलेसियाको कजंगमा रहेको नेपाली चर्च, प्रत्येक शनिबार त्यहाँ रेहका क्रिस्चियन धर्म मान्ने सयौँ नेपालीहरू भेला भएर पार्थना गर्छन्। विभिन्न कार्यक्रम सञ्चालन गर्छन्।
गन्तव्य देशमा समस्यामा परेका नेपालीको उद्धार गर्न होस् या साहित्यिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रम आयोजना गर्नेलगायत कार्यका लागि विदेशमा नेपालीहरूले विभिन्न समाज गठन गर्ने गरेको बताउँछन् क्रोएसियास्थित सुदूरपश्चिमेली नेपाली समाजका संस्थापक तथा पूर्वअध्यक्ष डोटीका टीका शर्मा। उनी भन्छन्, “क्रोसियामा मात्रै एनआरएनए बाहेक ८/१० वटा विभिन्न समाज छन्।”
त्यस्तै, विगत एक दशकभन्दा लामो अवधिदेखि यूएईमा बस्दै आएका र पछिल्लो समय आफ्नै व्यवसाय (घान्तुत रेस्टुरेन्ट) सञ्चालन गरिरहेका जे सागर यूएईमा मात्रै १०० को हाराहारीमा नेपाली समाज तथा संघसंस्था रहेको बताउँछन्।
यूईमा हुने साहित्यिक तथा सांस्कृति कार्यक्रममा पनि सक्रिय सागर भन्छन्, “चाहे यूएई होस् या जहाँसुकै होस्, क्षेत्रीय, जातीय राजनीतिक संस्थाले व्यक्तिलाई आफ्नो उद्देश्यअनुसार जोड्ने गर्छ। यूएईमा मात्रै झन्डै १०० यस्ता नेपाली समाजहरू रहेका छन्।”
विगत सात वर्षदेखि कतारमा कार्यरत सानु थपलिया पनि त्यहाँ सक्रिय नेपाली साहित्यिक समाजसँग आबद्ध छन्। कतारमा आयोजना हुने साहित्यिक कार्यक्रमले त्यहाँ रहेका नेपालीहरूलाई जोड्न सहज भएको उनको अनुभव छ।
“कतारमा प्रदेश समन्वय संस्थाहरू छन्, जिल्ला समाजहरू छन्। जिल्लामा परेका विभिन्न समस्यामा सहयोग गर्ने गरेका छन्। जातीय संस्थाहरूले जातीय पहिचानसँग सम्बन्धित काम गर्छन्,” उनी भन्छन्, “यस्तै, साहित्यिक समाजले साहित्यिक कार्यक्रम आयोजना गर्छन्, यसले कतारका कुना–कुनासम्म रहेका नेपालीलाई पनि भेटघाट तथा चिनजान हुने अवसर मिलेको छ।”
उद्धार तथा सहयोगमा सक्रिय
गत हप्ता तमु समाज यूकेले पर्वतको साङाक दोर्जे छोयलिङ गुम्बालाई सात लाख ७० हजार ५०० रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो। गुम्बाका संरचना निर्माण तथा व्यवस्थापनका लागि उक्त रकम हस्तान्तरण गरिएको तमु समाज यूकेले जनाएको छ।
गोरखा सेवा समाज कतारले बकर इदको अवसरमा आउँदो जुन १७ गते त्यहाँ सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेको छ। मानव सेवा आश्रम गोरखा शाखाको नयाँ बन्दै गरेको निर्माणाधीन भवनको सहयोगार्थ कार्यक्रमको आयोजना गर्न लागेको गोरखा सेवा समाजका महासचिव अर्जुन संग्रौलाले बताए। “खेम सेन्चुरी, समीक्षा अधिकारीलगायत चर्चित कलाकारलाई बोलाएका छौँ, टिकटबाट संकलन भएको रकम मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गर्नेर्छौं,” उनले भने।
