Thursday, April 25, 2024

-->

जब विद्यालय गएका बालिका आफ्नै शिक्षकबाट असुरक्षित हुन्छन्

पहिलो पटकको घटनाले जेसिकालाई शिक्षकदेखि टाढा रहने बानी पर्‍यो। उनलाई ‘साइन्स ल्याब’ नै मन पर्न छाड्यो। दोस्रो पटकको अर्को घटनापछि त संसार नै छाड्ने विचारसमेत उनको मनमा आयो।

जब विद्यालय गएका बालिका आफ्नै शिक्षकबाट असुरक्षित हुन्छन्
उकालोसँगको कुराकानीमा काभ्रेस्थित उनकै घरमा जेसिका। तस्वीरहरू: कृष्पा श्रेष्ठ

काठमाडौँ– काभ्रेकी जेसिका (नाम परिवर्तन) कक्षामा नियमित उपस्थित हुने विद्यार्थी थिइन्। पहिलो बेन्चमा उनका लागि सधैँ सिट खाली हुन्थ्यो। १४ वर्षको उमेरमा कक्षा ८ उत्तीर्ण गरेर ९ कक्षामा पढ्दै थिइन्। गायन र खेलकुदमा उनको विशेष रुचि थियो। उनी विद्यालयले गर्ने विभिन्न क्रियाकलापमा सहभागी हुन्थिन्। गीत गाएर, भलिबल खेलेर, रनिङ गरेर सबैको ध्यान खिच्थिन् र कुनै न कुनै स्थान सुरक्षित गर्थिन्।

२०८० असोज २९ गतेको दिन पनि विद्यालयमा भएको दशैँ विशेष कार्यक्रममा गीत गाएर उनले सबैलाई खुशी बनाइन्। तर आफ्नो प्रतिभाले अरूलाई खुशी बनाउने जेसिकाको खुशी त्यही दिन हो शिक्षकले खोसिदिएको।

विद्यालय प्रांगणमा कार्यक्रम भइरहेको थियो। जेसिका मोबाइल चार्ज गर्न स्कुलकै ‘साइन्स ल्याब’मा पसेकी थिइन्। त्यही बेला कार्यक्रमस्थल छाडेर विज्ञान शिक्षक मक्षनारायण श्रेष्ठ ‘ल्याब’मा आए। ‘तिमी कति राम्री’ भन्दै ल्याबभित्र पसेका श्रेष्ठले संवेदनशील अंगहरूमा हात लगे। जेसिका सकेजति प्रतिकार गर्दै उनको पन्जाबाट उम्केर कार्यक्रमस्थलमै फर्किइन्। उनलाई त्यो दिन निकै अप्ठ्यारो महसुस भयो। मनमा अनेक प्रश्न उब्जिए।

उकालोसँगको कुराकानीमा उनी भन्छिन्, “सरले त्यस्तो किन गर्नुभयो भन्ने लागिरह्यो। उहाँले कसैलाई नभन्नू भन्नुभएको थियो।” जे शिक्षकले भनेका थिए, जेसिकाले त्यही गरिन्। कक्षा कोठाभित्रै भएको यौन दुर्व्यवहारलाई घरपरिवार, बुवाआमा, साथीभाइ कसैलाई भन्न सकिनन्। यौन दुर्व्यवहारले मस्तिष्कमा परेको चोट लुकाउन बाध्य जेसिकालाई उल्टै त्यसबारे शिक्षकले कसैलाई भनिदिन्छन् कि भन्ने चिन्ताले पिरोल्यो। 

“बुवाआमाको डर लाग्यो। यस्तो कुरा बाहिर भने इज्जत जान्छ भनेर सरले भन्नुभएको थियो। पछि उहाँले नराम्रो मेसेज गर्न थाल्नुभयो। हेर्नै नसकिने आफ्ना भिडियो बनाएर पठाउन थाल्नुभयो। फोट‍ो पठाउन थाल्नुभयो। त्यसपछि मलाई लाग्यो, ल्याबमा भएको कुरा सरले नै बाहिर भनिदिनुहुन्छ,” जेसिका सुनाउँछिन्।

उनलाई ती शिक्षकदेखि निकै डर लाग्न थाल्यो। साइन्स ल्याबमा भएको यौन दुर्व्यवहारको घटना साथीभाइ, दाइदिदी, आमाबुवा कसैलाई भन्ने आँट नगरेकी उनी सम्झन्छिन्, “पहिलो घटना कसैलाई पनि भन्न सकिनँ। दोस्रो घटना साथीहरूले आफैँ थाहा पाए। त्यसपछि सरहरूदेखि साह्रै डर लाग्न थाल्यो।”

