रोशी, काभ्रे– रोशी गाउँपालिका वडा नम्बर ४ सानोपोटा गाउँ वैशाख २१ गते उराठलाग्दो देखिन्थ्यो। घरहरू पूरै जलेका थिए। घर मात्र नभई जमिन पनि डढेको थियो। घर जल्दा भित्र भएका लत्ताकपडा, अन्न, फर्निचर र कागजपत्र लगायतका सम्पूर्ण सामान पूरै खरानी भएका थिए। त्यसो त शरीरमा लगाएको एक जोर लुगाबाहेक केही नरहँदा यहाँका बासिन्दाको मन पनि भतभती पोलेको थियो।
दिउँसो करिब १२ बजेको समय गाउँको छेउमा रहेको छेसाङ तामाङको गोठमा आगो सल्किएको देखेर गाउँभरिका सबै दौडिँदै गए। एकजुट भएर आगो निभाउन खोज्दा हावाको बेगले नजिक पर्नै दिएन। सम्हाल्न नसकिने अवस्थामा पुगिसकेको आगो चर्किंदै गयो र नियन्त्रणबाहिर गयो। गाउँभरका मानिसहरू नजिकैको अर्को घर जोगाउनतर्फ लागे। त्यस घरलाई उनीहरूले केही हदसम्म सुरक्षित गर्न सके।
तर अर्कोतर्फ रहेका घरहरूमा एकै पटक जंगलबाट हावाको बेगसँगै आएको आगोले टिप्यो र दनदनी दन्कियो। गाउँभरिका मान्छे जम्मा भएर कुनाको घर जोगाउन जाँदा गाउँभरि नै आगो सल्किन शुरू भइसकेको थियो। आगो सबैतिर सल्किन थालेको थाहा पाएपछि सबै आ–आफ्नो घरतर्फ दौडिए। घरभित्र छिर्न सकिने अवस्था थिएन। दन्किइरहेको आगोको रापले नजिक जानै नसकिने अवस्था थियो। जलिरहेका आफ्ना घर टाढैबाट हेर्दै मन सल्काउन बाध्य भए उनीहरू। सबैको साथमा आफ्नो शरीर, लगाएको एकजोर कपडा र परिवार मात्रै बाँकी थियो।
धनकाजी तामाङ काठमाडौँमा थिए। डढेलोले घर ध्वस्त बनायो भन्ने खबर छोराले फोनमा सुनाएपछि उनी हतारिँदै गाउँ फर्किए। जलेको घरमा पुग्दा मध्यरातको १२ बजिसकेको थियो। जल्न बाँकी केही पनि थिएन। जस्ताको छानो जलेर भुइँमा खसेको थियो। परिवारका सदस्यहरू रोइरहेका थिए। घरमा प्रयोग गरिएका काठहरू खरानी भइसकेका थिए। भाँडाकुँडाहरू आरनमा तताएर पाइन हाल्न बाँकी रहेका हतियारजस्तै काला भएका थिए।
उनको विरक्तताले सीमा नाघ्यो, आँसुले आँखाको डिल। एकछिन टोलाइरहे, “जिन्दगीभरि जोडजाम गरेको धनसम्पत्ति मात्रै होइन भविष्यको आशा र पेटको भोक सबै सकियो हजुर,” उनले मलिन अनुहारमा भने। बुढ्यौलीमा आनन्दले परिवारसँग रमाइरहेका धनकाजीको अनुहारको मलिनताले मौन बिलौना गरिरहेझैँ देखिन्थ्यो।
धनकाजीको १३ जनाको परिवार बस्ने दुई घर थिए। जेठा र माहिला छोरा पुरानो घरमा र धनकाजी, उनकी श्रीमती र बाँकी परिवार भूकम्पपछि बनाएको नयाँ घरमा बसेका थिए। तर दुई वटै घर डढेलोले नष्ट पारेपछि उनीहरू खरानीको ओछ्यान बनाएर बस्न बाध्य भए।

इन्द्रबहादुर तामाङ घरमै थिए। जेठो दाइ वैदेशिक रोजगारीमा थिए। दाइ अलग्गिएका कारण भाउजू नयाँ घर बनाएर बसेकी थिइन्। माइलो दाइ वैदेशिक रोजगारीका लागि भौतारिइरहेका थिए। साइँला इन्द्रबहादुर बुवाको सहारा बनेर घरमा बसेका थिए। कान्छो भाइ एसईईको परीक्षा सकिएपछि काठमाडौँ गएर बसेका थिए। परिवारको चुनौतीपूर्ण आर्थिक स्थितिका कारण सात कक्षासम्म मात्रै अध्ययन गर्न पाएका इन्द्रबहादुर डढेलोले घर जलाउँदा चिन्तित थिए।
