तस्वीर : किसन पाण्डे/उकालो
काठमाडौँ– काभ्रेको रोशी गाउँपालिकास्थित सानोपोटा पुग्नै लाग्दा वरपरको वातावरण धुम्म देखियो। डढेलोकोे धुँवाले वायुमण्डल छपक्कै ढाकेको थियो। हावाको गुणस्तर मापन सूचकांक प्रकाशन गर्ने आईक्यू एयरका अनुसार वैशाख २१ गते काठमाडौँ विश्वको दोस्रो प्रदूषित शहर भएको थियो।
वायु प्रदूषणको असर सानोपोटा गाँउको आकाशमा पनि थियो। उक्त गाउँ केही दिनअघि मात्र आगोमा खरानी भएको थियो। नजिकैको वन डढेलोले सखाप थियो। डढेलो गाउँ पसेपछि घरहरू त जलाएकै थियो, बारीमा राखिएका मलका थुप्रो पनि खरानी भएको देखिन्थ्यो।
सानोपोटा नपुग्दै केही तलबाट ट्वाङ... ट्वाङ... आवाज आइरहेको सुनिन्थ्यो। गाउँ प्रवेश गर्ने बित्तिकै च्याङ्बा तामाङ र उनका काकाका छोरा रेबन बाँसको टहरा बनाउन व्यस्त भएको देखियो। टहरामा छाना हाल्न किला ठोक्दा आएको आवाज तलसम्मै सुनिएको रहेछ। आगोले जलाएका जस्तापातालाई उनीहरू छाना हाल्न र बार लगाउन प्रयोग गरिरहेका थिए।
च्याङ्बाका जेठा दाइ हिरामान र बुवा धनबहादुर तमाङ पनि टहरो बनाउन सघाइरहेका थिए। हिरामानले भने, “आजसम्म यही आँगनमा खरानीमाथि सुतिराछौँ, अलिकति भए पनि राहत हुन्छ कि भनेर टहरो बनाउन लागि परेको। वर्षा लाग्ने बेला छ, पानी पर्यो भने के गर्ने? साह्रै समस्या पर्ने देखियो।”
वैशाख १८ गते बस्ती पसेको डढेलोले गाउँ नै खरानी बनाएको थियो। त्यही खरानीमाथि सुत्नु परेको पीडितहरूको दुखेसो थियो। पहिला घर भएको ठाउँमा खरानी, जलेको काठका अँगार र जस्तापाताका टुक्रा मात्र थिए। आगोमा पर्नबाट बचेका केही कुखुरी खानेकुराका लागि भुईं खोस्रिँदै थिए।
हिरामानकी छोरी फलामका किल्ला बटुल्न पुगिहाल्थिन्। उनलाई खेल्न पनि समस्या परिरहेको थियो। उनकी आमालाई भने खुट्टा घोचिदिन्छ भन्ने चिन्ता थियो। उनी टहरो बनाउने सामग्री जुटाइरहेकी थिइन्।
आगोले खरानी बनाएको बस्तीको अवस्था अहिले पनि करिब उस्तै छ। वैशाख १८ गते १५ वटा र त्यसअघि तीन वटा गरेर जम्मा १८ घर जलेका छन्। आगोले भग्नावशेष भएका अधिकांश घर उस्तै छन्। सात वटा भने भग्नावशेष हटाइएको छ।
केही परिवार टहरा बनाएर बसेका छन्। तर वरिपरि भिरालो भएका घरबाट भग्नावशेषसमेत नहटाइएको स्थानीय प्रेम तामाङ बताउँछन्। उनको पनि घर जलेको छ। घरको भग्नावशेष पनि नहटाइएको र टहरासमेत बनाउन नसकेको उनले बताए। उनी अहिले स्थानीय वेदमान तामाङको टहरामा आश्रय लिइरहेका छन्।
डढेलोले बस्तीमा ल्याइएको खानेपानीको पाइप जलाएको छ। स्थानीयले एक हप्तासम्म खानेपानीका लागि दुईतीन घण्टा लगाएर खोला धाएका थिए। तर प्रदेश सरकारको नयाँ खानेपानी आयोजनाका लागि ल्याइएका फलामका पाइप राखेर वैशाख २४ गते पानी आपूर्ति भने सहज बनाइएको प्रेम बताउँछन्।
आगोले सम्पूर्ण सामग्री जलेर विचल्ली परेका स्थानीयलाई विभिन्न संघसंस्थाले राहत र भाडाकुडा सहयोग दिएका छन्। प्रेमका अनुसार रोशी वाणिज्य संघ, लाइन्स क्लब अफ काठमाडौँ, नवबुद्ध गुम्बालगायतले एक सेट भाडा र अन्य सामग्री सहयोग गरेका छन्।
स्थानीय धनबहादुर तामाङ पीडित परिवारलाई राहत आए पनि राख्ने ठाउँकै समस्या परेको बताउँछन्। उनले भने, “दिएको राहत पनी कहाँ राख्ने भन्ने समस्या पर्यो, त्यसैले चाँडोचाँडो टहरा बनाउन लागि परेका छौँ।”
केही उपाय नलागेपछि जलेर खसेका जस्ताका पाताले छेकबार गरेर टहरा बनाउनु परेको उनको भनाइ छ। आफूहरू सरकारले घर बनाउन सहयोग गरिदिने आशामा रहेको पनि उनले बताए। उनीहरूको परिवारमा १३ जना छन्।
इन्द्रबहादुर तामाङ (२२) बुवाको रेखदेख गर्दै घरमै बसेका थिए। निम्न आर्थिक अवस्थाका कारण ७ कक्षासम्म मात्रै अध्ययन गरेका उनी खेतीपाती, बस्तुभाउको रेखदेख तथा बुवाका सहयोगी थिए। जेठो छुट्टिएर अर्कै घर बनाएपछि विदेश गए। दाइको घरमा भाउजु र भतिजा मात्रै छन्। त्यसैले उनी र बुवा दाजुकै घरमा बसेका छन्।
उनी घरसँगै जलेर खसेका जस्तापाता बारीको गह्रामा सार्दै थिए। गह्रामा टहरा बनाएर बाख्रा र कुखुरामा बस्ने ठाँउ बनाउन लागेको इन्द्रबहादुरका बुवा सत्यलालले बताए। आगोले सियोदेखि नुन सम्म फेरि जोडजाम गर्नुपर्ने अवस्थामा पुर्याएको उनको भनाइ छ। “फेरि शुरूबाट संघर्ष गर्नुपर्ने भयो, गर्नु दुःख गरेर यहाँसम्म आइपुगिएको थियो फेरि उहि दुःख” सत्यलालले भने।
रोशी गाउँपालिका–४ का वडाध्यक्ष तेजबहादुर मगर आगलागीका पीडितहरूसँगै थिए। उनीहरूलाई सहयोग गर्न केही संघसंस्थाका प्रतिनिधि पनि पुगेका थिए। वडाध्यक्ष मगरले पीडितलाई हरेक दिन भेटेर सहयोग गरिरहेको स्थानीयको भनाइ छ।