पहिलो पटक ल्याबमा भएको घटनाले जेसिकालाई शिक्षकदेखि टाढा रहने बानी पर्‍यो। उनलाई ‘साइन्स ल्याब’ नै मन पर्न छाड्यो। दोस्रो पटक भएको अर्को घटनाले त संसार नै छाड्ने विचार उनको मनमा आयो। 

यौन दुर्व्यवहारपछि बलात्कार
दशैँ शुरू भइसकेको थियो। उनका सबै साथीहरू रमाइरहेका थिए। जेसिकालाई भने साइन्स ल्याबमा शिक्षक मक्षनारायण श्रेष्ठले गरेको दुर्व्यवहारले निकै सताइरहेको थियो। उनको मन अशान्त थियो। यही वर्ष हजुरबुवाको देहान्त भएका कारण घरमा दशैँ मनाउने योजना पनि थिएन। घरमा बस्दा उनको मन आत्तिन्थ्यो। त्यही कुराले सताइरहन्थ्यो। ‘मामाघर जान्छु, दाइदिदीसँग केही दिन बस्छु। मामा माइजूलाई भेटेर आउँछु’ भनेपछि बुवाआमाले उनलाई जाऊ भन्नुभयो। त्यसपछि उनी काभ्रेबाट मामाघर काठमाडौँ आइन्। 

२०८० कात्तिक ११ गते मामाघरबाट घर फर्किनुअघि माइजूको मोबाइलमा जेसिकाले आफ्नो फेसबुक आईडी ‘लगइन’ गरिन्। उनीसँग आफ्नो मोबाइल थिएन। कहिले भाउजूको, कहिले बाबाको मोबाइलबाट सामाजिक सञ्जालमा जोडिन्थिन्। त्यो दिन माइजूको फोनबाट फेसबुक ‘लगइन’ गर्दा आफ्ना स्कुलका दुई शिक्षकको मेसेज एकसाथ देखिन्। एक शिक्षक उनलाई शारीरिक दुर्व्यवहार गर्ने तिनै मक्षनारायण श्रेष्ठ थिए भने अर्का त अझ विद्यालयकै प्रधानाध्यापक गणेशमान गुरुङ।

जेसिकाले बताएअनुसार प्रधानाध्यापक गुरुङले पनि स्कुलमा नियमितजसो नराम्रो नजरले हेर्ने र दुर्व्यवहार गर्ने गर्थे। मेसेन्जरमा अश्लील फोटो र भिडियो पठाउनेमा उनी पनि पर्थे। आफ्नै स्कुलका प्रधानाध्यापक र शिक्षकले गरेका यौन दुर्व्यवहारबारे कसैलाई बताउने आँट गर्न नसकेकी उनलाई त्यसबारे घरपरिवार, समाजले थाहा पाएमा आफ्नो बेइज्जत हुन्छ भन्ने भय थियो।

त्यो दिन पनि दुवै शिक्षकले मेसेज गर्दा जेसिका त्रसित भएकी थिइन्। दुवै शिक्षकले ‘भेट्न आऊ’ भनेर मेसेज लेखेका थिए। प्रधानाध्यापकको मेसेजलाई जेसिकाले बेवास्ता गरिदिइन्। तर शिक्षक श्रेष्ठको मेसेजलाई अस्वीकार गर्न सकिनन्। कारण थियो ‘साइन्स ल्याब’मा भएको दुर्व्यवहारबारे शिक्षकले साथीभाइ, घरपरिवारलाई भन्दिन्छन् कि भन्ने डर। त्यसैले उनलाई भेट्न जेसिका तयार भइन्।

उनलाई प्रधानाध्यापकले अश्लील मेसेज गरे पनि, स्कुलमा नराम्रो व्यवहार गरे पनि त्यति डर थिएन, जति शिक्षक श्रेष्ठसँग थियो। त्यसकारण भेट्न तयार भएकी उनलाई श्रेष्ठले त्यस दिन फेरि अर्को अपराध गर्लान् भन्ने कल्पनामा पनि लागेको थिएन। 

बलात्कारपछि पनि दुर्व्यवहार
जेसिकाले उकालोसँगको कुराकानीका क्रममा मामाघरबाट घर फर्किंदाको प्रसंग खुलाइन्, “मामामाइजू र दाइदिदीलाई सिधैँ घर जान्छु भनेको थिएँ। बिहान सर (श्रेष्ठ) सँग कुराकानी भएको थियो। उहाँले साँगा ओर्लिनु भन्नुभएको थियो। सरले ल्याबमा भएको कुरा बाहिर भन्देपछि मलाई झन् गाह्रो हुन्थ्यो। उहाँ त्यो कुरा बाहिर भन्दिनेजस्तो व्यवहार गर्नुहुन्थ्यो। जे जस्तो भए पनि मेरो शिक्षक हो। अस्तिजस्तो गर्नुहुँदैन होला भन्ने अनुमान गरेर मामाघरमा सिधैँ घर जान्छु भनेर झूट बोलेकी थिएँ।” 