“भूकम्पमा घर चर्किएको थियो। अग्लो घर, फेरि भूकम्प आउँदा भत्किने डरले भूकम्पपछि गारो होच्याएर बस्यौँ। तर डढेलोले केही बाँकी नराखी सिद्ध्यायो,” उनले भने। सरकारले एउटा घर मात्रै बनाइदिए हुन्थ्यो भन्ने उनको चाहना छ। मकै, सिमी, भटमास, बोडीलगायत बालीका बीउ नहुँदा बारीमा के लगाउने भन्ने चिन्ताले पिरोलिएका छन् उनी। “घरका पालेका बस्तुभाउलाई दिने घाँस पनि छैन, जंगल सबै आगोले सक्यो।
राहतमा आएको चामल, दाल चाउचाउ बिस्कुट दिएर हुँदैन,” उनले गुनासो गरे। वनमा लागेको डढेलोले विद्युत्का तार र खानेपानीको पाइप पनि जलाएको थियो। कान्छीमाया तामाङ र उनका श्रीमान् दुई घण्टा हिँडेर खोलाबाट बोकेर ल्याएको पानी बाख्रालाई खुवाउँदै थिए। “टाढै छ, खोलासम्मै पुग्नुपर्छ। दुई घण्टा जति लाग्छ, पानीको सारै समस्या छ,” कान्छीमायाले भनिन्।
त्यही दिउँसोको समय सोजिना लामाको घरअगाडि टहरामा आगोको झिल्का हावाले उडाएर ल्यायो। उनका श्रीमान् प्रशान्त थिङ तामाङ र उनी दौडँदै आगो निभाउन भनी घर आए। तर भएजतिको पानी खन्याउँदा पनि सल्केको आगो निभेन। “दुई मिनेटमा सबैतिर सल्कियो। त्यसपछि बेरै नलागी जलेर नाश भयो। टहरामा भएका १८ वटा कुखुरा र सामानहरू पनि सबै ध्वस्त भए,” सजिनाले भनिन्। अहिले ६ जनाको उनको परिवार छिमेकमा बास बसिरहेको छ।
सोजिनाका दुई वटा घर थिए। पुरानो घरमा उनको परिवार बस्थ्यो। नयाँ घरमा पसल थियो। पसल राम्रै चलिरहेको थियो। सात–आठ लाख बराबरको सामान, दुई लाख ५० हजार नगदसमेत आगोले खाइदियो। “बचाउनै सकिएन, मान्छेको ज्यानै डढाउन सक्ने ठूलो आगो दन्किहाल्यो सबै सखाप पार्यो,” प्रशान्तले भने।

सबै गरेर ३५–४० लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको प्रशान्तले बताए। “विभिन्न संघसंस्थाहरूले सहयोग र राहतहरू दिइराखेका छन्। घर बनाउन पनि सहयोग पाइन्छ भन्ने आशा,” उनले बताए। वर्षा यामको थालनी हुनै लागेको छ। बास नै नभएपछि अन्य सहयोगको अर्थ छैन। त्यसैले सरकारले घर बनाउन सहयोग गरिदिए हुन्थ्यो भन्ने उनको आशा छ।
क्रमैसँग जले १८ घर
वडा नम्बर ४ को डाँडागाउँमा पहिलो पटक तुलबहादुर मगर र अक्कलबहादुर मगरका घर जले। डाँडागाउँको डाँडापारि तीन दिनअघि आगो सल्केको थियो। सामुदायिक वनमा लागेको आगोले उच्च हावाको बहावका कारण दिउँसो तीन बजेकै समयमा दुई वटा घर जलायो।
त्यसको केही दिनपछि दोस्रो पटक वडा नम्बर ४ कै माटेगाउँमा प्रेम लामाको घर डढेलोले खायो। महाभारत गाउँपालिकाको जंगलबाट सल्किँदै आएको आगोले प्रेमको घर जलेको थियो।