विश्वका विभिन्न देशमा छरिएका नेपाली समाजहरूले गरेका यस्ता क्रियाकलाप गनेर नसकिने छन्। युरोपका अधिकांश देशमा त नेपाली दूतावास नै छैनन्। तर रोजगारीमा जानेहरूको संख्या बढिरहेको छ। यस्तोमा कोही नेपाली समस्यामा पर्दा गुहार्ने भनेकै एनआरएनए तथा त्यहाँ रहेका विभिन्न नेपाली समाजहरू नै हुन्।
अप्रिल २१ तारिखदेखि रोमानियामा सम्पर्कविहीन भएका रोल्पाका कमन पुन मगरलाई खोज्न पनि त्यहाँका नेपाली समाजले धेरै प्रयास गरे। अन्तमा मानसिक सन्तुलन गुमाएको अवस्थामा त्यहाँको अस्पतालमा फेला परेका उनलाई मगर समाज रोमानियाले गत बुधबार नेपाल पठाउन सहयोग गर्यो।
गत जनवरीमा दार्चुलाका मनिसिंह डडालको क्रोसियामा मृत्यु भयो। काम गर्ने क्रममा चार मिटर माथिबाट खस्दा टाउकोमा गम्भीर चोट लागेपछि अस्पताल भर्ना गरिएका उनले उपचारकै क्रममा ज्यान गुमाए। त्यसपछि पारिवारिक अवस्था कमजोर भएको उनको परिवारलाई सहयोग गर्न जुट्यो सुदूरपश्चिमेली नेपाली समाज, क्रोएसिया। एक महिनामा पाँच हजार ५९९ युरो (आठ लाख १२ हजार रुपैयाँ) संकलन गरेर डडालको परिवारलाई हस्तान्तरण गर्यो। यति मात्र नभएर उक्त समाजले डडाल कार्यरत कम्पनीलाई दबाब दिएर उनको परिवारलाई ३० हजार युरो क्षतिपूर्ति भराउनसमेत सफल भयो।
बिथोलिएको प्रवृत्ति
दार्चुलाका डडाललाई आर्थिक सहयोग जुटाउने क्रममा सुदूरपश्चिमेली नेपाली समाज, क्रोएसियाका अध्यक्ष थिए टिका शर्मा। क्रोएसिया लगायत इटाली, यूएईसहित विभिन्न देशमा सुसी सेफको पहिचान बनाएका शर्माले क्रोएसियामा गौरा पर्व आयोजना गर्ने क्रममा गत वर्ष उनकै नेतृत्वमा सुदूरपश्चिमेली समाज गठन भएको थियो।
तर अहिले उनी आफै त्यसमा आबद्ध छैनन्। उनी भन्छन्, “सहयोग गर्नको लागि कुनै समाजमा आबद्ध भइरहन आवश्यक छैन जस्तो लाग्छ मलाई, सहयोग त निस्वार्थ भावले गर्ने कुरा हो, त्यो त कुनै संघसंस्थामा आबद्ध नभएर पनि गर्न सकियो नि।”
उनका अनुसार एउटा पक्षले गर्न खोजे अर्कोले खुट्टा तान्ने, असहयोग गर्ने प्रवृति एकतर्फ छ भने सहयोगको नाममा ‘रमाइलो’ गर्ने प्रवृत्ति झन् डरलाग्दो छ।
“निस्वार्थ भावले सहयोग गर्नुपर्छ भन्ने साथीहरू पनि छन्, तर खुट्टा तान्ने र देखावटी गर्ने प्रवृत्ति धेरै भयो। दिनमा एउटा सल्लाह गर्ने, राति अर्कै हुन थाल्यो,” उनले गुनासो गरे, “रक्सी पार्टी गरेका बिल सम्बन्धित समाजको नाममा काट्छन्। समाजको लागि उठेको पैसा कहाँ गयो भनेर खोज्दा रक्सी खाएर सकियो भन्दा कति पीडा हुन्छ?”