काठमाडौँबाट धुलिखेल जाने बस चढेकी जेसिका मानसिक रूपमा निकै गहिरो दबाब महसुस गर्दै थिइन्। उनी सम्झन्छिन्, “मनमा अनेक कुरा खेलिरहेका थिए। बसमा बसे पनि कहाँ पुगेँ, के गरेँ केही थाहा थिएन।” केही समयपछि बसको कन्डक्टरले ‘साँगा...साँगा’ भनेर चिच्याउँदै बसको ढोकामा हात बजारे। 

“त्यसपछि बस रोकियो, म ओर्लिएँ। सरसँग भेट भयो। डर लागिरहेको थियो। त्यहाँबाट सरले मोटरसाइकलमा राखेर बनेपा लैजानुभयो,” जेसिकाले भावुक हुँदै सुनाइन्।

शिक्षक श्रेष्ठले उनलाई बनेपाको ‘बनेपा भिलेज रिसोर्ट’मा पुर्‍याएर एउटा कोठामा लगे र खाजासहित मदिरा मगाए। श्रेष्ठले खाजासँगै मदिरा खाए। जेसिकाले खाजा मात्र खाइन्। लगत्तै शिक्षकले ढोकाको चुकुल लगाए। जेसिका भन्छिन्, “त्यसपछि सरको हात मेरो शरीरमा चल्न थाल्यो। मैले यस्तो के गर्नुभएको सर, प्लिज यस्तो नगर्नुस् भनेर कति पटक भनेँ भनेँ तर मेरो कुरै नसुनी दुवै हातले पूरै शरीर थिच्नुभयो। म बोल्नचल्नै सकिनँ।”

त्यसपछिको भोगाइ उनले बताउन सकिनन्, मात्र आँसु खसालिन्। ती शिक्षकले उनलाई पटक–पटक जबर्जस्ती करणी गरेका थिए। शिक्षक श्रेष्ठले अन्तमा डर देखाउँदै फेरि पनि जेसिकालाई भने, “यो कुरा कसैलाई नभन्नू, नत्र तिम्रै बेइज्जत हुन्छ।”

‘भिलेज रिसोर्ट’बाट बाहिर निस्कँदा रापिलो घाम लागिरहेको थियो। तर जेसिकालाई त्यो दिन, सबैभन्दा अँध्यारो लाग्यो। अत्यास र पीडाले उनी थरथर काँमिरहेकी थिइन्। कुनै कुरा सुन्न पनि नसक्ने अवस्थामा निःशब्द थिइन् उनी। त्यो क्षणको अनुभूतिबारे अहिले मुटु दह्रो बनाएर सम्झिँदा पनि डर लाग्ने उनले बताइन्। 

हिंसापछि डरले खायो
त्यो बेला शारीरिक र मानसिक दुवै रूपमा विक्षिप्त बनेकी जेसिकाको मनमा ‘अब मर्छु, संसार छोड्छु’ भन्ने विचार मात्र आइरह्यो। घर जाने बेला बनेपाबाट उनी चढेको बसमा सिट खाली थिएन। उभिएरै गन्तव्यसम्म पुग्नुपर्‍यो। 

“सरले मलाई छाड्ने बेला राम्रोसँग जानू भनेर भन्नुभयो। मलाई एकदमै ‘पेन’ भइरहेको थियो। खुट्टा टेक्नै नसक्ने अवस्थामा पनि उभिएर यात्रा गर्नुपर्‍यो। यति टर्चर भएको थियो कि त्यसले मेरो पूरै दिमाग खलबलिएको थियो। टाउको फुट्लाजसरी दुख्न थालेपछि शरीरको ‘पेन’ कम लाग्यो। त्यसले गर्दा पनि बनेपाबाट उभिएरै घर आइपुग्न सकेछु,” उनले उकालोसँग भनिन्।

जेसिकामाथि गत कात्तिक ११ गते जबर्जस्ती करणी भएको थियो। तर शिक्षकले आफूमाथि गरेको अपराधबारे घरपरिवारलाई भन्न सक्ने अवस्था थिएन। उनी थप्छिन्, “ल्याबमा भएको कुरा त डरले भन्न सकिनँ। यस्तो कुरा झन् कहाँ भन्न सकिन्छ? उनलाई कुन मुखले घर जाने, आमाबुवा र दाइभाउजुले के भन्नुहुन्छ, म बाँचेर के गर्ने जस्ता कुराहरू मात्र मनमा खेलिरहे। बुवाआमाको निकै डर थियो। यो कुरा बाहिर भन्नुपर्छ भन्ने त दिमागमै आएन।”

