Monday, December 02, 2024

-->

काठमाडौँ–तराई द्रुतमार्ग: जेठभित्र २ सुरुङको ‘ब्रेक थ्रु’

द्रुतमार्गको खोकना–बुङमती क्षेत्रमा २१४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ। १६५ रोपनीको भने मूल्य निर्धारण हुन सकेको छैन।

काठमाडौँ–तराई द्रुतमार्ग जेठभित्र २ सुरुङको ‘ब्रेक थ्रु’

निजगढ– राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ। माघ मसान्तसम्म आयोजनाको ३०.९६ प्रतिशत भौतिक र ३१.५७ प्रतिशत वित्तीय प्रगति भएको छ। 

मुआब्जा वितरण तथा जग्गा अधिग्रहण हुन बाँकी खोकना क्षेत्र र अदालतमा मुद्दा परेका ठेक्का प्रक्रियामा बाहेक कामको प्रगति सन्तोषजनक रहेको नेपाली सेनाका प्राविधिक सहायक रथी तथा आयोजना प्रमुख विकास पोखरेलले जानकारी दिए। 

“ठेक्का लागिसकेका काममा प्रगति राम्रो छ। तोकिएको समय २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखेका छौँ,” उनले भने। 

७१ किलोमिटर लम्बाइ रहेको सो आयोजना काठमाडौँमा ४.६, ललितपुरमा ९, मकवानपुरमा ४९.७० र बारामा ७.६ किलोमिटर पर्छ। आयोजनाको कूल १३ निर्माण प्याकेज रहेकामा प्याकेज नम्बर १ देखि ७ र १० को  खरिद प्रक्रिया सम्पन्न भई कार्यान्वयनको चरणमा छ। प्याकेज नम्बर ८ (क), ८ (ख), ९ (क) र ९ (ख) को भने खरिद प्रक्रिया नै विवादित छ। पटक–पटक ठेक्का आह्वान गर्दा पनि यी चार प्याकेजको खरिद प्रक्रिया टुंगिन सकेको छैन। अहिले यसको मुद्दा पाटन अदालतमा विचाराधीन छ। 

त्यसैगरी, प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना क्षेत्रमा द्रुतमार्गको शुरू विन्दु निर्धारण, सो क्षेत्रको सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण विवाद समाधान गर्न बाँकी छ। यही कारणले सो क्षेत्रमा आयोजनाको खरिद प्रक्रिया शुरू हुन सकेको छैन। अहिले आयोजनाको करिब ९५ प्रतिशत प्याकेज कार्यान्वयन तथा खरिद प्रक्रियामा गइसकेको आयोजनाको अपरेसन तथा कार्यान्वयन महाशाखा प्रमुख इन्दिवर गुरुङले बताए। 

खरिद प्रक्रियामा गइसकेका काममा मुख्यगरी सुरुङमार्ग र पुल निर्माणको काम धमाधम भइरहेका छन्। अहिले निर्माणाधीन तीन सुरुङमार्गको कुल लम्बाइ ६.४१५ किलोमिटरमध्ये ४.३२५ किलोमिटर अर्थात् ६७.४३ प्रतिशत खन्ने काम सकिएको छ।

लेनडाँडा सुरुङमार्ग वैशाखभित्र, धेद्रे सुरुङमार्ग जेठभित्र र महादेवटार सुरुङमार्ग असोज तथा कात्तिकभित्र ‘ब्रेक थ्रु’ गरिसक्ने गरी काम भइरहेको आयोजनाका इन्जिनियर विनायक शर्माले जानकारी दिए। एउटा सुरुङमार्गमा हरेक दिन औसत तीन मिटर हाराहारी खन्ने काम भइरहेको उनको भनाइ छ।

महादेवटार सुरुङमार्गको लम्बाइ ३.३५५ किलोमिटरमध्ये हालसम्म १.९४८ किलोमिटर सुरुङ खन्ने काम सकिएको छ। त्यसैगरी, धेद्रे सुरुङमार्गको कुल लम्बाइ १.६३ किलोमिटरमध्ये हालसम्म १.१७३ किलोमिटर सुरुङ खनिसकेको छ। लेनडाँडा सुरुडमार्गको लम्बाइ १.४३ किलोमिटर रहेकामा १.२०४ किलोमिटर खनिएको छ।

आयोजनाको ६ स्थानमा सुरुङमार्ग छन्। सबै सुरुङमार्गको कुल लम्बाई १०.५५ किलोमिटर छ। यसमा देवीचौरी सुरुङ एक किलोमिटर, सिसौँटार सुरुङ ०.३९, चन्द्राम भीर सुरुङ २.२५, महादेवडाँडा सुरुङ ३.३५५, धेद्रे सुरुङ १.६३० तथा लेनडाँडा सुरुङ १.४३० किलोमिटर छ।

त्यसैगरी, आयोजनामा कुल ८९ पुल बन्नेछन्। यसको कुल लम्बाइ १२.८८५ किलोमिटर हुनेछ। बुदुनेमा दुई विश्रामस्थल बन्नेछन् भने खोकना, बुदुने र निजगढमा इन्टरचेन्ज बन्नेछन्। त्यस्तै, टोलप्लाजा पनि खोकना, बुदुने र निजगढमा बन्नेछन्। 

द्रुतमार्गको सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर र तराई भू–भागमा २७ मिटर रहेको छ। आयोजना निर्माणका लागि अधिग्रहण गर्नुपर्ने कुल १५ हजार ४१६ रोपनी जग्गामध्ये सरकारी जग्गा १० हजार २४४ र व्यक्तिगत जग्गा पाँच हजार १७२ रोपनी छ। हालसम्म चार हजार ७७७ रोपनी जग्गा अधिग्रहण भइसकेको छ। ३९५ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको नेपाली सेनाले जनाएको छ। खोकना–बुङमती क्षेत्रमा २१४ रोपनी जग्गाको मूल्य निर्धारण भई मुआब्जा वितरण हुन बाँकी छ भने १६५ रोपनी जग्गाको मूल्य निर्धारण हुन सकेको छैन। यो क्षेत्रमा कुल ३७९ रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ।

मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार यो आयोजनाको निर्माणको जिम्मेवारी सेनाले पाएको थियो। गत वैशाखमा आयोजना सम्पन्न हुने समयावधि बढाएर २०८३ चैत मसान्तसम्म पुर्‍याइएको थियो। यो आयोजनाको प्रस्थान विन्दु खोकना हो भने अन्तिम विन्दु निजगढ हो। 


सम्बन्धित सामग्री