Wednesday, July 24, 2024

-->

गरिबी दूर गर्ने भनी रोपिएको मसालाबाट किन त्रस्त छन् तराईवासी?

सपेता, भिक्स, मसाला पनि भनिने इक्युलिप्टिसले अक्सिजन प्रवाहमा खास योगदान नगर्ने विज्ञ बताउँछन्। अस्ट्रेलियाली जलवायुविज्ञ एलन रुटले पनि आफ्नो लेखमा यो पानीको स्रोतका लागि प्रतिकूल हुने जनाएका छन्।

गरिबी दूर गर्ने भनी रोपिएको मसालाबाट किन त्रस्त छन् तराईवासी

महोत्तरी– मधेशका धेरैजसो ठाउँमा घुर्‍यानदेखि खेतबारीका आलीमा इक्युलिप्टिस वनस्पति लगाइएका देखिन्छन्। करिब चार दशक पहिलेदेखि खोजीखोजी लगाइएको यो वनस्पतिले जग्गा रूखो बनाउने र आसपासमा पानीका स्रोत सुक्न थालेका भन्दै अहिले विरोध गर्न थालिएको छ‍। 

यो वनस्पतिलाई मधेशमा बोलीचालीमा सपेता, भिक्स र मसाला पनि भनिन्छ। पहिले खोजीखोजी यो वनस्पति लगाउनेहरूले नै अहिले पानीका स्रोत सुक्न थालेको भन्दै विरोध गर्न थालेका हुन्।

“बौवा, अई ठाम कइटा भूल छल, जहिया स मसाला रोपाक हुर्कैत गेला एम्भर सब भूल सुखागेल(बाबु, यहाँ कति जरुवा पानीका मूल थिए, रोपिएका मसालाका रूख हुर्कँदै गएपछि जरुवाका मूल सबै सुके)”, आफ्नो बस्तीको पुरानो बडहरी जलाधार भएको ठाउँ देखाउँदै महोत्तरीको भङ्गाहा–४  रामनगरका ७० वर्षीय शेष जव्वार भन्छन्, “आब जल्दी यी नइ हटाओल गेल त पियवाला पाइन आब नई भेटत (अब चाँडै यो हटाइएन भने केही दिनपछि खानेपानी भेटिने छैन)।”

जव्वार मात्र होइन यहाँका धेरैले मधेशमा पानीको संकटका धेरै कारणमध्ये एक मसाला पनि रहेको बताउन थालेका छन्। आफ्ना बस्तीका जोकाहा, भुताहा, झिल, टोका, पलारसहितका कैयौँ जरुवा पानीका मूल देख्दादेख्दै सुकेका भङ्गाहा–४ कै ८० वर्षीय चौठी बाँतर बताउँछन्। “पानीका मूल सुक्ने अरू कारण पनि होलान्, यो पढेलेखेकाहरूले बताउलान् तर एउटा कारणचाहिँ यो मसालाको रूख नै हो”, उनले भने। 

मधेशमा केही दशक पहिले स्थानीयलाई आयआर्जनमा प्रोत्साहित गर्न वनसम्बद्ध निकाय र विभिन्न संघसंस्थाले ‘आइरआइरमें सपेता, गरिबी सब बेपत्ता’ (आलीआलीमा सपेता: गरिबी सबै बेपत्ता) भन्दै यो वनस्पति रोप्ने लहर नै चलेको थियो। शुरूमा विसं २०४० को दशकमा महोत्तरीसहितका चारकोसे झाडीभित्रको पूर्वपश्चिम राजमार्गदेखि दक्षिण भागमा सरकारी निकायले नै साल, कर्मासहितका रूख कटाएर मसाला रोपेपछि यो अमूल्य चिज नै हो भन्ने आममान्छेमा परेको थियो।