आमाका अनुसार जेसिकाले त्यस दिनदेखि बिहानको खाना खान छोडिन्। राम्रोसँग बोल्दा पनि बोलिनन्। उनी भन्छिन्, “के भएको हो भनेर कति सोध्यौँ, बोल्दै बोलिन। स्कुल पनि खाना नखाई भोकभोकै जाने गर्थी।”

दशैँमा माइत आएकी जेठी छोरी घर जाने बेला जेसिका नराम्ररी रोएको आमालाई सम्झना छ, “जेठीलाई बस लाग्ने ठाउँसम्म छोड्न जाने बेला निकै रोइछ। कहिल्यै नरुने मान्छे किन रोई भन्यौँ। त्यो कुरा जेठीले फोनबाट आम्मै यसरी रोई भनेकी थिई।”

अन्तत: बाहिरियो अपराधको सूचना
दशैँ–तिहार र छठको बिदा सकिएपछि मंसिर ४ गते जेसिका पढ्ने विद्यालय खुल्यो। त्यसबेलासम्म उनको व्यवहार फेरिइसकेको थियो। सधैँ कक्षाको अगाडि बस्ने जेसिका पछिल्ला बेन्चमा देखिन थालिन्। खाना नखाई स्कुल गएकाले शरीरमा तागत थिएन। उनका साथीहरूले बताएअनुसार मर्ने कुरा मात्र गर्ने, पढाइमा ध्यान नदिने, एक्लै बस्न खोज्ने, नबोल्नेजस्ता व्यवहारहरू जेसिकाका लागि सामान्य बनेका थिए।

त्यस्तो किन? उनले जवाफ फर्काइन्, “सबै गल्ती मेरै हो जस्तो लाग्थ्यो। बाँचेर केही हुँदैन भन्ने लाग्थ्यो। मलाई त्यस्तो गर्ने सर पनि स्कुलमा देख्दा अनुहारतिर हेर्दै हाँस्ने गर्नुहुन्थ्यो। धेरै नराम्रो तरिकाले हेर्नुहुन्थ्यो। सरले अरू साथीहरूलाई पनि नराम्रो व्यवहार गर्नुहुँदो रहेछ। ममाथि भएको घटना मैले कसैलाई भन्न सकेको थिइनँ। मेरो मिल्ने दुई जना साथीले त्यो कुरा थाहा पाएछन्। त्यसपछि उनीहरूबाटै अरू साथीहरूले पनि थाहा पाए।”

शिक्षक श्रेष्ठले उनीमाथि जबर्जस्ती करणी त गरे नै। तर घटना नबाहिरिँदासम्म उनको हर्कत त्यस्तै थियो। जेसिकालाई अश्लील भिडियो, फोटो पठाउन प्रधानाध्यापक गुरुङले पनि छाडेका थिएनन्। 

जेसिकाले आफ्नो नजिककी एक साथीको मोबाइलमा एक पटक आफ्नो फेसबुक खोलेकी थिइन्। आईडी ‘लगआउट’ गर्न बिर्सिइन्। यौन दुर्व्यवहार र बलात्कारपछि पनि ती शिक्षकले उनलाई अश्लील मेसेज पठाउन छाडेका थिएनन्। साथीको मोबाइलमा फेसबुक मेसेन्जर खुलै रहेका बेला शिक्षक श्रेष्ठले यौन दुर्व्यवहार र जबर्जस्ती करणीपछि ‘कस्तो फिलिङ भयो’ भन्ने जस्ता मेसेजसँगै अश्लील भिडियो र फोटो पठाएका रहेछन्। त्यो कुरा पनि साथीले थाहा पाइन्। तर जेसिकाले उक्त मेसेजबारे कसैलाई नभन्न उनीसँग आग्रह गरेकी थिइन्।  

यद्यपि ती साथीमार्फत जेसिकाकै अर्की मिल्ने साथीले पनि त्यो कुरा थाहा पाइन्। हुँदाहुँदै त्यो खबर उनका धेरै साथीसम्म पुग्यो। उनीहरूले ‘यस्तो कुरा बाहिर ल्याउनुपर्छ’ भनेर ढाडस दिए। तर जेसिकालाई घरपरिवार र आमाबुवाको ठूलो डर थियो। त्यही कारण उनले ल्याबमा भएको कुरा पनि साथीहरूलाई भनेकी थिइनन्। यो कुरा पनि कसैलाई नभनेरै मर्छु भन्ने उनको सोच थियो।

