काठमाडौँ– लेबनानविरुद्ध पुनरागमन जित दर्ता गर्दै नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ।
पहिलो हाफमा १–० ले पछि परेको अवस्था उल्टाउँदै लेबनानलाई २–१ ले पराजित गरेको हो। यससँगै नेपालले फाइनलमा जोर्डनसँगको भेट पक्का गरेको छ।
नेपालको जितमा साबित्रा भण्डारी र प्रीति राईले गोल गरे। प्रीतिले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई फाइनल पुर्याइन्। विमला चौधरीको कर्नरकिक क्लियर भएपछि बक्स बाहिरबाट प्रीतिले गरेको प्रहारले जाली चुमेको थियो।
साउदी अरबमा भएको दोस्रो सेमिफाइनलमा अग्रता भने लेबनानले लिएको थियो। ३८औँ मिनेटमा नेपालकी पूजा रानाले गोलकिपर अन्जिला सुब्बालाई दिएको ब्याकपास पोस्टमा गएको थियो ।
७६औँ मिनेटमा नेपालले बराबरी गोल गर्यो। सावित्राको पहिलो प्रहार गोलरक्षक लमिटाले बचाएपछि डिफेन्डर अमिना करिमले क्लियर नगरेपछि सावित्राले गोल गर्न सफल भइन्। प्रतियोगितामा यो उनको नवौँ गोल हो।
अब फाइनलमा नेपाल र जोर्डन भिड्नेछन्। जोर्डन प्यालेस्टाइनलाई हराउँदै फाइनल प्रवेश गरेको हो।