Monday, April 22, 2024

-->

औषधि उत्पादन र व्यापार दुवै घटेपछि संकटमा सिंहदरबार वैद्यखाना

वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन्। स्वास्थ्य मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा संस्था नै संकटतर्फ धकेलिएको छ।

औषधि उत्पादन र व्यापार दुवै घटेपछि संकटमा सिंहदरबार वैद्यखाना

काठमाडौँ– देशकै पुरानो सरकारी आयुर्वेद औषधि उद्योग ‘सिंहदरबार वैद्यखाना’ उत्पादन र व्यापार दुवै घटेपछि संकटमा परेको छ। 

२०५२ सालदेखि समिति बनाएर काम गर्दै आएको यो वैद्यखानाले देशमा उपलब्ध जडीबुटीको प्रयोग गरेर करिब १८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गरिरहेको थियो। तर अहिले औषधि उत्पादन र व्यापार दुवै घटेको छ। 

वैद्यखानाको व्यवस्थापनमा सरकारले पनि चासो दिएको छैन। बरु राजनीतिक हस्तक्षेपका कारण वैद्यखाना थप संकटउन्मुख भएको छ। वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा संस्था नै संकटतर्फ धकेलिएको वैद्यखानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले बताए। 

“मन्त्रालयबाट कार्यकारी निर्देशक परिवर्तन भइराख्ने भयो। जसले गर्दा वैद्यखानाले स्थायित्व पाउन सकेन,” उनले भने, “त्यसको प्रत्यक्ष असर यसको उत्पादन र व्यापारमा परेको छ। आयुर्वेद औषधि उत्पादन र व्यापार दुवै घटेको छ।”

उनका अनुसार वैद्यखानाले २०७४/०७५ मा पाँच करोड ३४ लाख रुपैयाँको औषधि बिक्री गरेको थियो। २०७९/०८० मा आइपुग्दा व्यापार एक करोड २७ लाख रुपैयाँमा झरेको छ। यसरी हेर्दा पाँच वर्षमा वैद्यखानाको व्यापार करिब तेब्बरले घटेको छ। 

वरिष्ठ मार्केटिङ अधिकृत रेग्मीले भने, “सरकारले सहयोग गर्न छाड्यो। यहाँ कार्यकारी निर्देशक नियुक्त भएर काम गर्ने योजना बनाउन नपाउँदै फेरबदल भइहाल्छ। जसले गर्दा यो उद्योग नै संकटमा पुगेको हो।”

उनका अनुसार पहिले वैद्यखानाले १०० भन्दा बढी प्रकारका औषधि उत्पादन गर्ने गरेको थियो। अहिले भने कर्मचारीलाई पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्ड अनुसार औषधि उत्पादन गर्न ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जीएमपी) मा जानुपर्छ। तर चार शताब्दीको लामो इतिहास बोकेको यो वैद्यखानामा औषधि उत्पादन गर्ने उपकरण भने पुराना प्रयोग हुने गरेका छन्। 

“यहाँ सरकारकातर्फबाट तीन जना मात्रै कर्मचारी हुनुहुन्छ। बाँकी समितिका तर्फबाट ४१ जना छौँ। अहिले त तलब खाने पैसासमेत अभाव हुने स्थिति बनेको छ,” उनले भने। उनका अनुसार केही महिनादेखि वैद्यखानाले ‘फिक्स डिपोजिट’को पैसा झिकेर तलब खुवाइरहेको छ। कच्चा पदार्थ खरिद गर्न बजेटको समस्या छ। 

व्यवस्थापन समिति आफैँले मात्रै गर्न सक्ने अवस्था छैन। वैद्यखानालाई सरकारले आवश्यक बजेट सहयोग गरेमा पुरानै अवस्थामा फर्काउन सकिने उनको भनाइ छ। “सरकारले उपकरण खरिद र व्यवस्थापनमा सहयोग गरिदिने हो भने पाँच वर्षमा फेरि पहिलेकै अवस्थामा फर्काउन सक्छौँ,” उनले भने।


सम्बन्धित सामग्री