उनले जस्तो कुकृत्य भोगिन् त्यस्तो नभए पनि ती शिक्षकबाट अरू बालिकाहरूले पनि दुर्व्यवहार भोगेका थिए। ‘पिकनिक’ गएका बेला तीन शिक्षकले कक्षा ९ मा अध्ययनरत एक छात्राको कपडा नै च्यातिदिएका थिए। शिक्षकका अगाडि बालिकाहरू निरीह बन्नुको विकल्प थिएन। तर जेसिकामाथि भएको जबर्जस्ती करणीलाई ‘जे जसरी भए पनि बाहिर ल्याउनुपर्छ’ भन्ने सोच उनका साथीहरूले बनाए। 

कक्षा १० मा अध्ययनरत एक छात्रले जेसिकामाथि शिक्षकले अपराध गरेको भन्दै वडाध्यक्ष र आसपासका जान्नेमान्ने मानिसलाई जानकारी दिए। त्यसपछि बाहिरियो जेसिकामाथि शिक्षक श्रेष्ठ र प्रधानाध्यापक गुरुङको कर्तुत। यौन दुर्व्यवहार र जबर्जस्ती करणी गर्ने शिक्षक श्रेष्ठ र अश्लील मेसेज तथा फोटो, भिडियो पठाउने प्रधानाध्यापक गुरुङ २०८० पुस ८ गते स्कुलबाटै पक्राउ परे। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ र अपराध पीडित संरक्षण ऐनअनुसार काभ्रे जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता भयो। 

वडाध्यक्ष भन्छन्, “हामीलाई जानकारी दिने कक्षा १० मा अध्ययनरत बाबुलाई धन्यवाद दियौँ। दुवै शिक्षकलाई सँगै राखेर सोधपुछ गर्दा बालिकामाथि उनीहरूले बारम्बार यौन दुर्व्यवहार गरेको र एक जनाले त बलात्कारसमेत गरेको देखियो। यस्ता अपराधबाट बालिकाहरूलाई जोगाउन पछि प्रहरीको समन्वयमा वडाका विभिन्न विद्यालयमा पुगेर विद्यार्थी र शिक्षकहरूसँग संवाद पनि गरेको थिएँ।”

दुर्व्यवहार हुन छाडेन
शिक्षकले छोरीमाथि निरन्तर गरेको अत्याचारविरुद्ध कानूनी लडाइँ लडिरहेका जेसिकाका बुवा न्याय पाउनेमा अझै शंका गर्छन्। भन्छन्, “नानीले तीन महिनासम्म पनि हामीलाई यो कुरा थाहा दिइनन्। पक्राउ परेका एक जना छुटिसक्दा अर्कालाई पनि छुटाउने प्रयास नहोस्। अपराध गर्ने शिक्षकलाई दह्रो दण्ड हुनुपर्छ। त्यो नभएसम्म लडाइँ रोकिने छैन।”

शिक्षकका आफन्तले जेसिकाको परिवारलाई पैसाको लोभ देखाएर मिल्न दबाब नदिएका होइनन्। तर दुवै शिक्षकलाई कानूनबमोजिम जेल सजाय हुनुपर्ने परिवारको माग छ। “अपराधीहरूले जे पनि गर्दा रहेछन्। हामीलाई पैसाको प्रलोभन पनि आयो। त्यो होइन हामीलाई न्याय चाहिएको हो,” उनका बुवा भन्छन्।

जेसिकामाथि यौन दुर्व्यवहार गर्ने प्रधानाध्यापक गुरुङ धरौटीमा छुटिसकेका छन्। यौन दुर्व्यवहार र बलात्कार गरेका शिक्षक श्रेष्ठ भने अहिले पुर्पक्षका लागि थुनामा छन्।

जेसिकाका बुवाले थपे, “प्रअ भनेको सम्पूर्ण शिक्षकदेखि विद्यालयको नेतृत्व गर्ने मान्छे हो। त्यस्तो मान्छेले एउटा १४ वर्षकी बालिकालाई यौनसम्बन्धको प्रस्ताव राख्दै मेसेज पठाएको छ। उसको सहपाठीले पटकपटक यातना दिएर बलात्कार गरेको छ। यी अपराधीलाई कुनै हालतमा छोड्नुहुन्न। बल्लबल्ल छोरीलाई यो अवस्थामा पुर्‍याएका छौँ। पछि पो थाहा भयो, छोरीलाई हामीले झन्डै गुमाइसकेका रहेछौँ।”

घरपरिवारको बलियो साथ, सहयोग र हौसलाले नै आफूमाथि अपराध गर्ने शिक्षकलाई दण्ड सजाय हुनुपर्ने आँट र अडान राख्न सक्ने भएकी जेसिका भन्छिन्, “आज मेरो जीवनमा यस्तो भयो। भोलि मजस्ता कैयौँ बालबालिकामाथि पनि यस्तै हुन सक्छ। अपराध गर्ने शिक्षकलाई सजाय हुनैपर्छ।”

