Thursday, April 25, 2024

-->

नेपालले पराजयबाट शुरू गर्‍यो टी२० शृंखला

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन मात्रै बनाउन सक्यो।

नेपालले पराजयबाट शुरू गर्‍यो टी२० शृंखला

काठमाडौँ– घरेलु टोली नेपालले त्रिकोणात्मक टी२० आई शृंखला पराजयबाट शुरू गरेको छ। मंगलबार भएको खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको हो।

नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन मात्रै बनाउन सक्यो।

नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। कप्तान रोहितकुमार पौडेल ४२, कुशल मल्ल ३२, सोमपाल कामी २६ र गुल्शनकुमार झाल १२ रनमा आउट भए। अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन्।

नामिबियाका रुबेन ट्रम्पलम्यानले सर्वाधिक ४ विकेट लिए। बर्नार्ड स्कोल्ज, जान फ्रिलिंक र निकोल लोफ्टि-इटनले २/२ विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन बनायो।

नामिबियाका लागि निकोल लोफ्टि-इटनले उत्कृष्ट ब्याटिङ गर्दै शतक प्रहार गरे। उनले ३६ बलमा ११ चौका र आठ छक्काको मद्दतमा सर्वाधिक १०१ को योगदान दिए।

उनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडे। विश्व कीर्तिमान बनाउने क्रममा इटनले ११ चौका र ८ छक्का प्रहार गरे। त्यसअघि कुशलले गत असोजमा चीनमा भएको एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मंगोलियाविरुद्ध ३४ बलमा शतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए।

त्यसैगरी मलना क्रुगरले ४८ बलमा ६ चौका र २ छक्काको मद्दतमा अविजित ५९ रन बनाए। त्यस्तै, माइकल भान लिंगेनले २० रन बनाउँदा जेपी कोट्जेले ११ रन बनाए।

नेपालका कप्तान रोहित पौडेलले २ विकेट लिए। करण केसी र अविनाश बोहराले १/१ विकेट लिए।


सम्बन्धित सामग्री