“सरकार आफैँले साखुका रूख ढालेर भिक्स रोप्न लाग्यो, हामीलाई लाग्यो, यो खास चिज हो, देखासिकीले हामीले पनि बिरुवा मगाएर रोप्यौँ, आज यही समस्याको कारण बन्यो”, बर्दिबास–१२ बिजलपुराका ७५ वर्षीय रामसुन्दर ठाकुरले भने, “चारैतिरका इनार, पोखरी र जरुवा पानीका मूल सुके। एक समयमा ‘आइरआइरमें सपेता, गरिबी सब बेपत्ता’ भन्ने नारा अब जहाँ सपेता, त्यहाँ पानी बेपता भनेजस्तै भएको छ।”

चाँडै हलक्क बढ्ने हुँदा काठको माग आपूर्तिमा सहज हुने र त्यतिखेर विद्युत् पोल (खाँबा)का लागि पनि उपयोगी हुने अभिप्रायसाथ विदेशबाट झिकाएर रोपण गरिएको थियो। रौतहट, सर्लाही र महोत्तरीसम्म फैलिएको सागरनाथ वन विकास परियोजनाको १३ हजार ५०० हेक्टर क्षेत्रफलमध्ये अधिकांश भागमा २०३५ सालदेखि सरकारले मसाला रोप्न थालेको थियो। त्यही सिको गरेर यस भेगका स्थानीयले घुर्‍यानदेखि खेतबारीसम्म मसाला लगाउन थालेका गौशाला–१० लक्ष्मीनियाँका ७० वर्षीय लक्ष्मीप्रसाद महतो बताउँछन्। कालान्तरमा मसाला वरदान नभएर जमिनमुनिको पानी सोसेर जग्गा मरुभूमि बनाउने अभिशाप बनेको उनको भनाइ छ।

यस भेगमा अहिले सर्वसाधारण मात्र नभएर स्थानीय तह, सामाजिक संघसंस्था र विज्ञहरूसमेत मसालाविरुद्ध जनमत बनाउन र यी रूख हटाएर अन्य बिरुवा रोपण गर्नुपर्ने अभियानमा जोडिएका छन्। धनुषाको धनुषाधाम र मिथिला नगरपालिकाको नगरसभाले त मसाला मास्ने र खाली हुने ठाउँको माटो विज्ञबाट परीक्षण गराइ उपयुक्त बिरुवा रोपण गर्ने औपचारिक निर्णय नै गरिसकेका छन् ।

“जताततै पानीका मुहान सुक्नुमा मसालाको रूख पनि कारण रहेको विज्ञहरूले बताए, त्यसैले पानीको थप संकट बढ्न नदिन मसालाका रूख उखेल्ने निर्णय गरिएको हो। अब माटो परीक्षण गरेर मात्र नयाँ बिरुवा रोपिनेछन्”, मिथिलाका उपप्रमुख सुनितासिंह बुढाथोकी भन्छन्। अब स्थानीयको मागअनुसार मसालाका रूख उखेल्न यान्त्रिक उपकरणको बन्दोबस्त गर्ने तयारी गरिएको बुढाथोकीले जानकारी दिए। 

मधेशका खोल्साखोल्सी, इनार, पोखरी, तालतलैया र चापाकल सुक्दै गएर पानीको हाहाकार बढेसँगै यहाँ मसालाका रूखबारे बढेको आमधारणासँग विज्ञ पनि सहमत छन्। चुरे तथा जलाधार विज्ञ डा. विजयकुमार सिंह दनुवार पानीका मुहान सुक्नुमा विश्वव्यापी जलवायु परिवर्तनलगायत यस्तै मानवसिर्जित समस्या रहेका बताउँछन्।

“मानव सिर्जित समस्यामा वन विनाश, चुरे क्षेत्रको अनियन्त्रित उत्खनन र जलाधारक्षेत्रको अतिक्रमण मुख्य कारण हुन् । मसाला रूख पनि पानीको स्रोतका मुहान सुक्ने कारण भएको बारे अहिले व्यापक अभिमत बढेको छ”, डा सिंहले भने। यसबारे थप अध्ययन गर्न आवश्यक रहेको डा सिंहको भनाइ छ। 