उनी अहिले स्कुलका अन्य शिक्षक र साथीहरूबाट पनि टाढा भएको महसुस गर्दैछिन्। “पहिला राम्रोसँग बोल्ने सर/म्यामहरू अहिले खुलेर बोल्नुहुन्न। कक्षामा मैले जे गरूँ, जस्तो गरूँ कुनै वास्ता गर्नुहुँदैन। साथीहरू पनि त्यति बोल्दैनन्,” उनी भन्छिन्, “म्यामहरूले अहिले मेरो होमवर्कको वास्ता गर्नुहुन्न। पहिला तिमीजस्तो विद्यार्थी हुनुपर्छ भन्ने मिसहरू पनि अहिले बोल्नुहुन्न।”

अहिले पनि जेसिका विद्यालयका शिक्षकहरूबाट अदृश्य रूपमा दुर्व्यवहार भोगिरहेकी छन्। घरको आर्थिक अवस्था कमजोर छ। यदि आर्थिक अवस्था बलियो भएको भए त्यो ठाउँ छाडेर अन्यत्रै पढ्ने उनको सोच छ। जेसिका भन्छिन्, “अब यो स्कुल पढ्न सकिँदैन होला। सर म्यामहरूले पनि राम्रो व्यवहार गर्नुहुन्न।”

“भौतिक अपराध एक/दुई जना शिक्षकले गरे। अहिले मानसिक रूपमा अरूले गरिरहेका छन्। पहिला राम्रोसँग बोल्ने म्यामहरू अहिले आँखा तरेर हिँड्नुहुन्छ भनेर छोरीले सुनाउँछिन्। हाम्रा स्कुलमा कस्ता शिक्षक छन्? के पढाइरहेका छन्?” जेसिकाका बुवा प्रश्न गर्छन्। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठका अनुसार जेसिकामाथि यौन दुर्व्यवहार गर्ने कार्यमा संलग्न प्रधानाध्यापक गुरुङ अदालतको आदेशअनुसार एक लाख रुपैयाँ धरौटीमा छुटेका हुन्। मक्षनारायण श्रेष्ठ भने पुर्पक्षका लागि थुनामा छन्। 

जेसिकाले बनाएको दैनिक पढाइको समयतालिका।

“पहिला पनि हामीले विद्यालयमा गएर शिक्षकहरूलाई यौन दुर्व्यवहार, बलात्कार, ‘ब्याडटच’, ‘गुड चट’बारे जानकारी गराएका थियौँ,” डीएसपी श्रेष्ठ भन्छन्, “यो घटनापछि स्कुल–स्कुलमा गएर शिक्षक र विद्यार्थी दुवैलाई सिकाएका छौँ।”

फितलो कारबाही
काभ्रेका मानवअधिकारकर्मीहरू भने जेसिका मात्र नभई जिल्लाका धेरै बालबालिकाहरू शिक्षकबाट दुर्व्यवहार, यौन दुर्व्यवहार र बलात्कारको शिकार भइरहेको बताउँछन्। ती शिक्षकहरूलाई घटनाको प्रकृतिअनुसार कारबाही नभएको उनीहरूको ठहर छ।

काभ्रेमा रहेर मानवअधिकारका क्षेत्रमा काम गरिरहेकी सुमित्रा आचार्य भन्छिन्, “विद्यालयमा बालबालिकामाथि हुने अपराधका घटनाहरू बढिरहेका छन्। त्यसमध्ये पनि बालिकामाथिका यौन दुर्व्यवहार र जबर्जस्ती करणीका घटना उल्लेख्य छन्। तर विडम्बना, त्यस्ता हर्कत गर्ने शिक्षकहरूलाई राज्यले सहज उन्मुक्ति दिइरहेको छ।”

“परिवार र समाजको डरले धेरै बालिका शिक्षकले गरेका दुर्व्यवहार र जबर्जस्ती करणीबारे बोल्न सकिरहेका हुँदैनन्। प्रहरीसम्म पुगेका उजुरीहरू पनि टुंगोमा पुग्दैनन्। शिक्षक पक्राउ पर्छ। केही समयपछि छुटिहाल्छ। कानूनबमोजिम उनीहरूमाथि दण्ड हुँदैन। उल्टो बालिकाले समाज, स्कुल र परिवारबाट समेत अपमानित महसुस गर्नुपरेको छ,” उनले भनिन्।

