काठमाडौँ– बागमती प्रदेशमा नेकपा एमालेका तर्फबाट नियुक्त भएका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिस प्रदेश प्रमुख यादवचन्द्र शर्माले एमालेका तर्फबाट केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए। उनीहरूलाई प्रदेशप्रमुख शर्माले मंगलबार शपथ गराएका हुन्।
मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी एमालेका तर्फबाट चार जना मन्त्री समावेश गरेका हुन्।मुख्यमन्त्री जम्मकट्टेलले पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वरलाई स्वास्थ्य मन्त्रालय, एकालाललाई खानेपानी, सिँचाइ तथा ऊर्जा र प्रकाशलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
उनले मंगलबार बिहान नेकपा एकीकृत समाजवादीका तर्फबाट एक जनालाई मन्त्री नियुक्त गरेका थिए। एकीकृत समाजवादीका तर्फबाट मन्त्री नियुक्त भएकी रमा आले मगरलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। उनले मंगलबार बिहान नै पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।