Monday, January 13, 2025

-->

रोजगारीमा बेलायत र फ्रान्स पठाउने भन्दै करोडाैँ रुपैयाँ ठगेको आरोपमा ३ जना पक्राउ

पक्राउ परेकामध्ये झापाका केदार चौधरीले ३५ जनालाई बेलायत पठाइदिन्छु भन्दै ९ देखि २० लाख रुपैयाँसम्म लिएर ६ करोड रुपैयाँ ठगेको आरोप छ।

रोजगारीमा बेलायत र फ्रान्स पठाउने भन्दै करोडाैँ रुपैयाँ ठगेको आरोपमा ३ जना पक्राउ

काठमाडाैँ– वैदेशिक रोजगारीमा बेलायत र फ्रान्स पठाइदिन्छु भन्दै करोडाैँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार उनीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई हाल काठमाडाैँको कागेश्वरी मनोहरा नगरपालिका बस्ने ३७ वर्षीय केदार चौधरी, बाँके कोहलपुर नगरपालिका–१० घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षीय जीवराज केसी र म्याग्दी घर भई हाल कास्कीको पोखरा महानगरपालिका–१ बस्ने ३८ वर्षीया नन्ददेवी पुन रहेका छन्।

पक्राउ परेकामध्ये झापाका चौधरीले सुमन राईसहित ३५ जनालाई बेलायत पठाइदिन्छु भन्दै ९ देखि २० लाख रुपैयाँसम्म लिएर ६ करोड रुपैयाँ ठगेको आरोप छ। साथै उनले पीडितबाट रकम उठाइ भारतबाट पठाउने भन्दै कतिपय पीडितलाई अजरबैजानसम्म पुर्‍याएर आफू फरार भएको आरोप पनि छ।

यस्तै, बाँकेका केसीले फ्रान्स पठाइदिने भन्दै सुमनकुमार बस्नेतसँग ११ लाख ६५ हजार रुपैयाँ ठगी गरेको तथा म्याग्दीकी पुनले बेलायत पठाउने भन्दै रोशनी चौधरीबाट सात लाख ६७ हजार रुपैयाँ रकम लिएर ठगी गरेको आरोप छ। थप अनुसन्धानको लागि तीनै जनालाई वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।


सम्बन्धित सामग्री