त्यसको केही दिनपछि वैशाख १८ गते सानोपोटाका १५ वटा घर जले। क्रमशः छेसाङ तामाङ, पदम तामाङ, साइँलीमाया तामाङ, पहलबहादुर तामाङ, प्रशान्त तामाङ, सुनिमाया तामाङ, माया तामाङ, प्रेम तामाङ, रामबहादुर तामाङ, सत्यलाल तामाङ, तीर्थलाल तामाङ, जनक तामाङ, च्याङ्वा तामाङ, धनकाजी तामाङ र सुष्मा तामाङका घरहरू जलेका छन्।
स्थानीय सरकारको पहल
डढेलोले बस्ती च्याप्दै गरेपछि ‘एक घर एक धारा’अन्तर्गत योजनाका पाइप र सिमेन्ट सबै जल्न थाल्यो। स्थानीयले भ्रमणमा रहेका ४ नम्बर वडाका वडाध्यक्षलाई फोन गरेर जानकारी गराए। भ्रमणमा रहेका वडाध्यक्षले कटौजे प्रहरी चौकीमा फोन गरेर तत्काल सहयोगका लागि आग्रह गरे। तर त्यहाँबाट जनशक्ति छैन भन्ने उत्तर उनले पाए।
त्यसपछि उनले मंगलटार प्रहरी चौकीका प्रमुखलाई फोन गरे। त्यहाँबाट दुई जना प्रहरी डढेलो नियन्त्रणका लागि खटाइयो, तर त्यो सम्भव थिएन। वडाध्यक्ष सहयोगका लागि फोन गुहारिरहे यता डढेलो दन्किइरह्यो खानेपानीका पाइप, निर्माण सामग्री र विद्युत्को तार सबै जले।

डढेलो त्यतिमा मात्रै सीमित भएन। चर्को हावाको वेगका अगाडि गाउँलेहरूको मिहिनेतको केही सीप चलेन। उनीहरूले सकेजति प्रयास त गरे, तर सानोपोटामा भएका २० वटा घरमध्ये १५ वटा घर जलेर खरानी भए।
वडाध्यक्षले भकुन्डेमा रहेका नेपाली सेनालाई पनि गुहार्न पुगे। तर त्यति बेलासम्म सबै जलिसकेको थियो। तर पनि बाँकी त सुरक्षित गर्न सकिन्छ कि भनेर सेनाको टोली सानोपोटा आइपुग्यो र डढेलो निभाउन सहयोग गर्यो।
भ्रमणमा गएको वडा अध्यक्षको टोली राति ११ बजे मात्रै गाउँ पुगेका थिए। डढेलोसम्बन्धी सचेतनाका कार्यक्रमहरू गरे पनि त्यसको प्रभावकारिता नभएको देखिएको वडाध्यक्ष तेजबहादुर मगर बताउँछन्। दोस्रो पटक माटेगाउँमा प्रेम लामाको घर डढेलोले जलाउँदा वरपरको गाउँ नै जोगाएको उनले बताए। उनी आफैले पनि आगलागी नियन्त्रणसम्बन्धी तालिम लिएका कारण गाउँले सबै लगेर साबेल, बेल्चा, हँसिया आदि प्रयोग गरेर त्यही घर वरपरको गाउँ आगलागी हुनबाट बचाएको बताउँछन्।
१५ वटा घर जलेलगत्तै गाउँपालिका अध्यक्ष लगायतको टोली खानेकुरा बोकेर सानोपोटा आइपुगेको वडाध्यक्ष मगरले बताए। “अहिलेसम्मका कार्यक्रम प्रभावकारी भएनन्। अब प्रभावकारी ढंगले विपद् न्यूनीकरणसम्बन्धी चेतनाका कार्यक्रम लागू गर्छौं,” उनले भने, “जनप्रतिनिधि भएपछि जनताको सुखदुःखमा सँगै हुनुपर्छ भनेर दिनरात लागिपरेको छु।”
अन्य स्थानीय तह, प्रदेश सरकार लगायतका निकाय र संघसंस्थाले पैसा, लत्ताकपडा र अन्न आदि सहयोग गरिरहेका छन्। वडाध्यक्ष मगर डढेलो प्रभावित गाउँमै छन्। घरबारविहीन स्थानीयलाई सहयोग आउने कार्य जारी छ।