काठमाडौँ– ओपनर अनिल साह र तेस्रो नम्बरका ब्याटर भीम सार्कीको शतकप्रेरित नेपालले क्यानडाविरुद्धको तीन एक दिवसीय शृंखला ‘ह्वाइट वास’ गरेको छ। मंगलबार सम्पन्न अन्तिम खेलमा क्यानडालाई ९ विकेटले पराजित गर्दै नेपालले शृंखला ३–० ले ह्वाइट वास गरेको हो।
क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा १ विकेट गुमाएर २३४ रन बनायो।
करिअरको पहिलो शतक प्रहार गरेका अनिलले १२४ बलमा १२ चौका र २ छक्का प्रहार गरे। करिअरकै पहिलो शतक प्रहार गरेका भीमले १२९ बलमा ११ चौका १ छक्कासहित १०१ रन बनाए।
अनिल र भीमको कीर्तिमानी साझेदारी
पाँचौँ ओभरको तेस्रो बलमा ओपनर कुशल भुर्तेलले जीवनदान पाए। डिलन हेलिगरले फ्याँकेको बललाई उनले सिधा प्रहार गरेका थिए। तर, डिलनले समाउन सकेनन्। सोही ओभरको पाँचौँ बलमा डिलनले कुशललाई १३ रनमा बोल्ड गरे।
कुशलले १४ बलमा ३ चौका प्रहार गरे। ४.५ ओभरमा १–४५ को अवस्थामा नेपाल रहेको थियो। तर, त्यसपछि क्रिजमा आएका भीम र अनिलले १८९ रनको कीर्तिमानी साझेदारी गरे।
यसअघि नेपालका लागि सन् २०२३ को जुन १८ मा घरेलु टोली जिम्बाबेविरुद्धको एक दिवसीय विश्वकप छनोटमा कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो।
तेस्रो ओभरको चौथो बलमै विकेट गुमाएको क्यानडाका लागि श्रेयस मोभा र निखिल दत्तले सर्वाधिक ५४ रनको साझेदारी गरे।
३६.५ मा ५–१३२ रनको अवस्थामा रहेको बेला उनीहरूले छैटौँ विकेटका लागि उक्त साझेदारी गरेका थिए। ४६औँ ओभरको चौथो बलमा श्रेयस २९ बलमा १ चौकासहित २५ रनमा बनाएर मिडविकेटमा कुशल भुर्तेलबाट क्याच आउट भए।
४८औँ ओभरको पाँचौँ बलमा निखल अनिल साह र आरिफ शेखबाट रन आउट भए। उनले ६२ बलमा २ चौका र १ छक्कासहित ४५ रन प्रहार गरे। ४९औँ ओभरको तेस्रो बलमा डिलन हेलिगर ४ रनमा आउट भए। कप्तान साद बिन जाफर ३१ र शाहिद अहमजाई ५ रनमा अविजित रहे।
क्यानडाको खराब शुरूआत
‘डेब्यू ब्वाइ’ हेमन्त धामीले तेस्रो ओभरको चौथो बलमा थर्ड म्यानमा एरोन जोन्सनलाई ४ रनमा देव खनालबाट क्याच आउट गराए।
नवनित धालिवाला र श्रीमन्थ विजेरत्नेले तेस्रो विकेटका लागि ४८ रनले साझेदारी गरेका थिए। तर, १४औँ ओभरको अन्तिम बलमा आकाश चन्दले कभरमा श्रीमन्थलाई कप्तान रोहितकुमार पौडेलबाट क्याच आउट गराए। श्रीमन्थले २८ बलमा २ चौकासहित २२ रन बनाए।
क्यानडाले तेस्रो विकेट १९औँ ओभरको पहिलो बलमा गुमायो। निकोलस कृतन १२ बलमा ३ रन बनाए। उनलाई एक्स्ट्रा कभरमा भीम सार्कीले दोस्रो प्रयासमा क्याच आउट गरे। उनी कुशल मल्लको बलमा आउट भएका हुन्।
२३औँ ओभरको पहिलो बलमा आरिफ शेखले धालिवालालाई ४२ रनमा जीवनदान दिए। तर, २७औँ ओभरको अन्तिम बलमा उनी ललितनारायण राजवंशीको बलमा आकाशबाट ‘लङ अन’मा क्याच आउट भए। उनले ८२ बलमा ५ चौकासहित ५० रन बनाए।
धालिवाल र हर्ष थाकेरले चौथो विकेटका लागि २७ रनको साझेदारी गरेका थिए। ३६.५ ओभरमा हर्ष कुशल मल्लको बलमा एलबीडब्यू आउट भए। उनले ५७ बलमा २ चौकासहित २९ रन बनाए।
नेपालका लागि हेमन्त धामीले ८ ओभरमा ४९ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए। यू१९ टोलीबाट खेल्दै आएका हेमन्तले यसै शृंखलामार्फत सिनियर टोलीमा डेब्यू गरेका हुन्।
कुशल मल्लले २ विकेट लिँदा ललितनारायण राजवंशी र आकाश चन्दको नाममा १/१ विकेट रह्यो।
नेपालले एक खेलअगावै शृंखला २–० ले जितिसकेको थियो। पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो।
दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको थियो। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग२ को तयारीका लागि क्यानडासँग तीन खेलको एक दिवसीय शृंखला खेलेको हो।