चुरे तथा जलाधार विज्ञ नागदेव यादवले पनि इक्युलिप्टिस पानीका स्रोत सुक्ने कारणमध्ये एक भएको बताए। एउटा वयस्क इक्युलिप्टिसको रूखले दैनिक ८७ लिटर पानी सोस्ने विज्ञबाट पुष्टि भएको उनले बताए।

“पानीका स्रोत सुक्नुका धेरै कारण छन्, यसमध्ये मसालाका रूख मुख्य कारण हुन्। यी रूख जतिसक्दो चाँडो हटाउँदा राम्रै हुन्छ,” उनी भन्छन्, “मसालाको रूखले जमिनमुनिको पानी निकै सोसेपछि पानीको सतह गहिरिँदै गएर संकट बढेकामा धेरै सत्यता छ। यसले उर्वराशक्ति घट्दै गएर उब्जाउ जग्गा पनि बन्जड बनेका छन्।”

अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले मसालाका रूखका पातमा एसिडको मात्रा हुने हुँदा माटोको उर्वराशक्ति ह्रास हुने र यसले जमिनमुनिको पानी धेरै सोस्ने निष्कर्ष निकालेको पनि डा यादवले जानकारी दिए। पारिस्थितिक तथा जैविक प्रणालीको दृष्टिले यो रूखले अरूको अस्तित्व स्वीकार नगरेको स्पष्ट देखिएको हुँदा मधेशबाट यो रूखलाई तत्काल विस्थापित गरिनुपर्ने आवाज बलियो बन्दै गएको उनले बताए। “मसालाका रूखमा न चराचुरुंगीका गुँड देखिन्छन्, न कीरा फट्यांग्रा लाग्छन्,” यादव भने, “त्यसैले यो सन्तुलित पर्यावरणको बाधक छ।”

सन् १९९३ मा संयुक्त राष्ट्रसंघ (यूएन) को फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनले गरेको अध्ययनमा ४०० मिलिलिटर (एमएल) देखि एक हजार २०० एमएलसम्म वार्षिक वर्षा नहुने ठाउँमा यो रूख लगाउन दिन नहुने सुझाव दिइएको यादवले उल्लेख गए।

मसालाको रूखले अक्सिजन प्रवाहमा पनि खासै योगदान नदिने विज्ञ बताउँछन्। अस्ट्रेलियाका जलवायु विज्ञ एलन रुटले पनि आफ्नो एक आलेखमा यो रूख पानीका स्रोतका लागि प्रतिकूल हुने उल्लेख गरेका छन्। अस्ट्रेलियाको सिमसार र भासिने हिलो भएको ठाउँलाई सुख्खा बनाउन यो रूख लगाइएको उक्त आलेखमा उल्लेख छ। इक्युलिप्टिस अस्ट्रेलियाकै तास्मिनिया टापुमा विकास भएको वनस्पति मानिन्छ।

अस्ट्रेलिया, ब्राजिल हुँदै संसारका ५० भन्दा बढी देशमा यो रूख लगाइएको विज्ञले बताएका छन्। अस्ट्रेलिया र ब्राजिल दुवै देशका सिमसार क्षेत्रमा यो रूख लगाइएपछि ती ठाउँ सुक्खा भएका जानकारहरू बताउँछन्। नेपाल सरकारका पूर्वसहसचिब रामबहादुर भुजेल विभिन्न अध्ययनले समेत लाभदायी नभएको निष्कर्ष निकालेका रूख मधेशमा ल्याउनु नै गलत भएको भन्दै अब यसको विकल्प खोज्न जरुरी रहेको बताउँछन्।

“मधेशमा पानीका स्रोत सुकेर निकै समस्या आइसकेको छ। त्यसैमा यहाँ उपयुक्त नहुने रूख रोपेर पानी संकटलाई थप योगदान गर्ने काम भएको छ। अब यसको साटो यहाँको माटो सुहाउँदा अन्य वनस्पति र फलफूल रोपणमा जोड दिन आवश्यक छ,” भुजेलले भने। 


सम्बन्धित सामग्री