२०८० साउन १९ गते कक्षाकोठामै यौन दुर्व्यवहार गरेको आरोपमा काभ्रेको पनौती नगरपालिका–२ स्थित कुशादेवी माध्यमिक विद्यालयका गणित शिक्षक छविरमण गौतम पक्राउ परे। इलाका प्रहरी कार्यालय बनेपाका डीएसपी लालध्वज सुवेदीका अनुसार गौतमविरुद्ध ११ जना छात्राले सामूहिकरूपमा किटानी जाहेरी दिएका थिए। तर गौतम एक महिना पनि थुनामा नबसी ५५ हजार धरौटी बुझाएर गत भदौ ५ गते रिहा भए। “हाम्रा कक्षा कोठाहरू असुरक्षित भए। कानूनमा त लेखिएको छ। तर व्यवहारमा न्याय सजिलो छैन। पीडितले झन् बढी पीडा खप्नुपरेको छ,” आचार्यले भनिन्।

डरलाग्दो तथ्यांक
बालिकाहरूमाथि स्कुलमा शिक्षकबाट भएका दुर्व्यवहार, यौन दुर्व्यवहार र बलात्कारका घटना बढिरहेको नेपाल प्रहरीको तथ्यांकले पनि प्रस्ट्याउँछ (हे., पहिलो ग्राफ)। आर्थिक वर्ष २०७५/०७६ देखि २०८०/८१ मंसिरसम्मको अवधिमा ८५ जना शिक्षकले विद्यार्थीमाथि अपराध गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

त्यसमध्ये ५५ शिक्षक सरकारी स्कुलका छन् भने ३० शिक्षक निजी स्कुलका हुन्। नेपाल प्रहरीले उपलब्ध गराएको पाँच वर्षको तथ्यांकअनुसार ७१ जना शिक्षकले स्कुलमा बालिकामाथि कसुर गरेका छन्। त्यसमध्ये ५४ जना शिक्षकले बालिकामाथि यौन दुर्व्यवहार र १७ जनाले जबर्जस्ती करणी गरेका थिए। काभ्रेमा मात्र शिक्षकबाट चार बालिकामाथि जबर्जस्ती करणी भएको छ भने पाँच बालिकामाथि विद्यालयमै यौन दुर्व्यवहार भएको प्रहरीको तथ्यांक छ।

पछिल्लो एक वर्षको प्रहरी तथ्यांकअनुसार देशभरका विद्यालमा २१ शिक्षकले विद्यार्थीमाथि अपराध गरेका छन्। तीमध्ये १० जना शिक्षकले बालिकालाई यौन दुर्व्यवहार गरेका छन् भने चार जनाले जबर्जस्ती करणी गरेका छन्। बाँकीले बालबालिकामाथि अभद्र व्यवहार गरेको पाइयो। काभ्रेमा मात्र शिक्षकबाट दुई जना बालिकामाथि जबर्जस्ती करणी भएको छ भने तीन जना बालिकामाथि यौन दुर्व्यवहार भएको छ। नेपाल प्रहरीको तथ्यांकले शिक्षकबाट बालिकामाथि भएका यौन दुर्व्यवहार र जबर्जस्ती करणीका घटना काभ्रे जिल्लामा सबैभन्दा बढी देखाउँछ। 

प्रदेशगत तथ्यांकअनुसार त्यस्ता घटनामा शिक्षकबाट पीडित बालिकाको संख्या कोशी र बागमती प्रदेशमा सबैभन्दा धेरै तथा कर्णाली प्रदेशमा सबैभन्दा कम रहेको छ। कोशीमा २७, बागमतीमा २६, लुम्बिनीमा १५, गण्डकीमा १०, मधेशमा तीन, सुदुरपश्चिममा तीन र कर्णालीमा एक शिक्षकले विगत पाँच वर्षमा बालिकामाथि अपराध गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ। जबकि काभ्रे जिल्लामा मात्र यस अवधिमा नौ वटा घटनाहरू भएका छन्। 

काभ्रे जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्का बालिकाहरूमाथि आफ्नै शिक्षकबाट भएका यौनजन्य हिंसा र त्यसको रोकथामका लागि विगतमा गरिएका विद्यालयलक्षित कार्यक्रमहरूको प्रभावबारे अध्ययन भइरहेको बताउँछिन्। “केही विद्यार्थीहरूमा त सचेतना रहेछ, उनीहरू प्रहरीसम्म आइपुगे। अधिकांश नपुगेका होलान्। अब स्कुलका शिक्षक र बालबालिकाहरूलाई विभिन्न माध्यमबाट सुसूचित गराएर यस्ता जघन्य अपराधमा संलग्न शिक्षकलाई कानूनी दायरमा ल्याउँछौँ,” उनले भनिन्। 