‘नेपाली इन क्रोएसिया’ फेसबुक ग्रुपमा एक जना लेख्छन्, “हैन यहाँ क्रोएसियामा नेपालीले आयोजना गर्ने सांगीतिक कार्यक्रमको उद्देश्य के हो? खासमा उही टिकट बेच्ने र रक्सी बेच्ने अनि टन्न आम्दानी गर्ने मात्र हो जस्तो छ। देख्दै लाजको मर्नु नेपाली युवकयुवती रक्सीले मातेर खुट्टै ठाउँमा थिएन, मैले डेलिभरीको काम गर्ने भएकाले राति काम गर्दा देखेको दृश्य हो।”
उनी थप्छन्, “विभिन्न संघ तथा समाजको नाममा पार्टी गरेर यसरी नेपालीको बेइज्ज्त नगरौँ, आयोजकले अलि ध्यान दिनुपर्यो, पैसा कमाउनेतिर मात्र लागेको जस्तो देखियो।”
पोर्चुगलस्थित तमु समाजका पूर्वअध्यक्ष राजकुमार गुरुङको गुनासो पनि यस्तै छ। समाजसेवा भन्दा पनि निजी स्वार्थअनुसार संघसंस्था खोल्ने क्रम बढेको जस्तो देखिएको उनी बताउँछन्। “पहिले धेरै थिएनन्, एक–दुई वटा हुन्थे। एउटा परिवारजस्तो भएर बसिन्थ्यो। तर अहिले यस्ता समाज जति छन् तीमध्ये कसले के गर्छ थाहै हुँदैन,” उनले भने।
एकले केही गरौँ भन्दा अर्कोले खुट्टा तान्ने प्रवृत्ति बढेको छ। अहिले एनआरएनए, पोर्चुगलको उपाध्यक्षसमेत रहेका गुरुङ पछिल्लो समय गलत प्रवृत्तिले प्रश्रय पाएको भए पनि नेपालीहरू कुनै समस्यामा पर्दा सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँछन्।
दक्षिण कोरियामा रहेका नेपाली समाजबारे पनि त्यहाँ बस्ने नेपालीहरूले गुनासो गर्न थालेका छन्। केही समयअघि दक्षिण कोरिया सरकारले प्रदान गरेको पुरस्कार लिन त्यहाँ पुगेका कैलालीका त्रिलोक पनेरु विभिन्न नाममा खोलिएका नेपाली समाज पद पाउने लालसा र अनेक स्वार्थमा जोडिएको आरोप लगाउँछन्।
“दश वर्ष कोरिया बसेर नेपाल फर्केपछि व्यवसाय गरेको भनेर त्यहाँको सरकारले दिएको पुरस्कार लिन गएको थिएँ। नेपाल बौद्ध परिवार कोरियाले बोलाएर सम्मान गर्यो, तर सुदूरपश्चिमकै पाँच/छ वटा समाज छन्, कसैले फोनसम्म गरेनन्,” उनले भने, “भनेपछि ती समाज पद पाउनकै लागि, राजनीति गर्नकै लागि गठन भएका जस्ता देखिए नि! मलाई न राजनीति गर्न आउँछ, न चाप्लुसी गर्न। मबाट केही पाइन्न भन्ने सोचेर बोलाएनन् होला।”
रोजगारीका सिलसिलामा अहिले दक्षिण कोरियामा कार्यरत कैलालीका सिद्धराज भट्ट व्यंग्य गर्दै भन्छन्, “दर्शक दीर्घामा बसेका मुस्किलले आठ दश जना अनि मञ्चमा अतिथि ब्याच लगाउने कम्तीमा ३५–४० जना जति छन् भने बुझ्नुहोस कि, त्यो चाहिँ कोरियामा रहेका विभिन्न नामका नेपाली समाजहरूको विशेष र सानदार कार्यक्रम हो।”
उनी थप्छन्, “फिल्म देखाउने कार्यमा समेत अघिल्तिर बसेर अतिथि ब्याच लगाउनैपर्ने संस्कारको शुरूआत गर्ने चलनसमेत दक्षिण कोरियामा रहेका हाम्रा स्वघोषित वरिष्ठ नेपाली समाजका सञ्चालकहरूबाट नै भएको देखिन्छ।”
खाडीका देशमध्ये नेपाली श्रमिकको प्रमुख आकर्षण मानिने देश हो यूएई। १०० को हाराहारीमा नेपाली समाज रहेको त्यहाँ केही समाजले राम्रो काम गरे पनि धेरैजसो नाम मात्रैका भएको त्यहाँका नेपाली व्यवसायी जे सागर बताउँछन्।
“नेपाली समाज यूएई, केही जिल्ला समाज आदि कतिपय नेपाली समाजले निकै राम्रो काम गरेका पनि छन्। तर नाम मात्रैका संस्थाहरू पनि धेरै छन्,” उनी भन्छन्, “पदै पाउनका लागि खुलेका भनेर त सिधै नभनुम्, तर नाम मात्रका समाज गठन भइरहँदा केही हदसम्म त्यो सत्य हो भन्ने लाग्छ।”
विदेशमा नेपालीहरूका बाध्यता, व्यस्तता, समयाभाव, आर्थिक सीमा लगायतका कारणले पनि सामाजिक कार्यमा सक्रियता पातलिएको हुनसक्ने उनी बताउँछन्।