Thursday, April 25, 2024

-->

रोजगारीका लागि कुवेत भनेर कोलम्बो पठाउने व्यक्ति पक्राउ

वैदेशिक रोजगारीको लागि कुवेत भनेर श्रीलंकाको कोलम्बो पुर्‍याई मानव बेचबिखनमा संलग्न एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

रोजगारीका लागि कुवेत भनेर कोलम्बो पठाउने व्यक्ति पक्राउ
फाइल तस्वीर

काठमाडौँ– वैदेशिक रोजगारीको लागि कुवेत भनेर श्रीलंकाको कोलम्बो पुर्‍याई मानव बेचबिखनमा संलग्न रहेका एक जना पक्राउ परेका छन्। नवलपरासी प्रतापपुरका ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मियालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

ती व्यक्तिले घरको आर्थिक अवस्था कमजोर भएकी एक पीडित महिलालाई कुवेतमा मासिक नेपाली २० देखि २२ हजार रुपैयाँ तलब हुने भनी प्रलोभनमा पारेर बेचबिखन गरेका थिए। घरेलु काममा लगाउने भन्दै २०७३ को जेठ १५ गते सुनौली नाका हुँदै भारतको नयाँदिल्ली पुर्‍याई त्यहाँ भएको एजेन्टलाई बुझाएका थिए। ती एजेन्टले दिल्लीबाट १० दिनको भिजिट भिसामा कोलम्बो पुर्‍याएको अनुसन्धान ब्युरोले जनाएको छ।

उनलाई श्रीलंका जानेबेला बुद्धको दर्शनको लागि जान लागेको भन्न लगाएका थिए। कोलम्बोमा पुगेपछि श्रीलंकन मूलका एजेन्टले पासपोर्ट खोसेर पीडितलाई बन्धक बनाएर राखेका थिए। त्यहाँ जबरजस्ती काममा लगाउने, भनेको काम गर्न नसके शारीरिक र मानसिक यातना दिने गरेका थिए। त्यसरी बन्धक बनाएर राखेको ६८ दिनपछि नेपाल प्रहरी तथा विभिन्न संघसंस्थाको सहयोगमा ती महिलाको उद्धार गरिएको थियो।

उद्धार गरेपछि पीडितले दिएको जाहेरीका आधारमा ब्युरोले अनुसन्धान अगाडि बढाएको थियो। सोही क्रममा फरार प्रतिवादीलाई लुकिछिपी बसेको अवस्थामा ब्युरोले काठमाडौँको नयाँ बसपार्कबाट मंगलबार पक्राउ गरेको जनाएको छ। 

उक्त घटनामा संलग्न अन्य अभियुक्तको खोजतलास तथा थप अनुसन्धान भइरहेको ब्युरोका सूचना अधिकारी ज्ञानेन्द्रप्रसाद फुयालले बताए।


सम्बन्धित सामग्री