प्रहरीको तथ्यांकमा नआएका घटनाहरू पनि धेरै हुनसक्ने भएकाले स्कुलका बालबालिकासँगै शिक्षकलाई पनि सचेत बनाउनु आवश्यक रहेको प्राध्यापक डा. सुशन आचार्य बताउँछिन्। उनी भन्छिन्, “लिखितरूपमा त हाम्रो कानून कडा बन्यो। तर व्यवहारमा त्यस्तो नदेखिनु अर्को विडम्बना हो। शिक्षकबाट भएका दुर्व्यवहार, यौन दुर्व्यवहार र बलात्कारका घटनाहरू केही बाहिरिन्छन्। प्रहरीमा दर्ता हुने तथ्यांक एउटा होला। यद्यपि घरपरिवार र समाजको डरले प्रायः बालिकाले निर्धक्क भएर बोल्नसक्ने अवस्था छैन। यसलाई राज्यले गम्भीररूपमा लिनुपर्छ।”

शिक्षक सेवा आयोगले परीक्षामा उत्तीर्ण शिक्षकलाई नियुक्तिको सिफारिस गर्नुअघि उनीहरूको चारित्रिक अभिलेख पनि हेर्नुपर्ने आचार्यको जोड छ। “कागजपत्रमा देखिने रेकर्ड हेर्न मिल्यो, अब त शिक्षक बनाउनुअघि प्रहरी रिपोर्ट नै लिनुपर्ने अवस्था आइसकेको छ। किनभने बालिकाहरू कक्षाभित्रै यौनजन्य दुर्व्यवहार भोगिरहेका छन्। त्यसमा संलग्न शिक्षकलाई सुधारगृहमा नै राख्नुपर्ने हुन्छ। तिनलाई मनोवैज्ञानिक परामर्शको पनि जरूरत छ,” उनले भनिन्। 

मिलापत्र गर्न घरपरिवारलाई दबाब दिने र बालिकाको इज्जत जान्छ भन्ने सोचाइले गम्भीर अपराध गर्ने शिक्षकहरूलाई पनि चाँडै उन्मुक्ति दिने प्रवृत्तिले थप बालिकाहरूलाई कक्षा कोठामै असुरक्षित बनाइरहेको आचार्यको निष्कर्ष छ। 

मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन २०७५ लगायतका विभिन्न ऐनकानून र अन्तराष्ट्रिय सन्धिहरू यस्ता कसुरमा आकर्षित हुने अधिवक्ता शशी शस्नेत बताउँछिन्। कानून पर्याप्त हुँदाहुँदै पनि कार्यान्वयनमा कडाइ नहुँदा दण्ड सजायहरू फितलो भइरहेको उनको टिप्पणी छ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले जबर्जस्ती करणीलाई कसुरजन्य अपराध ठहर्‍याएको छ। मुलुकी अपराध संहिता २०७४ को दफा २२५ ले बालयौन दुरूपयोग गर्न बन्देज लगाएको छ। कसैले करणीका आशयले बालबालिकालाई अस्वाभाविकरूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी कुनै अंग छोएमा वा समातेमा, आफ्नो यौनांग छुन वा समाउन लगाएमा वा अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिने अधिवक्ता बस्नेतको व्याख्या छ। 

यसमा बालबालिकासम्बन्धी ऐन २०७५ पनि आकर्षित हुन्छ। “बालिकामाथि बलात्कार तथा यौनजन्य हिंसा प्रायजसो आफन्त, संरक्षक, माथवर तथा नजिकका चिनजान व्यक्ति र शिक्षकबाट हुने गरेका छन्। त्यसले बालबालिकालाई परनिर्भर हुनुपर्ने, आफैँ निर्णय गर्न नसक्ने एवं खाई खेली हुर्कने बेलामा शारीरिक, मानसिक, मनोवैज्ञानिक तथा भावनात्मकरूपमा प्रताडित भई अत्यन्त पीडादायी जीवन जिउनु परिरहेको छ,” उनले भनिन्।

यौन चेतनाको विकास भइनसकेकाले आफूमाथि हुने यौनजन्य हिंसाको वयस्कसरह प्रतिकार गर्न सजग र सक्षम नहुने बालबालिकाले आफूमाथि गलत भएको महसुस गरी भित्रभित्रै हिनताबोध महसुस गर्ने अधिवक्ता बस्नेत बताउँछिन्। त्यसैले बालबालि आफूमाथि भएको यौनहिंसाका बारेमा बोल्न चाहँदैनन्। “आफूमाथि हिंसा भएपछि बालबालिकाले आफूलाई असहाय र एक्लो महसुस गर्छन् र डराउँछन्। त्यसकारण यौन हिंसालगत्तै यस विषयमा उनीहरूले बिरलै मुख खोल्ने गर्छन्,” उनले भनिन्। 


सम्बन्धित सामग्री