Thursday, April 25, 2024

-->

पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्छन्, ‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’

राजा त्रिभुवन भारत निर्वासनमा जाँदा आफूहरू खुला राजनीतिमा आएको र प्रजातन्त्रका पक्षमा नारा लगाएको उनी स्मरण गर्छन्।

पहिलो आमनिर्वाचनका उम्मेदवार उप्रेती भन्छन् ‘राजनीतिमा त्यागको भावना नहुँदा भ्रष्टाचार मौलायो’

काठमाडौँ– विसं २०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा धादिङबाट नेपाली कांग्रेसको उम्मेदवार रहेका नेता भरत उप्रेती वर्तमान राजनीतिमा त्यागको भावना नहुँदा मुलुकमा भ्रष्टाचार मौलाएको बताउँछन्।

भ्रष्टाचारमुक्त नभएसम्म देश समृद्ध नहुने उल्लेख गर्दैै उनले देश र जनताका लागि राजनीतिक नेतृत्वले त्याग गर्न सक्नुपर्ने सुझाव दिएका छन्। “आफैँ खाऔँ आफैँ मोटाऊँ भन्नेतिर लाग्नुहुँदैन। एकजुट भएर सबै देश बनाउन लाग्नुस्,” उनले भने। सबै नागरिकले सुख शान्तिसँग जिउन पाए मात्र प्रजातन्त्र दिगो हुने नेता उप्रेतीको धारणा छ।

विसं १९८८ मा धादिङ नौबिसेमा जन्मिएका नेता उप्रेती ११ वर्षको हुँदा अध्ययनका लागि काठमाडौँ आएका थिए। एसएलसी परीक्षा दिने तयारीमा रहेका बेला २००६ सालमा गुरु नरहरि दवाडीले आफ्नो निवास जैसीदेवलमा ट्युसन पढाउने क्रममा पहिलोपटक प्रजातन्त्रका बारेमा जानकारी गराएको उनी सम्झिन्छन्।

“कांग्रेसका संस्थापक नेताहरू विपी र गणेशमानजी कसरी र किन निर्वासनमा जानुभयो भनेर जानकारी गराउनुका साथै प्रजातन्त्रको संघर्षका बारेमा सुनाउनु भएपछि तत्कालीन शासकबाट मुलुकमा अन्याय भएको रहेछ भन्ने दिमागमा पर्‍यो। त्यसपछि हाम्रो भेट दयाविर सिंहसँग भयो। उहाँले हामीलाई प्रजातन्त्रका बारेमा धेरै सिकाउने र प्रजातन्त्रको आन्दोलनका काममा लगाउनुभयो,” उनले भने।

विसं २००७ देखि केही साथीसहित आफूहरू प्रजातन्त्रको आन्दोलनका क्रममा पम्पलेट र अन्य साम्रगी आदानप्रदान गर्ने क्रममा भूमिगत भएको जानकारी गराउँदै उनी राजा त्रिभुवन भारत निर्वासनमा जाँदा आफूहरू खुला राजनीतिमा आएको र प्रजातन्त्रका पक्षमा नारा लगाएको स्मरण गर्छन्।

जैसीदेवलमा रहेको कांग्रेसको केन्द्रीय कार्यालयमा नेता कृष्णप्रसाद भट्टराईले पार्टी सदस्यता दिएर पार्टी संगठन बनाउनतर्फ लागेको उनको भनाइ छ। “त्यसपछि विपी र गणेशमानजीसँग भेट हुन थाल्यो, विपीले मलाई धाप मार्दा गर्वानुभूति भयो, भेटघाटका लागि गणेशमान सिंहको घरमा नियमित गइन्थ्यो,” उनले भने। त्यसपछि उनी २०१७ सालदेखि विभिन्न समयमा गरी २०५३ सालसम्म धादिङ कांग्रेसको नेतृत्वको जिम्मेवारी निर्वाह गरे।  

राजनीतिकै क्रममा विसं २०१५ मा सम्पन्न निर्वाचनमा नेता उप्रेतीले धादिङ तत्कालीन १०४ क्षेत्र नं मा कांग्रेसबाट टिकट पाए। तर सो क्षेत्रबाट गोर्खा परिषद्का भरतशमशेर राणा निर्वाचित भए। नेता उप्रेतीले ५ हजार मत पाए भने राणाले ६ हजार मत प्राप्त गरे।

पहिलो आमनिर्वाचनपछि बनेको विपी नेतृत्वको सरकारले क्रान्तिकारी र ऐतिहासिक काम गर्दागर्दै राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेको उनी बताउँछन्। नेता उप्रेतीले पुस १ गतेको ‘कु’ भएको दिन आफू धादिङको बेनीघाटमा शोसक सामन्तीलाई अन्त्य गर्ने ठूलो आमसभामा रहेको स्मरण गरे।

त्यसपछि राजा महेन्द्रले राजनीतिक कु गरेको थाहापछि विभिन्न स्थानमा लुक्दै भाग्दै संघर्ष गर्दै उप्रेती १० वर्ष भारत निर्वासनमा बसे। विसं २०२६ सालमा राजनीतिक अवस्था केही खुकुलो भएपछि नेपाल फर्केर उनी राजनीतिमा अझ बढी सक्रिए भए। “विपी उपचारका लागि जेटबाट छुटेपछि उहाँ र गणेशमानसँग नियमित भेट हुन्थ्यो। विपी मेरो निवासमा आउने, खाना खाने गर्नुहुन्थ्यो,” नेता उप्रेती भन्छन्।

यस्तै, नेता कृष्णप्रसाद भट्टराईले वर्तमान पार्टी सभापति शेरबहादुर देउवामा कांग्रेस र मुलुकलाई हाक्ने क्षमताको नेतृत्वपन देखेर तत्कालीन बेलायती राजदूतलाई भनेर अध्ययनका लागि बेलायत पठाएको उनी बताउँछन्। काठमाडौँमा भएको एक बम काण्डका बेला देउवासँगै आफू जेलमा रहँदा उनले क्रुर यातना सहेर पनि देखाएको हिम्मतबाट आफू निकै प्रभावित भएको र प्रशंसक रहेकोसमेत नेता उप्रेती बताउँछन्।

आज फागुन ७ देखि शुरू हुन लागेको कांग्रेसको महासमिति बैठकलाई शुभकामना सन्देश दिदै उनले पार्टीमा गुटउपगुट नगरी एकताका साथ मिलेर अघि बढ्न आग्रह गर्दै पार्टीलाई कमजोर हुने कुनै पनि काम नगर्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

हाल काठमाडौँको नयाँ बानेश्वरमा बस्दै आएका नेता उप्रेती प्रजातन्त्र पुनःस्थापनापश्चात २०४८ सालमा पनि धादिङबाट कांग्रेसको उम्मेदवार भएका थिए तर विजयी भएनन्। प्रजातन्त्रको आन्दोलनमा लागेका कारण नेता उप्रेतीलाई तत्कालीन शासकले दुई पटक सर्वस्व हरणसहित जन्मकैदको फैसला सुनाएको थियो।


सम्बन्धित सामग्री